बिर्तामोड । 
झापाका स्थानीय तहले शिक्षा क्षेत्रमा अतिन्यून बजेट छुट्याएको पाइएको छ । झापाका १५ स्थानीय तहमध्ये ५ वटा स्थानीय तहको दुई आर्थिक बर्षको बजेटको खाका हेर्दा कतिपय स्थानीय तहले कूल बजेटको दुई प्रतिशत पनि शिक्षा क्षेत्रका लागि बजेट छुट्याएका छैनन् ।
भौतिक विकास र पूर्वाधार विकासमा मात्रै स्थानीय तहले मोटो लगानी गर्ने गरेको पाइएको छ । स्थानीय तहले कूल बजेटको कम्तीमा २० प्रतिशतसम्म शिक्षामा बजेट छुट्याउनुपर्ने मान्यता भए पनि विविध कारण देखाउँदै स्थानीय तहले थोरै मात्रै बजेट शिक्षा क्षेत्रमा छुट्याएको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले औंल्याएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्य समिति झापाले आयोजना गरेको शिक्षामा लगानी, अपेक्षा र उपलब्धी विषयक कार्यक्रममा एनसीई प्रदेश नं. १का संयोजक मोहनप्रसाद ओलीले झापाका स्थानीय तहले अत्यन्त न्यून मात्रै बजेट शिक्षाका लागि छुट्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले बिर्तामोड, कनकाई, कमल, हल्दिवारी र गौरीगञ्ज गाउँपालिकाले शिक्षाका लागि छुट्याएको बजेटको उदाहरण दिँदै भनेका छन्– यी पालिकामा कूल बजेटको ८ प्रतिशतसम्म पनि बजेट छुट्याइएको छैन ।
बिर्तामोड नगरपालिकाले १.९१ प्रतिशत बजेट अघिल्लो आर्थिक बर्षमा छुट्याए पनि चालू आर्थिक बर्षका लागि उक्त बजेट घटाएर १.६६ प्रतिशतमा झारेको छ । त्यस्तै कनकाई, कमल गाउँपालिकाले पनि शिक्षाका लागि बजेट ज्यादै न्यून छुट्याएको उनले बताए । कम बजेट छुट्याउनेमा कमल गाउँपालिका पनि रहेको ओलीको भनाइ छ ।
आर्थिक बर्ष ०७९÷०८०का लागि कनकाई नगरपालिकाले १.६४ प्रतिशत, कमल गाउँपालिकाले १.९१ प्रतिशत, हल्दिवारी गाउँपालिकाले ७.३३ प्रतिशत, गौरीगञ्ज गाउँपालिकाले ४.०२ प्रतिशत बजेट छुट्याएका छन् । संयोजक ओलीले भने– यो बजेट शिक्षाका लागि पर्याप्त होइन । जिल्लाका पाँच वटा पालिकामा गरिएको सर्वोक्षणको आधारमा हल्दिवारी गाउँपालिकाले अन्य पालिकाको तुलनामा केही रकम बढी नै छुट्याएको देखियो– उनले भने । अन्य चार वटा पालिकाले शिक्षाका लागि न्यूनभन्दा न्यून बजेट छुट्याएका छन् । यस्तो बजेटले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न समस्या हुन्छ ।
पाँच वटा पालिकामा गरिएको सर्वेक्षणको आधारमा सशर्त अनुदानतर्फको प्रतिशतलाई जोड्दा समेत अधिकांश पालिकामा कूल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्च नभएको देखिएको कार्यक्रममा औंल्याइएको थियो । बिर्तामोड नगरपालिकाले सशर्त अनुदानतर्फको १५.५९ प्रतिशत बजेटमा नगरको तर्फबाट छुट्याएको १.६६ प्रतिशत बजेट जोड्दा १६.०६ प्रतिशत बजेट मात्रै हुन आउने संयोजक ओलीले बताए ।
त्यस्तै कनकाई नगरपालिकामा सशर्त अनुदानतर्फ २४.३० प्रतिशत बजेट छुट्याएको बताइएको छ । पाँच वटा पालिकामा गरिएको सर्वेक्षणको आधारमा हेर्ने हो भने सशर्त अनुदानसहितको बजेट हल्दिवारी गाउँपालिकामा नै बढी छुट्याइएको छ । यो पालिकामा ३६.४९ प्रतिशत बजेट छुट्याइएको छ भने गौरीगञ्ज गाउँँपालिकामा ३०.६९ प्रतिशत बजेट छुट्याइएको छ ।
बिर्तामोड नगरपालिकाको कूल बजेट एक अर्ब ३८ करोड ३५ लाख चार हजार चार सय ९० रुपैयाँ रहे पनि शिक्षाका लागि दुई करोड ३० लाख रुपैयाँ मात्रै छुट्याइएको छ । त्यस्तै कनकाई नगरपालिकाको कूल बजेट ७३ करोड ८५ लाख ६१ हजार चार सय २० रुपैयाँ रहेको र शिक्षाका लागि दुई करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । कमल गाउँपालिकामा कूल बजेट ७४ करोड ८८ लाख २४ हजार आठ सय ५२ रुपैयाँ रहे पनि शिक्षाका लागि एक करोड ६० लाख छुट्याइएको छ ।
त्यस्तै हल्दिवारी गाउँपालिकाको कूल बजेट ४४ करोड ९९ लाख २२ हजार दुई सय ७५ रुपैयाँ रहेकोमा यो पालिकाले तीन करोड ३० लाख एक हजार छ सय ७० रुपैयाँ शिक्षाका लागि छुट्याएको छ । गौरीगञ्ज गाउँपालिकाको कूल बजेट ४९ करोड ६७ लाख सात सय ५० रुपैयाँ रहेकोमा यो गाउँँपालिकाले समेत दुई करोड रुपैयाँ शिक्षाका लागि छुट्याएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले स्थानीय तहले सबै क्षेत्र र तहलाई समेट्नुपर्ने भएकाले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्टिएको बताइएकी छिन् । उनले बिर्तामोड नगरपालिकाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि थप बजेट छुट्याउँदै युग सुहाउँदो शिक्षा प्रदान गर्नमा नगरपालिका पछि नहट्ने धारणा राखिन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो पालिकाले अघिल्लो आर्थिक बर्ष र यस आर्थिक बर्षमा समुचित रुपमा शिक्षा क्षेत्रका लागि बजेट विनियोजन गरेको बताएका छन् । उनले पूर्वाधार बाहेकको क्षेत्रमा छुट्टिएको बजेट र सशर्त अनुदानको बजेटलाई जोड्ने हो भने शिक्षाका लागि उल्लेख्य बजेट छुट्याइएको बताए । स्थानीय तहको कूल बजेटको आकार ठूलो भए पनि त्यसले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले शिक्षामा बजेट न्यून देखिएको बताउँदै कनकाई नगरपालिकाले शिक्षामा बजेट छुट्याउन कञ्जुस्याइँ नगरेको बताएका छन् ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले शिक्षा क्षेत्रका लागि आफ्नो पालिकाले पर्याप्त बजेट छुट्याएको बताएकी छिन् । उनले यस आर्थिक बर्ष कृषि, स्वास्थ्य र शिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट छुट्याएको धारणा राखिन् ।
मोहनप्रसाद ओलीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा भवानीप्रसाद ओली, खिलप्रसाद शिवाकोटी, रुद्रप्रसाद सिटौला, युवराज पाण्डे लगाायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन तिलक गजमेरले गरेका थिए ।































