अमेरिका, जापान, बेलायत, क्यानाडा लगायतका पूँजीवादी मुलुकसहित डेन्मार्क, नर्वे, फिन्ल्याण्ड, स्पेन लगायतका स्कान्डेनेभियन देशहरूमा जनताको आधारभूत स्वास्थ्यको जिम्मा राज्यले लिएको छ । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन भनेर स्पष्ट व्यवस्था गरेको छ । नेपाल शिक्षा र स्वास्थ्यमा व्यापारीकरणले गाँजेर थिल्थिलो भएको मुलुकमा पर्दछ । राज्यले स्वास्थ्य क्षेत्रलाई संविधानमा उल्लेख गरे पनि व्यवहारमा संविधानको मर्म र भावना प्रतिबिम्बित हुन सकेको छैन । नेपालको संविधान २०७२ को प्राथमिकताका बाबजुद नेपालमा आधारभूत स्वास्थ्य सेवाको स्थिति राम्रो छैन । पछिल्लो समय सरकारले सर्वसाधारणको स्वास्थ्य बीमा सम्बन्धी योजनाले रोगको उपचार गर्न अक्षम सर्वसाधारणले घरमै पीडा सहेर बस्नुभन्दा थोरै रकमको बीमामै कतिपय रोगको उपचार कम रकम वा सित्तैमा गर्न सक्ने आशा चाहिँ दिलाएको हो ।
नेपाल ससाना स्वास्थ्य सेवाका समस्यामा अल्झिरहेको छ, हामी स्वार्थले ग्रस्त भएका छौं, तर संसार भने अति आधुनिक प्रविधिको प्रयोगले विष्मयकारी सफलता हात पार्दै गएको छ स्वास्थ्य क्षेत्रमा । विकसित देशहरूले उपचारको सहजतासँगै दुःसाध्य रोगलाई दूर गरेका छन् । तिनीहरू नवीनतम् खोजमा व्यस्त छन् भने नेपालमा सर्वसाधारण ससाना भनिने रोगहरूबाट मृत्युको मुखमा पुगिरहेका छन् । खोप कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुग्नु, स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि हुनु, सरकारी तथा गैरसरकारी संस्थाको सकारात्मक भूमिका लगायतका कारणले अवस्थामा सुधार हुँदै गए पनि आशातीत प्रगति भएको छैन । हाम्रो समाज वर्गीय छ । समाज हुने खाने र हुँदा खानेमा विभक्त छ । हुने खानेहरू, पहुँचवाला र सम्पत्तिवालाहरूका लागि महँगा अस्पताल छन् । स्वदेशमा उपचार सम्भव नभए विदेशका महँगा अस्पतालमा उपचार गर्ने उनीहरूको क्षमता छ । राज्यकोषको दोहन गरेरै भए पनि राजनीतिक नेतृत्व, उच्च पदस्थ कर्मचारी, ठूला पूँजीपतिहरू महँगा अस्पतालमा उपचार गर्छन् । तर, बिहान के खाउँ, बेलुका के खाउँ, रात कसरी बिताउँ, जाडो कसरी कटाउँ भन्ने समस्याका भुइँमान्छेहरू रोग लागेपछि बाँचिने आशा मार्न अभिषप्त छन् ।
जनस्वास्थ्यको अवस्था र आम नागरिकको स्वास्थ्य स्थिति सुधारका लागि नीतिगत योजना निर्माणमा राज्य लाग्न आवश्यक छ । सानो अर्थतन्त्रको मुलुक भएर पनि र ठूला देशहरू विशेषतः अमेरिकाको दबाबको सामुन्ने क्युबा स्वास्थ्य क्षेत्रमा प्रशंसनीय प्रगति गरेको मुलुकमा पर्दछ । राज्यको सकारात्मक नीति र राजनेताको प्रबल इच्छाशक्ति कै कारण क्युबाले स्वास्थ्य क्षेत्रमा यति ठूलो प्रगति गर्न सकेको हो । हाम्रो पहिलो अर्जुनदृष्टि आधारभूत स्वास्थ्य सेवामा केन्द्रित हुन जरुरी छ । राज्यको नीति स्पष्ट भएमा मात्र मुलुकले दिशाबोध गर्ने हो । आधारभूत सार्वजनिक शिक्षा र स्वास्थ्यलाई सुधार्न सके हाम्रो देश समृद्ध हुन समय लाग्दैन । संविधानको दिशानिर्देश बमोजिम राज्यले आफ्ना सङ्कल्प र योजनाहरू निर्माण गर्न जरुरी छ । संविधानमा लेखिए बमोजिम नेपाल समाजवाद उन्मुख लोक कल्याणकारी राज्य हो भने जनताको आधारभूत स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।