असोज ९ देखि दोस्रो नव युवा गोल्डकप हुने

२ आश्विन २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ र ७स्थित नव युवा क्लब र अर्जुनधारा स्र्पोटीङ क्लबको संयुक्त आयोजनामा यहि असोज ९ गतेदेखि दोस्रो नव युवा गोल्डकप–२०७९ हुने भएको छ । खेलकुद क्षेत्रको प्रबद्र्धन तथा विजया दशमीको अवसरमा उक्त गोल्डकपको आयोजना गरिएको आयोजकद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

स्थानीय अर्जुनधारा खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता हुने खेल संयोजक सुरेश अधिकारीले जानकारी दिए । सहभागि टिमहरुमा रथखोला फुटबल क्लब(दार्जिलिङ), अमरदह स्पोर्टीङ क्लब, काँकडभिट्टा फुटबल क्लब, सैनिक फुटबल क्लब, दमक फुटबल क्लब, बिर्तामोड फुटबल क्लब र ब्रदर्श युनाइटेड फुटबल क्लब रहेका छन् ।

आगामी असोज १६ गते फाइनल रहेको प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमश नगद पुरस्कार एक लाख एक हजार एक रुपैयाँ र ५१ हजार एक रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँ र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने छ ।

अनुमानित खर्च आठ लाख ६२ हजार पाँच सय दुई रुपैयाँ लाग्ने उक्त प्रतियोगिता सम्पन्न गर्न संयोजक अधिकारीको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको छ । खर्चको स्रोत प्रायोजक, सहप्रायोजक, दाता र सहयोगी संघसंस्थाबाट जुटाइने बताइएको छ ।

क्लबका अध्यक्ष मैनालीको अध्यक्षता र क्लबका सल्लाहकार एवम् सामाजिक व्यक्तित्व केदारनाथ पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्का सल्लाहकार तुलसी श्रेष्ठ, फुटबल प्रशिक्षक टिका पोखरेल, रेफ्री संघका केन्द्रीय सदस्य प्रदीपकुमार बस्नेतलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर भूजेल “दिनेश”ले गरेका थिए ।

प्रतियोगिताबाट बचत भएको रकम फुटबल खेलाडी उत्पादन गर्न आवश्यक क्षेत्रहरुमा लगानी गरिने अध्यक्ष मैनालीले बताए । उनी भन्छन्–“त्यसको लागि गोल्डकपको निरन्तर सञ्चालनका लागि कार्यविधि पनि तयार गर्नेछौं ।”

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here