पुँजीवादको दास जीवनलाई साम्यवादको आस

0
292

मानिसको सर्वश्रेष्ठता मापन केही आविस्कार, खोज अनुसन्धान र उसले बाँचेको जीवनबाट मात्र गर्न सकिन्न । मानिस आफूलाई चेतनशील ठान्छ र यही ढोङ्मा आफ्नो इतिहास पर्गेल्छ । आफूले आफैलाई सर्वश्रेष्ठ भएको डंका पिट्छ । तर, म ठान्छु कि मानिसले गरेको कल्याणकारी, प्रकृतिमैत्री, पृथ्वी संरक्षक, समग्रमा साम्यवादी व्यवहारमा ऊ कसरी प्रस्तुत हुन्छ यसले मानिस सर्वश्रेष्ठ हो कि नीच निधो हुन्छ । उसो भए हामी के हौं ? जवाफ खोजौं र समाधान निकालौं ।

प्राणीहरू एक–अर्काको शिकार गरिरहेकै छन् । तर, हामी मानिसले हाम्रो पूर्वज पेरोलापिथेकस हुँदै मानव जीवनमा पर्दापर्ण गरेको चालीस लाख वर्षयता आफू–आफू लडाइँ गरेर कति नरसंहार ग¥यौँ ? कति प्राणीहरूको हत्या ग¥यौँ ? हामीसँगै दौड लगाएर यहाँसम्म आइपुगेका असंख्य प्राणी हामीले पैदा गरेको प्राकृतिक प्रतिकुलताको कारण लोप हुँदै गइरहेका छन् । यो पृथ्वीमा १४ करोड वर्षसम्म राज गरेर बसेको डाइनासोरको अन्त्य भयो । कारण अर्कै बन्ला तर हामी मान्छेले गरेको प्राकृतिक विद्रुपीकरणले विनाश अवश्यम्भावी छ । हामी विनाशक भएका छौँ ।

धर्मको पाखण्डले विज्ञानलाई कालो बर्को ओडाएको छ । मानिस बाहेक प्रकृति उपभोग गरिरहेका कैयौं जीवलाई धर्मले तुच्छ, नीचको रूपमा मानिसको दिमागमा भरिदिएको छ । अर्को जुनी वा जन्म (पुनर्जन्म) विभिन्न जनावार समूहमा जन्म लिने जस्ता बकवास हाम्रा मगजमा भरिएका छन् । मानिस आफू र आफ्नो समुदायभन्दा अरुमा जीवन देख्दैन । मान्छेलाई धर्मले पुँजीवादी लुटेराहरूको गुलाम बनाइदिएको छ । धर्म नामको आध्यात्मिक चेतना उन्नत मानवीय सभ्यताको महादुश्मन हो । जसका उपासकहरू पृथ्वीका विनाशक हुन् । मान्छे हुनुको अहंकारसँगै धनी र शक्तिशाली बन्नुको अर्को गौरव र घमण्ड पुँजीवादी राजनीतिले पैदा गरेको छ । त्यो राजनीतिले पैदा गरेको वर्ग र त्यहाँभित्रका पनि खास विशिष्ट भनिएकाहरू गरीब र सिमान्तकृतहरूलाई मान्छे मान्न चाहिरहेका छैनन् । यो यथार्थ सत्य हो । आफ्नो राज्यको भ्रमणपछि रानी एलिजावेथले भनेकी थिइन्– ‘जतासुकै कंगालहरू थिए, घुमन्ते दरिद्रहरू थिए ।’ आफूलाई सत्ता मान्ने सामन्तवादी, पुँजीवादीहरू गरिब वर्गलाई मान्छे मान्न तयार छैनन् भन्ने यो एउटा सानो दृष्टान्त हो ।

