धुलाबारी मावि जिल्लाकै उत्कृट विद्यालय

१२ पुष २०७९, मंगलवार मा प्रकाशित

झापा,

धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ ।

प्रदेशका १४ जिल्लाबाट एक/एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो । मन्त्रालयको मूल्याङ्कनका आधारमा धुलाबारी माविलाई उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरी अनुदान दिने घोषणा गरिएको हो ।

मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले धुलाबारी माविलाई पत्रचार गरी अनुदानका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयले रु १४ लाख ५० हजार अनुदान प्राप्त गर्नेछ । अनुदानबापतको २० प्रतिशत रकम प्रोत्साहन कार्यक्रम र बाँकी ८० प्रतिशत रकम विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना तयार पार्न मन्त्रालयले निर्देशन दिएको उहाँको भनाइ छ ।

आगामी पुस १७ गतेभित्र पेश गर्नुपर्ने प्रस्तावनामा विद्यालयको विगत र वर्तमान अवस्था प्रष्ट हुने कागजात, विद्यालयको भौतिक अवस्था, कक्षागत विद्यार्थी तथा शिक्षकको विवरण, सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपिलगायतका छन् ।

धुलाबारी मावि झापाकै पुराना विद्यालय हो । हाल यहाँ प्राविधिक शिक्षासँगै कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइसमेत हुने गरेको छ । “हामीले गरेको कामको प्रदेश सरकारले सही मूल्याङ्कन गरेको छ”, प्रधानाध्यापक लुइँटेलले खुसी हुँदै भन्नुभयो, “अनुदान पाएको रकमलाई सही सदुपयोग गरेर अझ विद्यालय सुन्दर र व्यवस्थित बनाउनेछौँ ।”

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here