आर्थिक अनियमितता गर्ने व्यक्तिलाई संरक्षण गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

९ फाल्गुन २०७९, मंगलवार मा प्रकाशित

झापा, माई नगरपालिका – ५ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । दाहालटारदेखि रमितेसम्मको सडक मर्मतका क्रममा किर्ते हस्ताक्षर गर्दै आर्थिक अनियमितता गरेको र आर्थिक अनियमितता गर्ने व्यक्तिलाई कारवाही गर्नुको सट्टा संरक्षण गरेको भन्दैस्थानीयले वडा कार्यालयमा तालवान्दी गरेका हुन् ।
अनुगमन समिति संयोजक तथा वडा सदस्य समेत रहेका कृष्ण प्रधानले सडक मर्मतको अनुगम नै नगरी रकम भुक्तानीका लागि सिफारिस दिएको र निर्माण व्यवसायी भीम मोक्तानले समेत भुत्तानी लिएसंगै किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेको भन्दै यस अघि नै स्थानीयले वडा कार्यालयमा उनीहरु उपर कारवाहीको माग गर्दै वडाध्यक्ष भूपेन्द्र पूर्वछाने मगरलाई ध्यानाकर्षण गराएका थिए ।
सडक मर्मतका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन भएको र सो सडक मर्मतका लागि कृष्णवहादुर मगरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएपनि सडक मर्मत समितिकै अध्यक्ष मगरको किर्ते हस्ताक्षरका आधारमा माई नगरपालिकाले ४ लाख ४५ हजार ६ सय ८७ रुपैयाँ माई भुत्तानी गरेको भन्दै स्थानीयले उनीहरु उपर कारवाहीको माग गरेका थिए ।
६ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नु पर्ने काम नै नगरी नगरपालिकाले निर्माण व्यवसायी मोक्तानलाई रकम भुक्तानी दिएको र अनुगमन समितिका संयोजक तथा वडा सदस्य प्रधानले सडकको अनुगमन नगरी घरमै वसीवसी रकम निकासीका लागि सिफारिस दिएको बताइएको छ । रकम भुक्तानीका लागि बिकास समिति सचिव इस्वरमान राईले माइन्यूट र चेकमा सम्पूर्ण समितिको किर्ते हस्ताक्षर गरी वडा कार्यालयमा बिवरण पेस गरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए ।
सडक निर्माणका क्रममा भएको भ्रष्टाचारको विषय स्थानीयले उठाएपछि घटनालाई ढाकछोपका लागि वडा कार्यालय भवन सार्ने चलखेल भएको बताइएको छ । जसका लागि वडा कार्यालय भवन निर्माणको बैठक गर्न भन्दै गत पुस २१ र ३० गते आम भेला र सर्बदलीय बैठक बोलाइएको थियो । जहाँ वडा न ५ को स्थायी कार्यालय बिहीबारेमा निर्माण गर्ने भनि प्रतिनिधिहरुकै बहुमतमा आम भेला र सर्बदलीय बैठक सम्पन्न भएको थियो । योसंगै किर्ते काम गर्ने उपर कारवाही गर्न माग गरिएको थियो । तर, त्यसको एक महिना बितिसक्दा समेत वडाध्यक्ष र अन्य सदस्यहरुलाई दवाब दिँदै वडा कार्यालय नै सार्न चलखेल भएको बताइएको छ ।
सहमति विपरित वडा कार्यालय सार्न खोजिनु र किर्ते काम गर्ने लाई कारवाह्ीको सट्टा संरक्षण गर्न लागिएको भन्दै स्थानीयले वडा कार्यालयमा सोमवारदेखि नै अनिश्चित कालका लागि तालाबन्दी गरेका हुन् । यस अघि उनीहरुले माई नगरपालिकाका मेयर खम्बासिंह लिम्बू र उपमेयर हिमा भण्डारीलाई समेत ज्ञापन पत्र बुझाएका थिए ।
किर्ते कार्यमा सम्लग्नलाई कारवाही गरिनु पर्ने र वडामा भएको निर्णय कार्यान्वयन गरिनु पर्ने माग सहित उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । जसका लागि कमल राईको अध्यक्षतामा ११ सदस्यीय संघर्ष समिति समेत निर्माण गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here