हामी यस्तो समय र समाजमा बाँचिरहेका छौँ , जहाँ साँचो कुरा बुझेपछि मानिस हुनुमा लज्जा हुन्छ । हामी मानिस भएकोमा आफूले आफैँलाई थुक्न पुग्छौँ । मानव इतिहासका कैयौं नकारात्मकताका भागिदार हामी पनि हौं । त्यसैले पृथ्वी , प्रकृति र सम्पूर्ण जीव दुनियाँलाई पिरोल्नुमा हामी पनि जिम्मेवार छौँ । हामीले यताबाट पनि हेर्नु पर्दछ । हाम्रो जीवनबाट दुनियाँलाई बचाउने दायित्व ग्रहण गर्नुपर्दछ ।

हामीले नबुझेको हो कि, बुझेर पनि बुझ पचाएका छौं ? प्रश्न आफैलाई गरौं । किनकि सिंगो प्रकृतिमा हामी सबै एकअर्कामा अन्तर्निर्भर छौं, अन्तर्घुलित छौं । रुख बिना हामी र हामीविना रुखहरू पनि बाँच्न मुस्किल पर्दछ । रुख सिंगो पृथ्वीमा अधिक महत्वपूर्ण छ जीवनका लागि । हामी यतिबिघ्न रुख काटिरहेका छौं, हाम्रा साधारण आवश्यकता र कुत्सित स्वार्थहरूको निम्ति सिंगो पर्यावरणलाई ध्वस्त पारिरहेका छौं । आफ्नो मानिस भएको घमण्डलाई एकछिन विश्राम दिएर हाम्रो भोलि अर्थात् भावी पुस्ताको बाँकी जीवनप्रति यति ठूलो गद्दारी नगरौं ।

यतिबेला कार्बन उत्सर्जनको कारण तापक्रम वृद्धि भइरहेको छ । छिट्टै नै यही तापक्रमको कारण हिमपहाडहरू पग्लनेछन्, समुन्द्रको सतहमाथि आउने छ, जसकारण समुन्द्र तटीय क्षेत्रमा रहेका न्युयोर्क, लण्डन, मुम्बई, कलकत्ता, सानफ्रान्सिस्को, आमस्टडर्म लगायतका विश्वका कयौं सहरहरू समुन्द्रमा डुब्नेछन्, इतिहास बन्ने छन् ।

रुखहरूको विनाशको कारण पर्यावरणमा आएको ठूलो संकटले मानवजातिमा खानेपानीको हाहाकार हुने स्थिति छ । यतिबेला हामीसँग रहेको करिब सात अर्ब जनसंख्यालाई पर्याप्त हुने खानेपानीको आपूर्ति गर्न असमर्थ भइरहेका छौं । विश्वको झण्डै आधा जनसंख्यालाई पिउने पानीको आपूर्ति गर्न सकिरहेको हिमालय हामीले गरेको तीव्र प्राकृतिक दोहनको कारण सन्तुलन गुमाउँदै गइरहेको छ । भविष्यमा यो एउटा भयानक समस्या बनेर हाम्रो अगाडि उपस्थित हुनेछ । पिउने पानीको अभावमा दुनियाँ छट्पटाउँदै मर्नुपर्ने हुनसक्छ ।

हाम्रो यो प्रकृतिविरुद्धको तीव्र हमलाले कृषि तथा जीव जन्तुको लागि चरन र बसोबासको क्षेत्र मरुभूमिमा परिणत भइरहेको छ । कैयौं वनस्पतिहरू लोप भइरहेका छन् । कैयौं प्रजातिका प्राणीहरू लोप भइरहेका छन् । हामी आफ्नो अहमता र मान्छे हुनुको घमण्ड साँधेर आफ्नो कृतिम वैभवताको लागि ठूलो भयानक अपराध गरिरहेका छौं । प्रकृतिको मरुभूमिकरण, नाफाको लोभमा तीव्र उत्पादनको लहड, पुँजीवादी लुटको निकृष्ट चरित्रको कारण प्रकृतिको दुश्मनको रूपमा पुँजीवादले हामी सबैलाई उभ्याउँदैछ । सर्वश्रेष्ठताको पाइजामा लगाइदिएर पुँजीवाद हामी सबैलाई आफ्ना कर्तुतहरूको भागिदार बनाइरहेको छ । हामी के हौं ? हामी के भइरहेका छौं ? जवाफ हाम्रो अगाडि छ ।

