लागूऔषधको भयावहता नियन्त्रण गर

0
123

‘जीवन बचाऔं’ भन्ने नाराका साथ अंग्रेजी सम्वत् अनुसारको जुन २६ मा विश्व लागू पदार्थ तथा अवैध तस्करीबिरुद्धको दिवसका रुपमा मनाइन्छ । लागूऔषधको दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरु रोक्न लागूऔषधका प्रभावहरुको जानकारी प्रदान गर्दै अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रका आधारमा मनाइने यो दिवसको मूल उद्देश्य विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

लागूऔषधको प्रयोग अहिले विश्वव्यापी समस्या बनेको छ । ऊर्जाशील उमेर र कार्यक्षमता भएका युवा लागूऔषधको जोखिममा पर्दै गएका छन् । अर्थात् यही उमेरकाहरु लागूऔषधको प्रयोग तथा कारोबारमा संलग्न रहेको तथ्यांकले देखाएको छ । विश्वमा झण्डै दुई लाख मानिस लागूऔषधको प्रयोगकै कारण प्रति वर्ष मृत्युवरण गरिरहेका छन् । छिमेकी देश भारतमै झण्डै आठ करोड युवा लागूऔषधको कुलतमा रहेको तथ्यांक सार्वजनिक भएको छ । भारतसँगको खुल्ला सीमानाका कारण नेपाल पनि यो समस्याको उच्च जोखिममा छ । लागूऔषधको दुरुपयोगले एकातिर आर्थिक क्षति हुन्छ भने अर्कातिर जनस्वास्थ्यमा गम्भीर असर पर्दछ । त्यसैगरी सामाजिक अपराध, हिंसा र अराजकता समेत लागूऔषधकै प्रयोग तथा कारोबारले वर्षेनि बढाइरहेको छ ।

यही संक्रमणको बेला नेपालमा लागूऔषध गाँजा माथिको प्रतिबन्ध हटाइनुपर्ने आवाज चर्को हुँदै गएको छ । जिम्मेवार राजनीतिक दलका प्रभावशाली नेताहरु नै यसको व्यावसायिक खेतीका पक्षमा अभियान नै चलाउँदैछन् । यस्तो बेला हामीकहाँ विभिन्न नामका लागूऔषधहरुको सेवनकर्ता तथा कारोबारीहरु दिनहुँ पक्राउ पनि पर्दैछन् । नेपालको कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै तस्करहरुको ठूलो सञ्जाल अति संवेदनशील नाका भएरै यसको ओसारपसारमा सक्रिय भइरहेको छ । त्यसले एकदिन हाम्रो युवा, दक्ष तथा ऊर्जावान शक्तिलाई लागूऔषधको प्रभावमा पार्ने निश्चित जस्तो भएको छ । छिट्टै पैसा कमाउने लोभमा, नशाको आकर्षणले हाम्रा सक्रिय जनशक्ति प्रभावित नहोऊन् त्यसका लागि विशेष कानूनको निर्माण गरी लागूऔषधको सेवन तथा कारोबारलाई नियन्त्रण गर्नुपर्छ । अन्यथा स्वच्छन्दता र स्वतन्त्रताका नाममा बढ्ने उदण्डताले हामी र हाम्रो देशको भविष्यलाई अन्धकारमय बनाउने पक्का छ । त्यसलाई रोक्न प्रभावकारी ऐनको निर्माण र प्रभावकारी कार्यान्वयन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here