शनिश्चरेमा भारतीय मगन्तेको बिगबिगीः माग्नेले लाखौं रकम भारत पठाउँदै

0
93

कौशल भण्डारी,
झापा ।

झापाका शहरी क्षेत्रमा भारतीय माग्नेहरूको बिगबिगी बढ्दै गएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेका मगन्तेहरु शहरी क्षेत्रमा प्रशस्त भेटिन्छन् ।

झापाको अर्जुनधारास्थित शनिश्चरे बजार क्षेत्रमा भारतीय माग्नेहरुको एक समूह लामो समयदेखि बस्दै आएको छ । आधा दर्जनभन्दा बढीको संख्यामा रहेका भारतीय मगन्तेहरु चोक–चोकमा माग्न हिँड्दै गरेका भेटिन्छन् । शनिश्चरे बजारमा विभिन्न स्थानबाट आएका उनीहरु घरघर र पसलहरुमा माग्दै हिँड्ने गरेका छन् । माग्ने कामलाई पेशा नै बनाएर उनीहरु नेपाल आउने र महिनामै लाखौं रकम भारत लैजाने गरेको स्थानीयको भनाइ छ ।

अर्जुनधारास्थित शनिश्चरे माविका पूर्व शिक्षक शेखरनाथ अधिकारीले भारतीयहरुले माग्ने कामलाई पेशाकै रुपमा लिएर आउने गरेको बताए । उनले यस्ता माग्नेहरुको ब्यवस्थापनको विषयमा स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले ध्यान दिनुपर्ने बताए । नगरपालिकाले आफ्नो स्थानीय क्षेत्रमा माग्न निषेध गर्न सक्ने अधिकार भए पनि भारतीयहरु खुलेआम रुपमा माग्दै हिँड्दा पनि वास्ता नगरेको उनले गुनासो गरे । उनले भारतीयहरु दिउँसो माग्दै हिँड्ने गरेको बताए । अर्जुनधारा क्षेत्रमा राति चोरीका घटनासमेत बढ्न थालेकाले यसतर्फ सरोकारवालाहरुको ध्यान जानुपर्नेमा उनले जोड दिए ।

माग्नेको समूह भारतीय नै भएको र नेपालकै भए त्यसलाई सम्बन्धित स्थानीय तहले ब्यवस्थापन गर्नुपर्छ, यिनीहरुलाई नियन्त्रण गर्न स्थानीय तह सजग बन्नुपर्छ – अधिकारीले भने ।भारतीयहरु दिनभर माग्दै हिँड्ने र बेलुका भएपछि रकम एमुष्ट गर्दै जम्मा गरेर भारत पठाउने गरेको स्थानीय भानुराज घिमिरेले बताए । उनले भने–केही समय अघिसम्म भारतीयहरुले आफूलाई रकम दैनिक रुपमा राख्न दिएर महिना पुगेपछि एक मुष्ट लाखौं रुपैंयासम्म लैजाने गरेको जानकारी दिए । भारतका विभिन्न स्थानबाट आएका मगन्तेहरुले खुलेआम रुपमा महिनौंसम्म माग्दै हिँड्दा समेत स्थानीय प्रशासनले नदेखेको स्थानीयको भनाइ छ ।

समूह नै भएर माग्ने गरेका कारण आफूहरू वाक्कदिक्क भएको स्थानीयले बताए । सडकमा सर्वसाधारणसँग झुण्डिएर माग्ने मगन्तेहरूले पसलमा आउनेहरूलाई समेत दिक्क लगाएको एक व्यापारीले बताए । मगन्तेहरू विभिन्न बहानामा पसलहरू छिरेर माग्ने गरेको व्यापारीहरू बताउँछन् । पैदलयात्रीलाई पछ्याउने मगन्तेहरु केटाकेटीदेखि वृद्धवृद्धासम्मका झापाका बजारहरुमा बढेका छन् । गरिब भएको पत्र बोकेर माग्दै हिँड्नेमा ससाना बालबालिकासमेत रहेका छन् । दोकानमा दिनमा पाँच पटकसम्म माग्नेले सताएका छन् ।

१६ देखि ६५ वर्षभन्दा माथिका माग्नेहरुको समूहले दिनभरी शनिश्चरे लगायतका बजार क्षेत्रमा दुःख दिने गरेको र साँझ परेपछि मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । माग्ने पनि खाल–खालका छन्– हातमा स्मार्ट मोबाइल फोन बोकेका छन् तर पेशा भने मगन्ते ।

स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले माग्नेहरुको विषयमा चासो दिनुपर्ने र भारतबाट आएका मगन्तेहरुलाई उतै र्फकाउनुपर्ने स्थानीयको माग छ । चाडपर्वको समयमा मानिसको चहलपहल बजारमा धेरै हुने भएकाले चोरीको सम्भावना पनि हुने हुँदा यस्ता माग्नेहरुका विषयमा स्थानीय प्रशासनले सजगता अपनाउनु पर्नेमा स्थानीयले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here