भद्रपुर,कात्तिक २१ । पूर्वाञ्चलको झापा जिल्लालाई विशेष आर्थिक क्षेत्र (सेज)–को संरचना निर्माण गर्न प्रक्रिया अगाडी बढाएपनि त्यो घोषणामै सिमित बनेको पाइएको छ । एकैपटक घोषणा भएका पश्चिमाञ्चलको बुटवलमा भने सेज शुरु भइसक्दा पनि झापा सेज निर्माण नहुसक्दा यहाका व्यवासयी निराश समेत बनेका छन ।
तोपगाछीस्थित रतुवामाई बृक्षारोपण आयोजनाभित्रको खाली जमीन उपलब्ध हुने संभावना क्षीण भएपछि पूर्व क्षेत्रको आर्थिक विकासको मेरुदण्ड बन्नसक्ने सेज थप अन्योलमा परेको हो ।
झापामा सेज भित्र्याउन विशेष पहलकदमी गर्दै आएको झापा उद्योग वाणिज्य संघलाई उद्योग मन्त्रालयको विशेष आर्थिक क्षेत्र समितिले सिफारिश गरिएको आयोजना क्षेत्रको जग्गामा प्राविधिक समस्या रहेको उल्लेख गर्दै उपलब्ध हुन नसक्ने आशयको पत्र पठाएपछि झापाली उद्योगी–व्यवसायी निराश भएका हुन । सरकारले ०६८ मा निजी आर्थिक क्षेत्रको सुरक्षा र विकासका लागि पाँचैवटा विकास विकास क्षेत्रमा एक–एक विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सोक्रममा झापा उवा संघको अगुवाइमा झापाली उद्योगी–व्यवसायीले पूर्वाञ्चल क्षेत्रको सेज झापामा भित्र्याउन पहल गरेका थिए । त्यसमा सबै राजनीतिक दल तथा अन्य संघ–संस्थाको सक्रिय सहयोग थियो ।
‘संघले धेरै मेहनत गर्यो झापामा सेज भित्र्याउन, त्यसमा सफल पनि भइयो, अहिले जग्गाका कारण सेज नै गुम्ने हो कि भन्ने चिन्ता देखिएको छ’, झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमियाले भने– ‘समितिको पत्रले हामीलाई दुखी तुल्याएको छ तर विकल्प खोज्नुपर्ने भएको छ ।’ उनले यदि रतुवामाईको जग्गा प्राप्त हुन नसक्ने अवस्था भए अर्को विकल्प रहेको खुलासा गरे । उनले झापामा सेज भित्र्याउन फेरि एकपटक झापाको राजनीतिक नेतृत्व, उद्योगी–व्यवसायी सबै जुट्नुपर्ने आवश्यकता देखिएको बताए ।
असोज १० गते हुलाकमार्फत समितिले पठाएको पत्र संघले भरखरै मात्र प्राप्त गरेको महासचिव कालीचरण वस्नेतले बताए ।
यही सन्दर्भमा शुक्रबार विर्तामोडमा झापाका उद्योग वाणिज्य संघका नेतृत्व, राजनीतिक दलका प्रतिनिधि एवम् नागरिक अगुवाबीच छलफल भएको छ । छलफलले झापामा जसरी पनि सेज भित्र्याउने र पहिलो पहल सट्टाभर्ना गर्नसक्ने गरी प्रस्तावित जग्गा नै माग गर्ने, त्यो प्राप्त हुन नसक्ने भए पनि विकल्प दिइएको छलफलमा सहभागी मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमियाले बताए ।