झापामा सहकारीको पुँजी ७० अर्ब

२७ पुष २०८०, शुक्रबार मा प्रकाशित

झापा ।

झापामा सहकारीमार्फत रु. ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसंख्या सहकारी अभियानसँग जोडिएको छ ।

सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ– उनले भने– यसले स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए ।

पछिल्लो समय झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो । अध्यक्ष ढकालले भने– ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।

झापामा आठ सय दुई वटा सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको संख्या घटबढ भइरहेको छ– संघका सचिव भवानीप्रसाद दङ्गालले भने ।
झापा जिल्ला सहकारी सङ्घमा चार सय ९२ सहकारी संस्था आबद्ध छन् ।

यसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी एक सय ९३, दूग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार–चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले बताए । झापाका सहकारीमा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here