हामी आफूलाई सर्वश्रेष्ठ भएको कथित दाबी गर्छौं । तर, हामी मानव जाति अत्यन्तै तुच्छ, निकृष्ट, हत्यारो, भएका छौं । त्यसैले हामी मानवबाट अमानव बन्दै गइरहेका छौं । जसरी प्रकृतिको यति विघ्न दोहन, यति हानी भइरहेको छ के यो कुनै अमूक जनावरले ग¥यो ? आजसम्म मानव बाहेक यो पृथ्वीलाई यति ठूलो चोट कसैले पु¥याएको छैन । जसको कारण उत्पन्न भयानक पर्यावरणीय संकटको मार सिंगो प्राणी जगतले भोग्न बाध्य छ । कोभिड–१९ जस्तो महामारी अझै सकिएको छैन । कैयौं यस्ता महामारी भोग्दै आइरहेका छौं । कयौं संकटहरू उत्पन्न भएका छन् । के हामी अझै घमण्ड गर्छौैं ? हामी आफूलाई सर्वश्रेष्ठ ठानेर अझै अन्धो बन्छौं ?

हामी मानव जाति यस्ता छौं कि २०औं खर्ब डलर युद्ध प्रविधि, अमानवीय युद्ध र जनदमनमा खर्च गरिरहेका छौं । हामीलाई हाम्रो कृतिम वैभवको चिन्ता छ । तर, वर्षमा दुई करोडभन्दा बढी मानिस कुपोषित र खान नपाएर मरिरहेका छन् । प्रतिमिनेट करिब सयौं जना बालबालिका खान नपाएर मरिरहेका छन् । अर्कोतर्फ हामी अभिमानी कथित सर्वश्रेष्ठ प्राणी मानिस प्रतिमिनेट अर्बौं रकम सार्वजानिक कोशबाट सैनिक खर्चमा लगाइरहेका छौं ।

हामीलाई जीवनको कुनै पर्वाह छैन । हामी पछिल्ला १०० वर्षहरूमा यहाँसम्म आइपुग्यौं कि हामीले हिजोको लाखौं वर्षको इतिहास पनि बिर्सिसकेका छौं र भोलिप्रति पूर्णरूपमा अन्धो बनेका छौं । किनकि आजसम्मको मानव इतिहास र प्रकृति यति कुरुप कहिलै भएको थिएन । तर, हामी आफूलाई आजसम्मकै सुन्दर भनेर दाबी गरिरहेका छौं । हामीले एकपटक आफूलाई निर्मम समीक्षाको भट्टीमा झोस्नु पर्छ । पक्कै पनि यी वास्तविक तथ्यहरूले हामीलाई झस्काउँछ । चिन्तनमनन् गर्ने अवस्थामा धकेल्छ तथापि हामी दिशाविहीन बन्न पुग्छौं । हाम्रो मथिंगलमा यो संकटको समाधान सुल्झदैन । हरेस नखाऔं, नडराऔं– अवश्य यसको समाधान पनि हामीसँगै छ र यो समाधान वैज्ञानिक समाजवाद साम्यवाद हो । यो दायित्व पक्कै पनि अन्य प्राणीको होइन । किनकि उनीहरू यो संकटका दोषी होइनन् ।

