चुनौतिका माझमा सरकार

१३ पुष २०७९, बुधबार मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हिजो अर्थात् पुस ११ गतेदेखि आकार ग्रहण गरेको छ । टालाटुली जम्मा गरेर बनाएको सरकारलाई थुप्रै चुनौतिका बीचमा सुशासनको यात्रा गर्न सकस पनि त्यत्तिकै छ । पाँच दलीय गठबन्धनबाट आफ्नो हात छुटाएर सात दलीय गठबन्धन गर्न पुगेका प्रचण्डलाई तीन जना स्वतन्त्र सांसदको पनि साथ छ । यस हिसाबमा नवगठित प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरी आगामी दुई वर्षका लागि स्थिर सरकार सञ्चालन गर्न कुनै व्यवधान आउने छैन । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डलाई नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छ, त्यसको उदाहरण यसैपटकको उनको सत्तारोहणलाई मान्न सकिन्छ । सत्ताको अङ्कगणितमा तेस्रो रहेको दलले पहिलो हुने अवसर पाउनुमा उनकै चतुरता मुख्य कारण हो ।

यद्यपि नेपाली जनताले जनताका प्रतिनिधि भेट्टाएकै छैनन् । जो आए पनि ‘कानै चिरेका’ हुने गरेकाले देश र जनताको समृद्धि केवल घोषणापत्रमै सीमित हुने गरेको छ । झन् यसपटक सात दल र तीन स्वतन्त्र गरी दश वटा प्रतिबद्धतापत्रका साथ सरकारको नेतृत्व गर्ने र सत्तामा बस्नेले जनतासँग गरेका वाचा पूरा होलान् विश्वास गरिहाल्ने अवस्था छैन । नेपालीलाई छिट्टै, सजिलै र सहजतापूर्वक काम गरिदिने नेता, जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री, कर्मचारी, न्यायाधीश, प्रहरी, प्रशासन चाहिएको छ । निष्पक्ष, स्वतन्त्र, सन्तुलित तथा कुशल सभामुख चाहिएको छ, जसले नीति–निर्माणका क्रममा जनप्रतिनिधिहरुलाई सन्तुलित र निष्पक्ष निर्देशन दिन सकोस् । उसको समन्वयकारी भूमिकाले जनहितकारी विधेयक पारित हुन सक्छन्, देश र जनताले उसको भूमिकाबाट सुरक्षित भएको अनुभूति गर्न सक्छन् ।

वर्तमान राजनीतिक व्यवस्थाबाट देशले आर्थिक वृद्धि र विकासको प्रतिफल प्राप्त गर्न सकेको छैन । प्रजातन्त्रको नाममा दलहरुको प्रदर्शन प्रहसन मात्र भइरहेको छ । अनावश्यक व्यक्ति र सत्ता स्वार्थको खिचातानी, प्रलोभनले देश भ्रष्टाचारको दलदलमा फस्दै गएको छ । आर्थिक विकासका लागि रोजगारी, कृषि, उद्योग लगायतका क्षेत्रहरुको प्रवद्र्धन गर्नुपर्नेमा नेता र नेतृत्वहरु सत्ताकै लुछाचुँडीमा रमाइरहेका छन् । युवाशक्ति नेतृत्वहरुको अक्षमताबाट दिक्क भएर पलायन हुने क्रम झनै बढेर गएको छ । यस्तोमा सरकारको नेतृत्व गर्न आएका प्रचण्ड र दशतिर फर्किएका गठजोडका टाउकालाई एउटै दिशा, एउटै लक्ष्य र निष्ठामा हिँडाउन प्रधानमन्त्री प्रचण्डलाई ठूलो चुनौति छ । गिर्दो अर्थतन्त्र र वैदेशिक सम्बन्धलाई उठाउन र बलियो बनाउनु त्यत्तिकै चुनौति छ । त्यसैले यसतर्फ उनको गम्भीर चिन्तन व्यवहारमा देखिनैपर्छ, त्यसले मात्र सरकारको सफलताको प्रमाण दिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here