नमूना सामुदायिक वनको “अर्जुनधारा कोसेली घर” सञ्चालनमा

0
60

अमित खम्बू,
अर्जुनधारा।

झापाको अर्जुनधारा–९ र ११स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहले स्थानीय बिहीबारे बजार क्षेत्रमा “अर्जुनधारा कोसेली घर” सञ्चालनमा ल्याएको छ ।

समूहको चालु आर्थिक वर्ष ०८१/०८२को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रमलाई अर्जुनधारा नगरपालिका अन्र्तगतको पशुपन्छी तथा मत्स्य विकास शाखाले प्रबद्र्धन गरेसँगै “अर्जुनधारा कोसेली घर” सञ्चालनमा आएको हो ।

शाखाको सात लाख ५० हजार रुपैयाँ र समूहको एक लाख तीन हजार रुपैयाँसहित जम्मा आठ लाख ५३ हजार रुपैयाँको लागतमा निर्माण भएको कोसेली घरमा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य एवम् दुग्धजन्य सामग्रीहरु बिक्रीका लागि राखिएको छ ।

कोसेली घरमा बिक्रीका लागि राखिएका सामग्रीहरुमा तोरीको तेल, ग्रीन टी, गुन्द्रुक, करेलाको सुकुटी, अचार, मह, दूध, दही, घ्यू, मही, पनिर, लस्सी, पुष्टकारी, बम्बैसन, ललिपप आदि रहेका छन् ।

स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य एवम् दुग्धजन्य सामग्रीहरुको सहजरुपमा बजारीकरण तथा बिक्रीबाट आम्दानीमा वृद्धि गरि रोजगारीको सृजना गर्ने उद्देश्यले कोसेली घर सञ्चालन कार्यक्रमलाई प्रबद्र्धन गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । “यस किसिमको कार्यक्रमबाट अर्जुनधारा नगरपालिकाले लिएको आर्थिक समृद्धिको लक्ष्यमा टेवा पुग्ने छ ।”–उनले दावी गरे ।

झापा जिल्लाकै लोकप्रिय पर्यटकीय क्षेत्र सुखानी शहीद स्मृति उद्यान एवम् विभिन्न धार्मिक मठ मन्दिरहरुको संगम स्थलको रुपमा रहेको त्यस क्षेत्रमा घुम्न तथा दर्शन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि कोसेली घर सञ्चालन कार्यक्रमलाई समूहको नीति तथा कार्यक्रममा उल्लेख गरिएको समूहका अध्यक्ष जागिरमान राईले बताए ।

हाल पर्यापर्यटकीय क्षेत्रको रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको समूहको कार्यक्षेत्रभित्र रहेका ३५ जना महिला उपभोक्ताको समूह गृहिणी आमा समूहले “अर्जुनधारा कोसेली घर” सञ्चालनको जिम्मेवारी पाएका छन् ।

गत असोज १७ गते घटस्थापनादेखि सञ्चालनमा आएको उक्त “अर्जुनधारा कोसेली घर”को आइतबार एक कार्यक्रमकोबीच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले विधिवत् रुपमा उद्घाटन गरेका छन् ।

समूहका अध्यक्ष राईको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम, कार्यपालिका सदस्य नरेन्द्रबहादुर राई, कनकाई सब डिभिजन कार्यालयका सहायक वन अधिकृत यामबहादुर राना मगरलगायतले आफ्नो धारणा राखेका थिए ।

शाखा प्रमुख राईले कोसेली घरको औचित्य र समूहकी कोषाध्यक्ष मीनादेवी कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मोहन चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here