कनकाई प्रजापतिका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित

0
113

झापा।

झापाको कनकाई–१ प्रजापतिका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित छन् । दशकौंदेखि ट्युबेलको पानी प्रयोग गर्दै आएका उनीहरुले अहिले पनि शुद्ध खाने पानी प्रयोग गर्न पाएका छैनन् । जमिनमुनिको पानी ट्युवेलबाट तानेर प्रयोग गर्दै आएका उनीहरुले पानी रातो हुने समस्या निराकरणका लागि घरायसी फिल्टर प्रयोग गर्दै आएका छन् ।

तर, आफैंले बनाएको फिल्टरबाट फिल्टर गर्दा समेत पानी पूर्ण रुपमा शुद्ध नभएपछि उनीहरु दुषित पानी प्रयोग गर्न बाध्य हुनु परेको हो । कनकाई–१ मा खानेपानीका लागि परियोजना सञ्चालनमा रहे पनि खानपानी वितरण हुनसकेको छैन । जसका कारण यहाँका स्थानीयले दुषित पानी प्रयोग गर्न बाध्य हुनु परेको स्थानीय तारा कोइरालाले बताए ।

खानेपानी दुषित हुने र फिल्टर गर्नुपर्ने बाध्यता छ– कोइरालाले भनिन्– पानी शुद्धिकरणका लागि फिल्टर जोड्न सकिएको छैन । घरमै घरायसी सामग्री प्रयोग गरेर पानी फिल्टर गर्दै प्रयोग गर्दै आएका छौं । फिल्टर नै गरे पनि उक्त पानी प्रयोग गर्दा भाँडाकुँडा राता हुने र कपडा समेत छिट्टै विग्रने गरेको उनको भनाइ छ । आफूले प्रयोग गर्दै आएको सिल्वरको गाग्री देखाउँदै उनले भनिन्– यी हेर्नु त यो गाग्री तामाको जस्तै भएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण कोइरालाले फिल्टर जोड्न यहाँका धेरै परिवारले नसकेको उनको भनाइ छ । कोइरालाको घरनजिकै खानेपानीको ट्यांकी छ । झण्डै दुई दशकअघि ९० परिवारका लागि फन्ट बोर्डको सहयोगमा खानेपानी विस्तार गरिएको थियो । तर केही वर्ष चलेपछि उक्त खानेपानी ट्याङ्की बिग्रियो जसका कारण यहाँका स्थानीयले शुद्ध पानी प्रयोग गर्नबाट बञ्चित हुनु परेको हो ।

प्रजापति क्षेत्रमा खानेपानीको ठूलो अभाव रहेको स्थानीय बाल्दिका अधिकारी बताउँछिन् । उनी भन्छिन् – ‘खानेपानी धेरै रातो छ । फिल्टर नगरी खानै सकिँदैन । यहाँको दुःख कसले देख्छ । प्रजापति खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी ट्याङ्की बनाउने भन्दै बर्षेनि पैसा उठाइरहन्छ– उनले भनिन्– तर, खानेपानी भने कहिल्यै आउँदैन ।
घरछेउमा खानेपानीको ट्यांकी देखिन्छ, तर पानी आउँदैन’– उनी भन्छिन्– ‘पानी बनाउन भनेर बर्षेनि ५–६ सय रुपैयाँ प्रत्येक घरबाट उठाउँछन्, तर पानी दिँदैनन् । आए पनि एक–दुई दिन आउँछ । त्यसपछि बन्द हुन्छ ।’ पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरमा रहेको प्रजापति क्षेत्रका प्रत्येक घरमा सिमेन्टको फिल्टर देखिन्छ । ऋण गरेर भए पनि शुद्ध खानेपानीका लागि स्थानीयले सिमेन्टको फिल्टर राखेका छन् ।

उक्त फिल्टरमा बालुवा र गिट्टी लगाएर पानी शुद्धीकरण गर्ने गरिएको स्थानीय बोधकुमारी पौडेल बताउँछिन् । तर, ट्युबेलको आर्सेनिकयुक्त पानीले ती फिल्टर नै रातो भएको उनको भनाइ छ । ‘यहाँको सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो । मान्छेले ऋण गरेर भए पनि सिमेन्टको फिल्टर बनाएका छन् । तर, यो फिल्टरबाट आएको पानी पनि शुद्ध हुँदैन । केहीबेर भाँडामा राख्यो भने भाँडा नै बिग्रन्छ’– उनले भनिन्– ‘चुनावका बेलामा भोट माग्न आउनेले खानेपानी चाँडै ल्याइदिन्छौँ भन्थे । तर, चुनाव सकिएपछि बिर्सिए ।’

