नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट मार्फत २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दुरदर्शन गरे

0
5

काठमाण्डौं । 

महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएको छ । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दुरदर्शन गरेका छन ।

श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।
कोभिड महामारी सुरू हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगञ्ज रुट सुनसान बनेको थियो । जसको सिधा असर नेपालगञ्जको पर्यटन व्यवसायमा परेको थियो ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।
मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । माउन्टेन फ्लाइटकै कारण भारतीय पर्यटकहरू आउँदा नेपालगन्जका सिद्धार्थ लगायतका होटेलहरू भरिभराउ भएका छन् ।

भारतको कर्नाटकादेखि आएकी ३३ वर्षीया अरुणा यनले शिव पार्वतीको ‘घर’ देख्ने बाल्यकालदेखिको सपना पूरा भएको बताइन् । यसैगरी दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले पनि जहाजबाटै कैलाश र मानसरोवर दर्शन गर्ने सौभाग्य पाएको बताए ।

दर्जनौं हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा भारतीय पर्यटकहरू खुशीले चिच्याउँदै ‘हर हर महादेव’ भन्दै थिए । भारतीय ट्राभल कम्पनी ट्रिप टु टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ ।

पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान संचालन गर्ने तयारी भई रहेको पर्यटन व्यवसायी केशव न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here