एनप्याब्सनद्वारा तीन शिक्षक सम्मानित

४ आश्विन २०७९, मंगलवार मा प्रकाशित

शिवसताक्षी ।

शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले निजी विद्यालयका विद्यार्थीलाई पनि सामुदायिक विद्यालयका विद्यार्थी सरह नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने बताएका छन् ।

संस्थागत विद्यालयमा पनि विपन्न, सीमान्तकृत, मधेसी, मुस्लिम, दलित तथा लक्षित समुदायका विद्यार्थी अध्ययन गर्ने भएकाले उनीहरु पनि छात्रवृत्तिको लाभग्राही भएको नगर प्रमुख थोप्राले बताए । विद्यालय हेर्ने नियमनकारी निकायबाट सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदको नीति शिवसताक्षी नगरबाट किनारा लाग्ने उनले बताएका छन् ।

‘शिवसताक्षी नगरमा अब सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकमा मौजुदा विभेद अन्त्य हुनेछ’– नगर प्रमुख थोप्राले भने । मेयर थोप्राको विचार सुनेर कतिपय सहभागी शिक्षकले शिवसताक्षी नगरका प्रमुख झापामा शिक्षामैत्री नगर प्रमुख भएको टिप्पणी गरेका थिए । एक सहभागीले भने– ‘मेयर थोप्राको दमदार भाषणले निजी विद्यालयका शिक्षक उत्साहित छन् ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले झापाको शिवसताक्षी नगरमा आयोजना गरेको सम्मान तथा दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले सामुदायिक विद्यालयका शिक्षकले शैक्षिक तालिम पाउँदा संस्थागत विद्यालयका शिक्षकले पनि अब शिवसताक्षी नगरमा तालिम पाउने बताए । नगर प्रमुख थोप्रा यसअघि पनि संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीको मेहनतका कारण सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारिन थालेको अभिव्यक्ति दिएर चर्चामा आएका थिए ।

संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिवसताक्षी नगरपालिकाका प्रमुखको घोषणा झापामा पहिलो हो । यसले संस्थागत विद्यालयका लगानीकर्ता, शिक्षक, विद्यार्थी र अभिभावक उत्साहित हुने भएका छन् । कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)का केन्द्रीय उपाध्यक्ष जयवहादुर श्रेष्ठ, केन्द्रीय सदस्य सञ्जीव राई र एनप्यावसन झापाका पूर्व सचिव अग्नि कोइरालाई सम्मान गरिएको थियो ।

एनप्याव्सनको नेपालगञ्जमा सम्पन्न ७औ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित श्रेष्ठ, केन्द्रीय सदस्य पदमा निर्वाचित राई र कमल गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्ष पदमा निर्वाचित कोइरालालाई नगर प्रमुख थोप्राले दोसल्ला, सम्मान–पत्र र अविर लगाएर सम्मान गरेका थिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का झापा अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित तीनै जनाले मन्तव्य राखेका थिए । एनप्यावसन झापाका उपाध्यक्ष प्रेम शेर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ओम विक्रम नेम्वाङले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here