यसरी सिमेन्टको फिल्टरबाट ट्युबेलको पानी शुद्धीकरण गर्दा पनि पिउन उपयुक्त नहुन सक्ने डिभिजन खानेपानी तथा सरसफाई कार्यालय झापाका प्रमुख विकास काफ्लेले बताए । ‘झापामा ट्युबेलको पानी खानयोग्य छैन । यहाँ आइरन र म्याग्निजको मात्रा अत्यधिक छ । त्यो पानी प्रशोधन नगरी खान मिल्दैन’– उनी भन्छन्– यसरी सिमेन्टमा फिल्टर गर्दा केही शुद्ध होला, तर खानयोग्य नै हुन्छ भन्न सकिँदैन । आइरन नहटेको पनि त हुन सक्छ ! हामीले त्यो ठाउँमा घरहरूमा सिमेन्टको फिल्टर देखेका छौँ । तर, जाँच नगरेको हुँदा पिउनयोग्य छ कि छैन भन्न सकिँदैन । पानी वितरण नहुँदा बाध्य भएर खाएका हुन्– उनले भने

पुरानो खानेपानी आयोजना बिग्रिएपछि नागरिकको घरमा शुद्ध पिउनेपानी पु¥याउन नसकिएको प्रजापति खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर राउतले बताए । दुई दशकअघि शुरु भएको खानेपानी आयोजना ९० परिवारका लागि भएको उनले बताए । तर, शुरुको दुई वर्ष मात्र पानी वितरण गर्न सकिएको र त्यसपछि समस्या आएको उनी बताउँछन् ।

पछिल्लो समय डिभिजन खानेपानी तथा सरसफाई कार्यालयले उक्त ठाउँमा खानेपानी निर्माणका लागि बजेट विनियोजन गरेको छ । चार सय ४२ घरधुरीका लागि खानेपानी निर्माणको योजना ल्याइए पनि समयमा पर्याप्त बजेट नदिँदा खानेपानी विस्तारको काम चार वर्षदेखि अलपत्र रहेको राउतले बताए । ‘नयाँ खानेपानीमा पहलकदमी गरिरहेका छौँ । ०७५ मा जग्गा व्यवस्थापनपछि अहिलेसम्म एक करोड जति बजेट आयो ।

जग्गा घेराबारा, खानेपानी कार्यालयको चारकोठे भवन निर्माण गरियो । ०७७मा डिप बोरिङको सामान पनि आएको छ’– उनले भने– ‘तर, अब ट्यांकी निर्माण र पाइपलाइन विस्तारको मुख्य कामचाहिँ अड्किएको छ । अब दुई करोडजति बजेट दिए काम सक्ने थियौँ । तर, अहिले १५ लाख मात्र बजेट दिएको छ, यसले के गर्ने ?’– उनले प्रश्न गरे ।

डिभिजन खानेपानी तथा सरसफाई कार्यालय झापाका प्रमुख विकास काफ्लेले बजेट नआएका कारण प्रजापति खानेपानीसहित जिल्लाका अन्य ठाउँका खानेपानी आयोजन अलपत्र परेको बताए । ‘अर्को खानेपानी आयोजना प्रजापतिमा बन्दै छ । बजेट अभावले ट्यांकी निर्माण र पाइपलाइन विस्तार गर्न सकेका छैनौँ’– काफ्लेले भने– ‘बजेट थोरै आउँछ । हामीलाई चाहिने धेरै हुन्छ । त्यही भएर समयमा काम गर्न सकिएन । झापामा आयोजनाको संख्या धेरै छ । त्यस अनुसारको बजेट आउँदैन । झापाका अन्य योजना पनि बजेट अभावमा अलपत्र भएका छन् ।’

झापामा अझै १५ प्रतिशत जनसंख्या शुद्ध खानेपानीको पहुँचबाहिर रहेको बताइएको छ । डिभिजन खानेपानी तथा सरसफाई कार्यालय झापाका अनुसार ८५ प्रतिशत जनसंख्यामा शुद्ध खानेपानी पुगेको छ । खानेपानीको पहुँचबाहिर रहेका जनता ट्युबेलको पानी खान बाध्य छन् ।

त्यसो त प्रजापति क्षेत्रमा मात्र नभई कनकाईका ८ र ९ मा पनि खानेपानीको समस्या छ । कनकाई ८ र ९ मा समेत खानेपानीका लागि पहल गरिए पनि पानी वितरण नगरिँदा त्यस क्षेत्रका स्थानीयवासी समेत दुषित पानी प्रयोग गर्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here