अर्जुनधारा, ‘स्माइलिङ फेस बनाउनु पर्ने भो’ भन्दै हर्षित मुद्रामा देखिएका अर्जुनधारा–७ निवासी ज्येष्ठ नागरिक बालकृष्ण निरौला(८७)को प्रतिक्रिया सुनेपछि उपस्थित सबैमा हाँसोसँगै वातावरण रमाइलो भएको थियो ।
विश्व आमाबुबा दिवसको सन्दर्भमा बिहीबार अर्जुनधारा–७ नं. वडा कार्यालयबाट सहायता सामग्री अन्र्तगत स्टीलको लौरो पाएपछि उनी खुशी भएका हुन् । उनीजस्तै अर्का स्थानीय ९० वर्षिय जीतबहादुर माझीले पनि लौरो पाएपछि आफूलाई राम्रो लागेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
चालु आर्थिक वर्ष ०७९÷०८०को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत वडास्तरिय योजनाको ज्येष्ठ नागरिक कार्यक्रमबाट विनियोजन भएको बजेटबाट वडा कार्यालयले वाकर, लौरो र प्लाष्टिकको ट्वाइलेट कुर्सी वितरण गर्ने निर्णय गरेको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् ।
उक्त निर्णय अनुसार ज्येष्ठ नागरिक कार्यक्रमको ५० हजारसहित सामाजिक सहायता कार्यक्रमको बजेटबाट ३६ थान लौरो, १० थान कुर्सी र आठ थान वाकर दिने वडाको योजना रहेको छ । घरदैलो कार्यक्रममार्फत् बिहीबार लौरो २३ थान, ट्वाइलेट कुर्सी चार थान र वाकर चार थान वितरण गरेको वडा सचिव लुँइटेलले जानकारी दिइन् ।
सहायता सामग्रीको आवश्यक ज्येष्ठ नागरिकसँगै केही अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा केही सहज होस् भन्ने उद्देश्यसँगै दिवसको औचित्यलाई मध्यनजर गरि कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन भन्दा पनि सानो बजेटले ठूलो प्रतिफल दिन सकिने हुँदा आफूहरुले सहायता सामग्री वितरणको कार्यलाई नै प्राथमिकतामा राखेको वडाध्यक्ष खतिवडाले प्रष्ट पारे । “सीमित बजेटका कारण यसपटक सबैलाई सहायता सामग्री प्रदान गर्न नसके पनि आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।”–उनले थप आफ्ना् भनाइ राखे ।
कार्यालयले वितरण गर्न बाँकी रहेको लौरो, कुर्सी र वाकर शुक्रबार वितरण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा नगर कार्यपालिका सदस्य कौशिलाल परियार, वडा सदस्यहरु जानुका विश्वकर्मा, देवकुमार राई, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाल, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमलप्रसाद गुरगाईं, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंलगायतको सहभागिता रहेको थियो ।