वैज्ञानिक खोज नै दुःखको कारण नहोस्

८ भाद्र २०७९, बुधबार मा प्रकाशित

विज्ञान र प्रविधिले मानिसको जीवनशैलीलाई सहज बनाइदिएको छ । यसकै कारण हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने वस्तु र सेवाको उपलब्धता बढेसँगै त्यसले दिने पीडा पनि बढ्दै गएको छ । एकातिर भौतिक सुखका आधुनिक आविष्कारका वस्तु र सेवा उपभोग गर्ने प्रतिष्पर्धा नै हुन थालेको छ भने अर्कातिर त्यसले पार्ने असर, प्रभाव र परिणामका बारेमा पनि उत्तिकै चासो र चिन्ता हुन थालेको छ । हाम्रा आवश्यकताका सम्पूर्ण वस्तु प्रकृति प्रदत्त हुन्, विज्ञानले तिनै प्राकृतिक वस्तुको उपयोग गर्दै अत्याधुनिक वस्तुको उत्पादन गरिरहेको छ । हाम्रा वैदिक दर्शन तथा धर्म ग्रन्थहरु मध्येका चार वेदले आजका सबै आविष्कारलाई प्रयोग गरिल्याएको उल्लेख छ । धर्म, संस्कृति र संस्कारका क्षेत्रका विद्वानहरुले यो विषयमा व्यापक चर्चा नै गर्ने गरेका पनि छन् ।

मानव जीवनलाई सहज बनाउने विज्ञानको पछिल्लो र महत्वपूर्ण आविष्कार कम्प्युटर हो जसले मानिसको कामलाई सरल बनाइदिएको छ । जनशक्तिको उपयोगलाई घटाएको छ र समयको समेत बचत गरेको छ । जीवनशैलीमा आमूल परिवर्तन ल्याउने वैज्ञानिक आविष्कारले हाम्रो शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात लगायतका सेवासुविधामा क्रान्तिकारी परिवर्तन गरेको छ । विश्वलाई एउटा विन्दुमा समेटेको छ भने महिनौं लाग्ने काम प्रविधि र उपकरणको प्रयोगले सरल, सहज र छोटो बनाइदिएको छ । हाम्रो परिवर्तित जीवनशैली कष्टरहीत बन्दै गएको सत्य जति सुखद् छ त्यत्ति नै चुनौतिपूर्ण पनि छ । अनेक आणविक हातहतियारहरु मानव सभ्यताका विनाशक भइरहेका छन् । उत्पादित वस्तु र सेवाको दुरुपयोग नै हाम्रा चुनौति हुन्् र स्वयम्का लागि घातक पनि ।

विज्ञानका उपलब्धीहरु मध्ये सञ्चार जगतमा भएको उपलब्धी मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । सञ्चार क्षेत्रभित्र आज सामाजिक सञ्जालको प्रयोग व्यापक बन्दै गएको छ । त्यही सेवाको प्रयोग गर्दागर्दै कतिले आर्थिक, भौतिक, सामाजिक तथा मानसिक क्षति व्यहोर्नु परिरहेको समाचार दिनहुँ सार्वजनिक भइरहेको छ । वैज्ञानिक उपलब्धीकै रुपमा लिइने सूचना प्रविधिको विभिन्न माध्यमहरुको नकारात्मक प्रयोगले अपराध बढाइरहेको सन्दर्भले हाम्रासामू चुनौति थपिएको हो । त्यसभित्रका अनेक सेवा र सुविधाको व्यापकताले हाम्रा बालबालिका गलत बाटोमा हिँड्न थालेका छन् भने किशोर, युवाहरु समेत अपराध, हिंसा र दुराचारको दलदलमा भासिँदै गएका छन् । सुख भोग्ने लालसाले, पैसाले सुख प्राप्त गर्ने भोकले अपराध मनोवृत्ति बढाइरहेको सन्दर्भबाट अबका समाजका अगुवाहरु, जिम्मेवार दल, नेता तथा सरकारका सबै तह र स्वयम् अभिभावक सचेत नबन्ने हो भने विज्ञानका यिनै उपलब्धी हाम्रा विनाशका कारण बन्ने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here