छविराज ढकाल,पथरीशनिश्चरे ।

पथरीशनिश्चरे नगरस्थित रहेको नगरअस्पताल जोड्ने हस्पिटल मार्ग धमाधम निर्माण भइरहेको छ।
पथरीशनिश्चरे–२ स्थित शान्ति चोकदेखि नगर अस्पताल जोड्ने ग्राभेल सडकलाई कालोपत्रे गर्ने उद्देश्यले उक्त मार्गको दुवै किनारमा पक्की नारी सहितको सडक निर्माण भइरहेको हो।
खाल्डाखुल्डी र कमजोर ग्राभेल सडकका कारण विमारी ओसार्न समस्या झेलिरहनु परेपछि अस्पताल आवात जावत सहज तुल्याउन सो सडकको निर्माण कार्य जारी रहेको छ।
उक्त हस्पिटल मार्ग कालोपत्रे आयोजनाको निर्माणको लागि यसै वर्ष ०७९ को शुरूवातसँगै इलाम-७ को देवि डांडा निर्माण सेवा प्रालिले ठेक्का लिएर काम गरिरहेको छ।
अघिल्ला नगरप्रमुख दिलिप कुमार राईको कार्यकाल सकिनै लाग्दा उनको नेतृत्वमा गत बैशाख -१६ गते उक्त निर्माण व्यवसायी कम्पनीसँग भ्याट बाहेक कुल १ करोड ५१ लाख ८९ हजार १३८ रूपैयाँमा संझौता भएको थियो।
सडकको दूवै तर्फ प्लम,ढल सहित कालोपत्रे गर्ने ठेक्का पाएको सो निर्माण कम्पनीले आगामी २०८० साल बैशाख (२१ गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने संझौता पत्रमा उल्लेख छ।
उक्त आयोजना सम्पन्न गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्ष-२०८०/०८१ को ९६ लाख ४७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट विनियोजन गर्ने जनाइएको छ।
वर्तमान नगरप्रमुख मोहन प्रसाद तुम्वापोले सडकको पश्चिमपट्टि किनारको ढल निर्माण सम्वन्धमा अघिल्ला ईन्जिनियर दिपक आचार्यले मुख्य ठेकेदारलाई काम गर्न नदिई स्थानिय पटके ठेकेदारलाई निर्माणको जिम्मा दिएर निजले फटाई गरेको भेटिएकाले ठेकेदार कम्पनी सित संझौता नभएको र उक्त सडकखण्डको पश्चिम पट्टीको ढल निर्माणका लागि आवश्यक पहल गरिरहेको जनाउनु भएको छ ।
यस्ता थुप्रै कमजोरी बाहिरिन थालेपछि ईन्जिनियर आचार्यले भने केही महिनाअघि नगरपालिकामा राजिनामा दिएका छन्। हाल निर्माणाधीन पश्चिमको ढल बनाउनलाई बजेट थप्नु पर्ने भएको र सोका लागि थप बजेट व्यवस्थापन गर्न सम्वद्ध माथिल्लो निकायहरूमा पहल भइरहेको नगरप्रमुख मोहन प्रसाद तुम्बापोले बताउनुभयो।
यसैबीच, नगरपालिकाका प्रमुख ईन्जिनियर सन्तोष केसीले उक्त मार्गको काम तिब्र गतिमा भैरहेको बताएका छन्। त्यस्तै,सडक बिचमा रहेका बिजुलीका पोलहरूलाई सडक छेउमा व्यवस्थापन गर्न पनि विद्युत प्राधिकरण उर्लाबारीमा कुरा भैरहेको बताउनुभयो।
उहाँले उक्त सडकखण्डभित्र रहेका आधा दर्जन बढी विजुलीका पोलहरूलाई सडकको छेउमा सार्नु पर्ने बताउनुभयो।






























