सन्थाल समुदाय जातीय पहिचानको खोजीमा

४ आश्विन २०७९, मंगलवार मा प्रकाशित

झापा र मोरङ विविध जातजाति भाषा संस्कृतिको धनी जिल्ला हुन् । बहु जातीय विशेषता बोकेका यी जिल्लाको सुन्दर फूलबारीको एक सुन्दर फूल झैं रहेको सन्थाल जाति क्रमशः संकटमा पर्दै गएको छ । सन्थाल समुदाय नेपालको अल्पसंख्यक आदिवासी जातिको रूपमा रहेको छ । पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरूले आफ्नो समुदायको पहिचानको खोजीका लागि पहल शुरु गरेका छन् । भारतको बिहार राज्यको चाहोटा नागपुर र साथाल फ्रना ठाउँ तथा भारतको दुम्का तथा झारखण्डबाट आएका मानिने सन्थालहरू नेपालमा विशेषगरी खेती पशुपालन, ज्याला–मजदुरी, माछा मार्ने र स्थानीय बजार हाटमा लगेर बेचेर जीविका चलाइरहेका छन् । समय र आधुनिकीकरणको प्रभावले सन्थाल समुदायका केही व्यक्तिहरूमा पनि चेतनाको विकास भई रोजगारी र व्यावसायिक पेसा अँगालेर जीवन गुजारिरहेको पनि पाइएको छ । अन्य अल्पसंख्यक जाति जस्तै सन्थाल जाति माथि अन्याय भएको, ठगिएको, धोखाधडी भएको र राज्यको तर्फबाट उपेक्षा गरिएको उनीहरूले महशुुस गरेका छन् ।


उपल्ला जातिले उनीहरूको अज्ञानता र पछौटेपनको फाइदा उठाएको, उनीहरूलाई राजनीतिक क्षेत्र तथा राष्ट्रनिर्माणमा सहभागिता नदिइएको, राजनीतिक दलले पनि उनीहरुको सहभागितामा वृद्धि गर्ने कार्यक्रम नल्याएको, असमानता र बहिष्करण रोक्न राज्यको तर्फबाट ठोस कार्ययोजना नआएको, सकारात्मक विभेदको नीति अनुरूप उनीहरूलाई समतामूलक व्यवहार नगरिएको भनी उनीहरू राज्यसँग गुनासो गरिरहेका छन् । राज्यले सन्थालको जातीय अस्तित्व र पहिचानलाई स्वीकार नगरेको र राज्यद्वारा अवलम्बन गरिएको एकल भाषा नीति र राज्यले सबै जातजातिलाई समान हैसियत नदिएका कारण उनीहरू विस्थापित हुँदै गएका छन् र झापा र मोरङमा उनीहरूको जनसंख्या घट्दै गइरहेको छ । झापाको सुरुङ्गामा एक गोलमेच सम्मेलन मार्फत उनीहरू जातिको साझा नाम ‘सन्थाल’ राख्ने सहमतिमा पुगेका छन् । यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने भन्नेमा लामो समयदेखि विवाद थियो । उनीहरूले अब ‘सतार’ शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । सतार शब्दले आफ्नो समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पु¥याएको भन्दै उनीहरूले सम्पूर्ण सरकारी दस्तावेजबाट त्यसलाई तत्काल हटाउन तीनै तहका सरकारसँग माग गरेका छन् ।

नेपाल र भारतको संविधानमा समेत ‘सन्थाल’ उल्लेख भएको मनन गर्दै आफ्नो समुदायको पहिचानको सम्मानित र साझा नाम सन्थाल लेख्न लेखाउन गरेको निर्णय स्वागतयोग्य छ । यो निर्णय र प्रतिबद्धतालाई निर्विवाद रूपमा व्यवहारमा लैजाँदै जातीय एकता, सहिष्णुता र पहिचानको संघर्षलाई अघि बढाउन जरुरी छ । झापा र मोरङमा लगभग ५१ हजार जनसंख्या रहेको लोपोन्मुख तथा आदिवासी सन्थाल जातिको संवैधानिक र राजनीतिक अधिकारप्रति सम्मान गर्दै अर्थपूर्ण तथा सार्थक सहभागिता सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरूले गम्भीर भएर सोच्न जरुरी छ । सन्थाल समुदायको पहिचान, प्रतिष्ठा र अधिकारको लडाइँ जातीय अस्तित्वको लडाइँ पनि हो । उनीहरूले आफ्नो समुदायबीचको एकता, सद्भाव र अधिकार प्राप्तिको सवाललाई प्राथमिकतामा राख्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here