आत्मानन्द गोल्डकपको उपाधि तिजोक पाँचथरलाई

१७ मंसिर २०८०, आईतवार मा प्रकाशित
फिक्कल (इलाम), 
इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको हो ।
माङसेबुङ गाउँपालिका–५ आत्मानन्द रङ्गशालामा आज भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि ‘सडन डेथ’मा विजेता निर्धारण गरिएको हो ।
विजयी समूह तिजोकले नगद रु तीन लाख ११ हजार र ट्रफी हात पा¥यो भने उपविजेता माङसेबुङले नगद रु दुई लाख पाँच हजार र ट्रफी प्राप्त ग¥यो । अघिल्लो संस्करणमा तिजोक उपविजेता बनेको थियो ।
उत्कृष्ट ‘डिफेन्डर’ विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट ‘गोलकिपर’ रोशन नेपाल,  सर्वाधिक गोलकर्ता निर्देश राई, उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदियमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुलाई जनही नगद रु पाँच हजार प्रदान गरिएको थियो ।
विजेता र उपविजेताहरुलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गर्नुभयो । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवका अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा यही मङ्सिर ८ गतेदेखि सञ्चालित गोल्डकपमा नेपाल, भारत र भूटानका आठ टोलीको सहभागिता थियो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here