मान्छेलाई सर्वश्रेष्ठताको प्रमाणपत्र दिनेहरू अरु कोही होइनन् तिनीहरू सुनका दरबारमा बस्नेहरू हुन् । महँङ्गा हिराजडित पलङ्गमा सुत्नेहरू हुन् । व्यक्तिगत रुपमै सुपरजेट लिएर हिन्नेहरू हुन् । कृतिम वैभताको उच्चतम सिंहासनमा बसेका आदेशकर्ता नाफाखोर, बजार नियन्त्रक लुटपाट गर्नेहरू हुन् । अहो ! हामी त्यही प्रमाणपत्र पाएर गदगद छौं, पुलकित छौं र भनिरहेका छौं हामी सर्वश्रेस्ठ प्राणी हौं । अझै झुक्किरहनु भएको छ भने कृपया अब नझुक्किनु होला । सिंहासनबाट तल ओर्लनु होला र आम मानवहरूको भिडमा उभिएर आफूलाई मानवमात्र अथवा प्राणी मात्र ठान्नु होला । सर्वप्रथम हामी कथित सर्वश्रेष्ठताको प्रमाण पत्र जलाऔं । सर्वश्रेष्ठताको मुकुट निकालौं । सर्वश्रेष्ठ भएको अहंकारलाई तोडौं । सबैभन्दा पहिलो परिवर्तन हाम्रो त्यहीँबाट शुरु हुनेछ ।

कसरी हामीले हाम्रा कमजोरी सच्याउन सक्छौं ? हाम्रो जीवन र हाम्रो सुदूर भविष्यलाई कसरी ठिक बनाउन सकिन्छ ? सबैको मनमा उब्जने सवाल यही हो । अवश्य हामी एक दुई जनाको, एक दुई राष्ट्रको वातावरणमैत्री र प्रयत्नमा मात्र यत्रो विश्वलाई जोगाउन सम्भव छैन । तर, अवश्य शुरुवात भने गर्न सक्छौं । वैज्ञानिक समाजवाद–साम्यवादको स्थापनाको महान उद्देश्य राखेको क्रान्तिकारी पहल यसको शुरुवात हो । किनकि अबको मानव दुनियाँ पुँजीवादी बर्बरताबिरुद्धमा यही माक्र्सवादी सच्चाइमा ध्रुवीकृत हुँदैछ र समाधान माक्र्सवादमै छ ।

पृथ्वीलाई जोगाउने हामी विश्वभरिका सम्पूर्ण मानवजातिहरूको त्यो प्रारम्भ विन्दु वैज्ञानिक समाजवाद हो । विश्वमा औद्योगिक क्रान्ति र त्यसयताका निरन्तरका तीव्र औद्योगिकरण र उत्पादन करिब दुई सय वर्षहरूमा अझ खास गरेर बितेका ९०÷१०० वर्षयता पृथ्वीले आफ्नो इतिहासमा कहिलै भोग्नु नपरेको विपत्ति भोगिरहेको छ । यसबाट उत्पन्न दुष्परिणामहरूको चपेटामा मानिससहित सम्पूर्ण प्राणीहरू परिरहेका छन् । हामीले हाम्रो सर्वश्रेष्ठताको प्रमाणपत्रको वरिपरि विषाक्त बनेको प्राणी जीवनको चर्चा ग¥यौं, त्यो राजनीतिक हिसाबले पुँजीवादको कारण उत्पन्न भएको छ । पुँजीवाद नै यस्तो व्यवस्था हो जो सर्वश्रेष्ठता र आफ्नो कथित महानताको लागि दुनियाँलाई नष्ट गर्न समेत पछि पर्दैन । त्यसकारण सिंगो पृथ्वीको निम्ति पुँजीवाद भयानक दुश्मन बन्न पुगेको छ । यसका कैयौं विकृतिहरू छन् । जसको जति नै चर्चा गरे पनि कम हुन्छ । हामीले यति स्पष्ट बुझौं पुँजीवादी विश्व व्यवस्थालाई भत्काएर हामी वैज्ञानिक समाजवादमा प्रवेश गरौं वैज्ञानिक समाजवादले सर्वप्रथम ‘म’लाई ‘हामी’ बनाउने छ ।

