मेची रङ्गशालामा झापा लिग 

६ मंसिर २०८०, बुधबार मा प्रकाशित
झापा, 
युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही मङ्सिर ७ गतेदेखि ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग हुने भएको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा प्रतियोगिता हुने भएको हो । झापा लिगमा जिल्लाका १४ पालिका सहभागी हुने संस्थाका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।
गत वर्ष फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यस वर्ष पालिकास्तरीय प्रतियोगिता आयोजना गरेको हो । खेल १८ दिनसम्म सञ्चालन हुनेछ ।
  प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने उहाँले जानकारी दिनुभयो । झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन । पन्ध्र वटा टिमलाई चार वटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खेल तालिका अनुसार समूह क मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ख मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ग मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह घ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणका खेल क्वार्टर फाइनलबाट सुरु हुनेछ । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुनेछ । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु तीन लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु दुई लाख, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु दुई हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १० हजार, ट्रफी र पदक पाउनेछन् ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद रु पाँच हजार, ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु ८० लाख खर्चको अनुमान गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here