सैनिकबजारमा ऐतिहासिक सैनिक स्मारक

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

रत्नबहादुर बस्नेत,
बिर्तामोड।

बिर्तामोड नगरपालिका-१० सैनिकबजारमा निर्मित भूतपूर्व सैनिक स्मारकको उदघाटन गरिएको छ।

पूर्व उपप्रधान तथा जलश्रोत मन्त्री एवम् सांसद राजेन्द्रप्रसाद लिङदेनले सैनिकबजार क्याम्पमा भूतपूर्व सैनिकको स्मृतिमा निर्मित सैनिक स्तम्भ अनावरण गर्दै उदघाटन गरेका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले केही ढिलाइ भए पनि सैनिकबजारको इतिहास झल्किने सैनिक स्मारकको निर्माणकार्य सम्पन्न हुनु सबैका लागि खुशी र गौरवको कुरा भएको बताउँदै सैनिकको विकास निर्माणमा सदा आफ्नो साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे।

यसैविच भूतपूर्व सैनिक प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका लोकार्पण गरिएको छ। सैनिक नामाकरण र बसोबासको इतिहास समेटिएको स्मृति ग्रन्थ प्रमुख अतिथि लिङदेन, झापा क्षेत्र न. ३का प्रदेश सांसद छविलाल चुडाल, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, वडाध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्य धनमाया श्रेष्ठ लगायत अतिथिले स्मारिका लोकार्पण गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षता तथा पूर्व उपप्रधान तथा जलश्रोत मन्त्री एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मनु मुखियाले स्वागत गरेकी थिइन्।

संस्थाका सह-सचिव टेकबहादुर देवानले आयव्यसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सदस्य तथा परिकल्पनाकार रिमानध्वज लोक्तामले अौचित्यमाथि प्रकाश पारेका थिए।

नेपाली सैनिकको प्रतिमा रहेको स्मारको लागत १९ लाख २० हजार ६३० रहेको बताइएको छ। शिक्षासेवी स्व. रुपनारायण मुखिया, रिमानध्वज लोक्ताम र पूर्व राष्टिय खेलाडी रामदर्शन गुरुङको परिकल्पनामा स्थानीय सुनिल मुखियाले आफ्नी आमा स्व.सुनिता मुखियाको स्मृतिमा ६ धुर जग्गा प्रदान गरेसँगै भूतपूर्व सैनिक प्रतिष्ठानले वि.स.२०७८ सालमा निर्माणकार्य शुरु गरेको थियो।

निर्माणकार्यमा विकास साझेदारी कार्यक्रम अन्तरगत सांसद लिङदेनबाट ५ लाख, बिर्तामोड नगरपालिकाबाट ५लाख गरि संस्थागतरुपमा १२ लाख र अन्य दाताहरुबाट संकलित रकमबाट निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। २०१९ सालमा स्व.राजा महेन्द्रले २०० भूतपूर्व सैनिकलाई १ हजार विगाह जमिनमा बसोबासको व्यवस्था गरेपछि त्यस क्षेत्रको नामाकरण सैनिक रहेको पाइन्छ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङले राष्ट्रनिर्माणमा नेपाली सैनिकको योगदान तथा भूपू सैनिकको इतिहास उजागर गर्न स्मारकको निर्माण गरिएको बताउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा जग्गा दाता, भूतपूर्व सैनिकका श्रीमती तथा संस्थापक शिक्षक परिवारलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियोे । यसरी सम्मानित हुनेहरुमा जग्गादाता सुनील मुखिया, शिक्षासेवी स्व.नन्दबहादुर देवानकी धर्मपत्नी मनमाया देवान, मदनकुमारी श्रेष्ठ, टंक माया गुरुङ, बेनुमाया राई,विष्णुमाया राई, सावित्रा घिमिरे, मनमाया गुरुङ,कौशिला प्रधान र बलमाया गुरुङ रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि लिङदेन, प्रदेशसभा सदस्य छविलाल चुडाल, बिर्तामोड नगरपालिका प्रमुख प्रसाईं, वडाध्यक्ष गुरुङ, स्थानीय महेन्द्रज्योतिका संस्थापक शिक्षक कृष्ण घलेलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन सचिव चामबहादुर लिम्बूले गरेका थिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here