डेरी उद्योगद्वारा ६३ जना किसान सम्मानित

0
134

युद्धबहादुर बोहोरा,
इलाम ।

देउमाई नगरपालिका–१ नम्बर वडास्थित मैदानेका ६३ जना पशुपालक कृषकले एक लाख ८२ हजार दुई सय १४ लिटर दूध उत्पादन गरेका छन् ।

छ महिनामा उत्पादन गरेको दूधको तथ्याङ्कका आधारमा सोही वडामा सञ्चालित दुर्गा डेरी उद्योगको आयोजना तथा कृषि ज्ञान केन्द्र इलामको सहयोगबाट किसानलाई सम्मान गरेको हो ।

कोशी प्रदेश सरकारबाट दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत प्रतिलिटर दुई रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । सार्वजनिक सुनुवाई गर्दै जम्मा रकम तीन लाख ६४ हजार दुई सय २८ रुपैयाँ वितरण गरिएको उद्योग सञ्चालक केदारसिंह बस्नेतले जानकारी दिए । पाँच हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने सञ्चालक बस्नेतसहित चार जना र अन्य ५९ जना किसानले त्यसभन्दा मुनि उत्पादन गरे तापनि जम्मा गरेको दूधको हिसाबले अनुदान पाएका छन् ।

केशव श्रेष्ठले पाँच हजार पाँच सय ८० लिटर उत्पादन गरेर ११ हजार एक सय ६० रुपैयाँ पाएका छन् । चुडामणि बस्नेतले छ हजार ५० लिटरको १२ हजार एक सय रुपैयाँ, ताराबीर बस्नेतले १० हजार एक सय तीन लिटर दूध उत्पादन गर्दे २० हजार दुई सय छ रुपैयाँ र उद्योग सञ्चालक बस्नेतले १६ हजार छ सय ८० लिटर उत्पादन गरेर ३३ हजार तीन सय ६० रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका हुन् ।

किसान प्रोत्साहन तथा सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मीनराज श्रेष्ठ विशेष अतिथि वडा सदस्य केशरबहादुर पौडेलले पशुपालन व्यावसायमा उत्साह जगाउँदै आधुनिक किसिमले उन्नत जातका गाई पालेर अनुदान रकम भित्र्र्याउन सफल बनेका उद्योग सञ्चालक बस्नेत लगायत सबै किसानलाई धन्यवाद तथा शुभकामना दिँदै प्रशंसापत्र प्रदान गरेका थिए ।

चार वर्ष वैदेशिक रोजगारमा बसेर घर पर्किएपछि उद्योग सञ्चालक बस्नेतले शुरूमा दुईवटा गाईबाट पेशा थालेका थिए । उनका बुबा पहिलेदेखि गाईवस्तु पालनमा निकै चासो राख्ने र गाउँमा उन्नत जातका पशु भित्र्र्याउने उनको चाहानाबाट प्रेरित भएको कहानी उनले बताए । बस्नेत गाउँमै स्वरोजगार बन्ने उद्देश्यले २०७६ सालमा उद्योग दर्ता गरी व्यावसाय सञ्चालन गरे । यतिबेला उनको फर्ममा २० वटाभन्दा बढी गाई छन् ।

दैनिक एक सय ५० लिटर दूध उत्पादन गर्दै आएको बताउँछन् । उनले डेरी उद्योग पनि दर्ता गरेका छन् । डेरीमा स्थानीय किसानले दैनिक दूध भर्ने र त्यसको मासिम रकम उनले घ्यू र छुर्पी बेचेर दिने गरेको बताए । डेरी र गाई फर्मको सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ आम्दानी हुने त्यसबाट परिवारमा घरखर्च र छोराछोरी पढाउन मनग्य पुग्ने उनको भनाई छ । यस फर्मबाट उन्नत जातका गाई, बाछा, बाछी, ब्युको लागि गोरु पनि बिक्री गर्ने गरेको उनले बताए ।

गोठ सुधार, गाईवस्तु खरिद र डेरी उद्योगका लागि सामग्री खरिदमा उनले करिब ५० लाख लगानी गरेको जनाए । यस क्षेत्रका किसानहरु पहिल्यैदेखि पशुपालन व्यावसायमा लागरे दूध उत्पादन गर्दै आएको थिए । तर, अहिले जस्तो नयाँ प्रविधिबाट घ्यू, छुर्पी बनाउने, घाँस, दाना, खानेकुरा र बजारीकरणमा उचित व्यवस्थापन नहुँदा किसानमा उत्साह थिएन ।

आजभोलि उद्योग सञ्चालक बस्नेतले यसै पेशाबाट घरमै आम्दानीको स्रोत जुटाएर उदाहरणीय बन्न थालेपछि उनी जस्तै यस गाउँमा अन्य युवाहरु पनि पेशामा आबद्ध हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए । बस्नेत एक सफल उद्यमीको रुपमा परिचित भएसँगै उनको फर्म हेर्न र पशुपालन सम्बन्धी अनुभव लिन आउनेहरु बढ्न थालेका छन् ।

पछिल्लो समय लम्पी स्किन रोगले किसानका गाई विरामी हुने र मर्न थालेपछि आम्दानीको स्रोत गुम्ला कि भन्ने पीडा पनि उनीहरुलाई उत्तिकै छ । पशु चौपायका लागि आगामी नीति तथा कार्यक्रममा देउमाई नगरपालिकाले २५ लाख रुपैयाँ उपचार खर्च विनियोजन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीय सरकारको क्षमताले भ्याएसम्म किसानको समस्यामा साथ दिने उनले प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here