कोरोनाको नयाँ भेरियन्ट फैलिँदै, झापामा सतर्कता अपनाउन आग्रह

0
294

झापा ।

जिल्ला विपद् व्यवस्थापन केन्द्र झापा (डीसीएमसी)ले छिमेकी देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट वीएफ–७ फैलिइरहेको भन्दै जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा डीसीएमसी झापाको मंगलवार सम्पन्न बैठकले खुल्ला सीमाना एवम् मानिसहरुको अनियन्त्रित आवतजावतका कारणले नेपालमा पनि संक्रमणको जोखिम उच्च रहेकाले यसको रोकथाम एवम् नियन्त्रणका लागि आम जनसमुदाय सजग हुन जरुरी रहेको जनाएको छ ।

जनस्वास्थ्यका मापदण्ड नियमित रुपमा पालना गर्न÷गराउन जिल्लास्थित सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संघ–संस्था तथा सञ्चारमाध्यमहरुलाई नागरिकलाई सुसूचित गर्ने काम गर्न अनुरोध गरेको छ ।

बैठकले काँकरभिट्टा नाकामा रहेको हेल्थ डेस्कलाई पूर्ण रुपमा सञ्चालन ल्याउने र मेचीनगर नगरपालिका, नेपाली सेना लगायतको सहयोग र समन्वयमा होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । कोभिड–१९बिरुद्धको पहिलो श्रृंखलाभन्दा बुष्टर डोज मात्र लगाउने मानिसहरुको प्रतिशत झापा जिल्लामा तुलनात्मक रुपमा न्यून रहेको हुँदा प्रदेश १को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरसँग खोप माग गरी यथाशीध्र बुष्टर मात्रा ल्याएर खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय झापाले आवश्यक संयोजन गर्ने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरुको बफर स्टक राख्न अस्पतालहरु, स्वास्थ्य कार्यालय, स्थानीय तह लगायत सबै सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । विद्यालय, बढी भीडभाड हुने स्थल, सपिङ मल तथा हाट बजारमा अनिवार्य मास्क लगाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा उच्च सावधानी अपनाउने, जनशक्ति, स्वास्थ सामग्री, अक्सिजन शिलिण्डरको पयापर््त व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनालाई मेचीनगर–१४ दुवागढीको होल्डिङ सेन्टरमा एकसय बेड तयारी अवस्थामा राख्न अनुरोध गर्ने, जिल्लाका गैरसरकारी संस्थाहरुले कोराना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने गराउने भनिएको छ ।

त्यसैगरी जिल्लाका सवै सञ्चारमाध्यमलाई सचेतना कार्यक्रम बिस्तारका लागि अनुरोध गर्ने, सीमा–नाकामा थप सचेतता अपनाउने र शंकास्पद संक्रमित व्यक्तिलाई सीमानाकामै परीक्षण गर्ने व्यवस्था मिलाउने, जिल्लास्थित सवै उद्योग वाणिज्य संघ, व्यवसायिक प्रतिष्ठान तथा उद्योगहरुले आ–आफ्नो कर्मचारी÷कामदारलाई स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर मात्र काममा लगाउने निर्देशन दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here