बिर्तामोडमा सुर्तीजन्य पदार्थ विक्रीमा रोक

0
146

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले सुर्तीजन्य पदार्थ चुरोट, खैनी, गुुट्का आदिको विक्री वितरण गर्न नपाउने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थविक्री वितरणमा पूर्णरुपमा रोक लगाइने नीति लिएको बताइन् ।

नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गरिनुका साथै डायलाइसिस सेवा शुचारु गरिने, नगरभित्रका अति बिपन्न परिवारलाई छनौट गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइने, सामुदायिक विद्यालयले बिद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता र कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको उल्लेख गरिएको छ ।

कार्यक्रममा कन्काई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतिबाट फोहोरमैलाकोे व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गीकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट बायोग्यास, जैविक मल तथा नकुहिने फोहोरबाट पेवर्स उत्पादन गरिने उल्लेख छ ।

यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धित उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्रभित्रका खोला र पैनीको जमिनको साँधसीमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल यकिन गरिने उल्लेख गरिएको छ । नगरपालिकालाई प्रदुषणमुक्त, पूर्ण सरसफाईयुक्त, हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षरोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने नीति अवलम्वन गरिने नीतिमा उल्लेख छ ।

वहाल करको दायरा फराकिलो पार्दै आवासीय प्रयोजनको लागि लागेका घर कोठाहरुको वहाल कर संकलन गर्न सम्बन्धित टोल विकास संस्था परिचालनको नीति अवलम्वन गरिने, नक्सा पासको दायरामा नआएका घरलाई टोल बिकास समितिमार्फत दर्तामा ल्याउन अभियान सञ्चालन गरिने, धेरै कर तिर्ने र नियमित कर तिर्ने करदाताहरुलाई पुरस्कृत गरिने, उज्यालो नगरको अवधारणालाई पूर्णतया कार्यान्वयन गरिने, विद्युत् जडान गर्न बाँकी रहेका घर परिवारमा विद्युत् जडान गरिने, एक घर–एक धारा अभियानलाई विस्तार गरी नगरवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने, मापदण्ड विपरीत र नक्सा पास नगराई बनाइएका संरचनाहरु नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नुपर्ने पनि कार्यक्रममा उल्लेख छ ।

यस्तै डोमालाल राजवंशी स्मृति रंगशालाको स्तरोन्नतिका लागि डीपीआर तयार गरी संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरी निर्माण कार्य प्रारम्भ गरिने, बिर्तामोड–८ मा रहेको दुर्गा देवी गुठीको जग्गामा क्रिकेट खेल मैदान निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, राष्ट्रियस्तरको डिभिजन टिममा छनौट भई खेल्ने अवसर प्राप्त फुटबल, क्रिकेट, भलिबल तथा अन्य खेलका टिमलाई अनुदान दिइने लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सभामा लिखत प्रमाणीकरण सम्बन्धी विधेयक २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक २०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७४लाई संशोधन गर्न बनेको विधेयक २० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेश गरिएको छ । विधेयक समिति संयोजक शर्मिला राजवंशीले उक्त विधेयक पेश गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here