झापाको बिर्तामोडमा वि.सं. २०५१ सालमा अनारमनी खानेपानी उपभोक्ता समितिको नामबाट स्थापित खानेपानी संस्था २१ वर्षको तन्नेरी भएको छ । हाल कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाको मुटुमा रहेको यो संस्थाको नाम बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा रुपान्तरण भएको छ । चार सय ५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्कीबाट सेवा शुभारम्भ गरेको संस्थाले अहिले क्षमता विस्तार गर्दै दैनिक एक करोड ९३ लाख लिटर गुणस्तरीय पानी चौबीसै घण्टा वितरण गरिरहेको छ । संस्थाको २१औं वार्षिक साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मेघराज बाँस्तोलाले गुणस्तरीय पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
‘स्वच्छ, गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको प्रतिबद्धता’ भन्ने नारा बनाएको संस्थाले आगामी दिनमा उत्पादित पानी चिस्यान गरी जारमा बिक्री–वितरण गर्ने जनाएको छ । आयोजनाको सञ्चालन तथा व्यवस्थापनमा उल्लेखनीय सुधार गरेवापत देशकै उत्कृष्ट खानेपानी संस्थाका रुपमा दुई–दुई पटक पुरस्कृत भएको यो संस्थालाई आफ्नो प्रतिबद्धता पूरा गर्न चुनौती पनि त्यत्तिकै छन् । थोरै जनसंख्या र कम धनत्व भएको अनारमनी अहिले नगरपालिकामा विस्तार भएको छ । साविकका चारपाने, गरामनी र अनारमनी गाउँ विकास समिति मिलाएर बनाइएको बिर्तामोड नगरपालिकाको दश वर्षे सशस्त्र द्वन्द्वका कारण जनसंख्या झनै बढेको छ । सडकहरु स्तरोन्नति भएका छन्, भौतिक संरचना थपिएका छन्, जनसंख्याको अनुपातमा पानी उपलब्ध गराउन कठिन भएको छ ।
भनिन्छ– ‘आवश्यकता आविष्कारकी जननी हुन् ।’ तत्कालीन आवश्यकता पूरा गर्न तीस वर्षअघि स्थापित संस्थाका अघि जनघनत्व, शहरीकरण, सडक, ढल निर्माण तथा स्तरोन्नति र जनसंख्या वृद्धिले चुनौती थपिएको छ । पानी जीवन हो, त्यसैले पानीको शुद्धता र गुणस्तरीयताले मानव स्वास्थ्य निर्धारण गर्छ । विज्ञानका अनुसार पानी हाइड्रोजन र अक्सिजनको यौगिक रुप हो । त्यस्तै पञ्चतत्वविद्हरुले भनेका छन्– पानीमा शीतलता, तरलता, हलुकापन र स्वच्छता जस्ता नैसर्गिक गुणहरु हुनुपर्छ । विश्वमा रहेको पानीमध्ये दुई प्रतिशत मात्रै प्रयोग योग्य छ । त्यसमा पनि ज्यादै थोरै पानी पिउन योग्य छ । बढ्दो जनसंख्यालाई स्वच्छ पानी वितरण विश्वकै लागि चुनौती बनेको छ । यस्तोमा पूर्वी नेपालको अति अव्यवस्थित र उच्च जनसंख्या भएको बिर्तामोडमा स्वच्छ खानेपानीको वितरण संस्थाका लागि चुनौतीसँगै अवसर पनि हो । त्यो चुनौती र अवसरको सामना र सदुपयोग गर्ने क्षमता नेतृत्वलाई प्राप्त होस्– शुभकामना ।