गृहमन्त्री गौतमको ध्यानाकर्षण गराउने

२१ कार्तिक २०७१, शुक्रबार मा प्रकाशित

purwanchal

बिर्तामोड,कात्तिक २१ ।  नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको सुरक्षाका विषयमा गृहमन्त्री बामदेव गौतमको ध्यानाकर्षण गराउने तथा पत्रकारको पेशागत सुरक्षा,क्षमता अभिवृद्धिका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज शुक्रबार अहासंघका अध्यक्ष  भीम नेम्वाङको अध्यक्षतामा बसेको वैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको सचिव एकराज गिरीले जानकारी दिनुभयो ।
भोलि कात्तिक २२ गते शनिवार झापा भ्रमणका क्रममा गृहमन्त्री बामदेव गौतमलाई भेटी पत्रकारको सुरक्षाका विषयमा ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । कात्तिक २ गते राति पत्रकार महासंघकी सदस्य रेजिना रोदन गौतम र महासंघका कार्यालय सचिव खेमराज बराल तथा २०७१ कात्तिक ६ गते दिउँसो महासंघकी सदस्य अनुषा चुडालमाथि आक्रमण गर्ने समूहका सबै दोषीलाई तत्काल पक्राउ गरी कानून बमोजिम हदैसम्मको सजाय  गर्न र पत्रकारको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकार र स्थानीय प्रकाशनसँग माग गर्ने निर्णय गरिएको छ ।
साथै आक्रमणमा घाइते पत्रकार रेजिना रोदन गौतम र महासंघका कार्यालय सचिव खेमराज बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि जनही सात हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गर्ने महासंघले निर्णय गरेको सचिव गिरीले जानकारी दिनुभयो ।
त्यस्तै बिर्तामोड नगरपालिकासँगको सहकार्यमा  कात्तिक २८ गते शुक्रवार बिर्तामोडमा झापाका राजनीतिक दलका प्रमुख, सभासद्, पेशागत संघ–संगठनका प्रमुख तथा जिल्लास्थित सञ्चारकर्मीको सहभागितामा ‘संविधान निर्माणमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । उक्त अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा महासंघका केन्द्रीय अध्यक्षमा डा. महेन्द्र विष्ट आउनुहुने भएको छ ।
साथै बिर्तामोड नगरपालिकासँगकै सहकार्यमा २०७१ मंसीर ६ गते शनिबार बिर्तामोड र ७ गते आइतबार दमकमा समाचारको भाषा र सम्पादन विषयक कार्यशाला भाषाविद् शरद्चन्द्र वस्तीको सहजीकरणमा सञ्चालन गर्ने निर्णय भउको छ ।
त्यस्तै  झापाको पत्रकारिताको इतिहास र अवस्था तथा पत्रकार महासंघका सम्पूर्ण गतिविधि पारदर्शी र व्यवस्थित गर्दै आम समुदाय समक्ष प्रवाह गर्न नेपाल पत्रकार महासंघ झापाको वेवसाइट निर्माण गर्ने र सोको लागि आवश्यक पहल गर्न कार्यसमिति सदस्य सुरेन्द्र भण्डारीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले २०७१ कात्तिक १५ गते लम्जुङमा सम्पन्न गरेको बैठकका निर्णय र सञ्चालन गर्न लागिएको अभियान बारे बैठकमा जानकारी गराइयो । ‘नेपाल जनतासँग गरेका वाचा नतोडौं, २०७१ माघ ८ गतेभित्रै सविधान जारी गरौं’ भन्ने अभियान र केन्द्रीय कार्य समितिद्वारा घोषित कार्यक्रम निर्धारित मिति भित्रै झापा शाखाले पनि सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here