यो हाम्रो अबको सर्वप्रथम कार्यभार हो । के यतिले हामीले माथि चर्चा गरेको भयानक संकटको समाधान गर्न सक्छ ? सवाल अवश्य उठ्यो होला । यतिले मात्र त्यो पर्याप्त हुँदैन, जवाफ यही हो । तर, यति मात्र हाम्रो बाँकी सबै कार्यभार भने अवश्य होइन । हाम्रो कार्यभार साम्यवाद हो । वैज्ञानिक समाजवादमा सर्वप्रथम हामी हाम्रो सर्वश्रेष्ठताको अहम्तालाई तोड्न सक्षम हुनेछौं । सबैभन्दा शक्तिशाली भन्ने विषय अवश्य हराउने छ ।

हामी, हाम्रो, साझा, सामुहिक, कम्युन संस्कृतिको विकास गर्नेछौं । त्यतिबेला राष्ट्रहरूको आवश्यकता रहने छैन । पर्यावरणीय, आर्थिक, सामाजिक परिस्थिति र वातावरणले हामीलाई पृथ्वी बचाउने साझा योजनामा प्रवृष्ट गर्न प्रेरित गर्नेछ । हामीले त्यतिबेला त्यो वस्तुगत वातावरणको उचित विश्लेषण गर्दै विश्वलाई एक हुन अपिल गर्नेछौं । त्यो साम्यवाद हो । साम्यवादले मात्र सारा विश्वलाई एक गर्न सक्छ । पृथ्वी बचाउने योजना कार्यान्वयन गर्न सक्छ ।

हो ! विश्वका ९९ प्रतिशत जनता पुग्नलाई लालायित बनेको साम्यवादमा हामीले पृथ्वीमा पुन कैयौं बिरुवा रोप्नेछौं । युद्धको आवश्यकता नभएपछि अवश्य युद्ध क्षेत्रमा भएका लगानीहरूको आवश्यकता पर्ने छैन । मानवीय अहित र प्राणीविरुद्ध प्रयोग गर्न बनाइएका हतियार नस्ट गर्नेछौं । सामन्तवाद र निजी पुँजीवादले रचना गरेका मानव बस्न अयोग्य रहेका प्राकृतिक हिसाबले कष्टपूर्ण स्थानमा राष्ट्रहरूमा बसोबास गरिरहेकाहरूलाई सुन्दर स्थानहरूमा स्थानान्तरण गर्नेछौं ।

यति सुन्दर सभ्यता कसरी सम्भव होला त ? कुराले मात्र हुन्छ ! मित्रहरूले यस्ता पागल तर्क, उडन्ते कल्पना भन्दै मनमनै सतही टिप्पणी गरिसक्नु भयो होला । तर, मित्रहरू के हामीसँग यस्तो सभ्यता निर्माण गरेर यो पृथ्वीको रक्षा गर्नुको विकल्प छ त ? हाम्रो सुदूर भविष्यलाई सुरक्षण प्रदान गर्ने हामी कुनै नवीन आविष्कार गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ ? कि उनीहरूले आफैं त्यस्तो आविष्कार गर्लान् ? प्रश्न मेरा मित्रहरूलाई राख्दै यसको पनि जवाफ दिने कष्ट म आफैं उठाउँछु ।

