आर्थिक क्षेत्र चलायमान होस्

0
175

औद्योगिक व्यापारमेला तथा प्रदर्शनी खासगरी कृषि तथा औद्योगिक वस्तुको प्रदर्शनी स्थल हो । यसले त्यस्ता वस्तुको बजार प्रवृत्तिको विश्लेषण गर्ने विश्वास गरिन्छ । यस्तो मेलाले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा राखेर सम्पर्क विस्तार गर्छ र उत्पादित वस्तुको बजारीकरणका लागि राम्रो अवसर समेत प्रदान गर्दछ । एकै ठाउँमा धेरै प्रकारका उपभोग्य वस्तु छनौट गर्न र सुविधायुक्त मूल्यमा खरिद गर्न पाउने वातावरण पनि यस्ता मेला र प्रदर्शनीले दिन्छ । यसबाट उत्पादक तथा उपभोक्ता दुबै पक्ष लाभान्वित हुन्छन् र कुनै ठाउँ विशेषका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा समेत टेवा पुग्दछ । व्यापार मेला तथा प्रदर्शनीले आम उपभोक्तालाई सचेत गराउँछ र आन्तरिक उत्पादकलाई प्रोत्साहन पनि दिन्छ । त्यहीकारण पछिल्लो समय औद्योगिक व्यापार मेला तथा प्रदर्शनीको आयोजना बाक्लै हुन थालेका छन् ।

झापाको मुख्य व्यापारिक तथा आर्थिक क्षेत्रको रुपमा परिचित बिर्तामोडमा पनि आउँदो बिहीबारदेखि औद्योगिक तथा व्यापार मेला तथा प्रदर्शनीको शुभारम्भ हुँदैछ । स्थानीय उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको मेला यही फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिले प्रत्येक दिनजसो सम्बद्ध पक्षसँग अन्तरक्रिया गरिरहेको छ । यस क्रममा महोत्सवको शान्ति–सुरक्षाका लागि सुरक्षा संयन्त्रका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरी सुरक्षाको प्रत्याभूति तथा ट्राफिक व्यवस्थापनमा सहयोग मागिएको छ । यसअघि २०७५ मा सञ्चालन भएको महोत्सवको व्यवस्थापनबाट सिकेर अझ सुरक्षित, विश्वासयोग्य, सुविधायुक्त महोत्सवको आयोजना गर्ने समितिले जनाएको छ ।

मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्यवस्तु, हस्तकला तथा तयारी पोशाक प्रदर्शनमा रहने बताएका छन् । त्यसैगरी महोत्सवमा प्रदर्शन तथा बिक्री कक्ष, सांगीतिक क्षेत्र, बाल उद्यम तथा मनोरञ्जल र खानपिन गरी चार क्षेत्रको व्यवस्थापन गर्न लागिएको छ । बंगलादेश, पाकिस्तान, भारत लगायतका छिमेकी देशका उद्योगी तथा व्यवसायीहरुको समेत सहभागिता रहने महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । प्रत्येक दिनको गतिविधि र उपलब्धीलाई पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आएको आयोजक समितिले भने जस्तै सबै वर्ग, क्षेत्र, व्यवसायी, उद्योगी, राष्ट्रसेवक तथा सुरक्षा अङ्गबाट सद्भाव र सहयोग प्राप्त गरी महोत्सव भव्यतापूर्वक सम्पन्न गर्नुपर्छ । त्यसो भयो भने आमउपभोक्तासँगै यो क्षेत्रको समृद्धिमा पनि सकारात्मक योगदान पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here