डेंगु संक्रमित बढ्दै, छैन सतर्कता

0
324

पार्थ मण्डल,
झापा।

झापामा डेंगु संक्रमण महामारीको रुपमा फैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागिमा स्थानीय निकायले अहिलेसम्म कुनै अभियान सञ्चालन गरेको छैन । जसले गर्दा डेंगु संक्रमणको त्रास ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मन्त्रालयले निर्णय गरे पनि अहिलेसम्म जिल्लामा सो अभियानले तीव्रता नपाउँदा स्थानीय जनता चिन्तितसँगै जनप्रतिनिधिप्रति आक्रोशित बनेका छन् ।

भद्रपुर– ५ निवासी राधिका बास्तोलाका ज्वाइँ विज्ञान सापकोटा पाँच दिनदेखि डेंगु सङ्क्रमणका कारण भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचाररत् छन् । पेशाले प्रहरी कर्मचारी सापकोटा वडा प्रहरी कार्यालय भद्रपुरमा कार्यरत छन् ।
गत शुक्रबार ड्युटीबाट कोठा फर्किएपछि सापकोटाको हात खुट्टा सुन्निे, टाउको दुख्ने र काम ज्वरो आएपछि तत्काल उपचारका लागि ओम साई हस्पिटल लगिएको थियो । उनले सोही हस्पिटलमा डेंगु परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि हस्पिटलमा भर्ना गर्नु परेको सासू बास्तोलाले बताइन् ।

नगरमा डेंगु भित्रिसक्दा पनि भद्रपुर नगरपालिका र सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदेखाएको उनले गुनासो गरिन् । ‘निजी अस्पतालमा डेंगुको औषधि उपचार खर्च मंहगो छ, अहिलेसम्म ज्वाइँको स्वास्थ्य सुधार आएको छैन, यसको जिम्मेवारी कसले लिन्छ’– उनले भनिन् । ‘स्थानीय सरकार छ कि छैन ?’– उनले प्रश्न गर्दै भनिन्– ‘छ भने किन अहिलेसम्म डेंगु नियन्त्रण हुन सकेको छैन ?’ ओम साईमा सापकोटासहित चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । चारै जनाको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी मनोज दाहालले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार जिल्लामा २६ जना डेंगु सङ्क्रमणका बिरामी रहेको छन् । सबैभन्दा बढी डेंगुका बिरामी बिर्तामोड र मेचीनगरमा रहेका छन् । बिर्तामोड नगर अस्पतालमा दुई जना र बीएण्डसी अस्पतालमा ८ जना गरी १० जना बिरामी रहेका छन् । अन्य दुई जना बिरामी पनि बिर्तामोडकै रहेको उनले बताए । उनका अनुसार कनकाईमा २, हल्दिबारीमा १, मेचीनगरमा ६, अर्जुनधारामा १, दमकमा ४ जना बिरामीमा डेंगु देखिएको छ ।

उनले दिएको तथ्याङ्कमा ओम साईमा उपचाररत् बिरामी छैनन् । ओम साईका चार जना जोड्दा डेंगुका बिरामी ३० पुग्छ । ‘स्वास्थ्य कार्यालयमा प्राप्त भएको रेकर्ड सञ्चार माध्यमलाई दिएको हो’– उनले भने– ‘योभन्दा बढी डेंगुका बिरामी पनि जिल्लामा हुन सक्छन्, निजी अस्पतालहरूले विवरण नपठाउँदा तथ्याङ्कमा एकरूपता आउन नसकेको हो ।’

भद्रपुरमा डेंगुका बिरामी भेटिए पनि भद्रपुर स्वास्थ्य शाखासँग पनि बिरामीको अपडेट छैन । मेची अस्पताल र नगर स्वास्थ्य चौकीहरूमा अहिलेसम्म डेंगु सङ्क्रमणका बिरामी पुष्टि नभएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । ‘निजी अस्पतालले विवरण पठाउँदैन, अनि कसरी हामीले अपडेट राख्नु ?’– उनले भने । डेंगु किट अभावका कारण पृथ्वीनगर र चन्द्रगढी स्वास्थ्य केन्द्रमा राखिएको ल्याबमा पनि डेंगु परीक्षण हुन नसकेको उनको भनाइ छ । डेंगु नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत शनिवारदेखि सबै वडामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न लागेको उनले बताए ।

जिल्लामा डेंगु किट अभाव थियो । प्रदेश १का सामाजिक विकास मन्त्रालयले तीन दिन अघि मात्र स्वास्थ्य कार्यालय झापालाई ५५० किट पठाएको छ । त्यसमध्ये २०० किट बिर्तामोड नगर अस्पताललाई पठाएको डेंगु फोकल पर्सन दासले जानकारी दिए । ‘स्वास्थ्यसँग अहिले ३५० किट मौजाद छ’– उनले भने– ‘बिहीबारदेखि जिल्लाका १५ वटै स्थानीय तहलाई १०÷१० वटा किट उपलब्ध गराइन्छ ।’ लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न मन्त्रालयले परिपत्र जारी गरे पनि जिल्लामा सो अभियान शुरु हुन नसकेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here