प्रथम सवालको संक्षिप्त जवाफ– पृथ्वीको रक्षा गर्नुको विकल्प हामीसँग छैन । दोस्रो जवाफ– वर्तमानमा सर्वश्रेष्ठताको जामा लगाएको पुँजीवादले विश्वका महान वैज्ञानिकहरूलाई दास बनाएको छ । वैज्ञानिकहरूले अनुसन्धान गरेका, उत्पादन र आविष्कार गरेका जुनकुनै वस्तु मानवीय हितका लागि एकदमै कम मात्रमा प्रयोग भएका छन् । अथवा तिनलाई नियन्त्रणमा लिएर पुँजीवाद तिनै आविष्कार र उत्पादनको माध्यमबाट आफ्नो राजनीति सञ्चालन गरिरहेको छ, व्यापार गरिरहेको छ । त्यसैको आडमा हामीलाई सर्वश्रेष्ठ प्राणीको उपहारसमेत दिइरहेको छ । पहिलो कुरा विज्ञानलाई पुँजीपतिहरूको जेलबाट बाहिर निकाल्नु पर्दछ र त्यसलाई पृथ्वी र प्राणी हितमा लगाउनु पर्दछ ।

त्यसकारण मित्रहरू, सर्वप्रथम विश्व पुँजीवादको अमानवियता, प्रकृतिविरुद्धता, प्राणी जगतकै चुनौतिको रुपमा रहेको भयानक स्वरुपलाई एउटा खराब इतिहास बनाउन वैज्ञानिक समाजवादमा प्रवेश गर्नैपर्छ । त्यहाँबाट हामी विश्व साम्यवादमा पुग्नैपर्छ । यसको अलवा अब हामीसँग बाँच्न सक्ने त्यस्तो कुनै उपाय छैन । यसलाई कुनै कल्पनाहरूको लेपन लगाएर, कुनै साधुसन्तले प्रवचन भनेर, कोही योगी सन्यासीको साधरण कम्युनले, अथवा हाम्रो याचनाले, चाहानाले, कसैको आशीर्वादले, मन्दिरको आराधनाले यो हाम्रो भयंकर वर्तमान र महाविस्फोटको नजिक रहेको हाम्रो भविश्यलाई सच्याउन सक्ने छैन । त्यसको निम्ति राजनितिक रुपले नेतृत्वमा रहेको विश्व पुँजीवादीविरुद्ध हामीले संघर्ष गर्नैपर्छ । जसरी हामीले सामन्तवादविरुद्ध संघर्ष ग¥यौं त्यसैगरी वर्तमान दलाल पुँजीवादबिरुद्ध भौतिक संघर्ष गरेर मात्र त्यसको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ । ‘म’लाई ‘हामी’ बनाउन सकिन्छ । यसको निम्ति विश्वभरि नै प्रशस्तै सचेत पहलहरू भइरहेका छन् । पुँजीवाद सबैभन्दा बढी समाजवाद साम्यवादसँग काँपिरहेको छ ।

हामी सत्यमा प्रवेश गरौं । वस्तुगत र यथार्थ कुराहरूको आत्मासात गरौं । हामीले आफूबाट शुरु गरौं । आफूलाई बुझौं, आफ्नो इतिहासलाई बुझौं ४० लाख वर्ष पहिलेका हाम्रा पुर्खा पिरोलापिथेकस–मानवको पहिलो पाइला राख्ने अर्डीपिथेकस रेमिडस– २३ लाख वर्ष पहिले दिमाग विकसित भएपछिका होमो ह्याबिलिस– समूहमा शिकार गर्ने होमो ईरेक्टस– एक लाख वर्ष अगाडिका हामोसेपियन्स– ३० हजार वर्ष अगाडिदेखिको हाम्रो मानवीय सभ्यताको खोजी हुँदै अहिले आफू भएर उभिँदासम्मको अवस्थालाई हेरौं । खाली हजुरबुवा जीवासम्म मात्र होइन ४० लाख वर्ष यताको हाम्रो जीवनको विकास क्रम खोजौं । भविष्यलाई उचित दिशा प्रदान गरौं त्यो साम्यवाद हो । हामी साम्यवादी हुन सक्दा मात्र हामी सर्वश्रेष्ठ मानव बन्न सक्छौं । अन्यथा हामीले कथित सर्वश्रेष्ठताको जामा लगाएर नाक घोक्र्याउनुको कुनै अर्थ छैन ।

(सिंह नेकपा केन्द्रीय सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here