महिला हिंसा अन्त्यको दिवस

0
16

महिलाबिरुद्ध हुने हिंसा अन्त्यका लागि विश्वभर आजदेखि सोह्र दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ । त्यसका लागि सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाज र महिलाकर्मीहरुले अभियान सञ्चालन गर्ने गरेका छन् । प्रत्येक वर्षको नोभेम्बर २५ का दिनदेखि डिसेम्बर १० सम्म विश्वभर अभियानका रुपमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरे अनुसार नेपालमा पनि महिला हिंसा अन्त्यका लागि सचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिँदैछ ।

सोह्र दिने अभियानको उद्देश्य समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई नियन्त्रण गर्नु हो । तर, हामीकहाँ महिला हिंसाका घटनाहरु घट्नुको साटो बढ्दैछन् । हाम्रा प्रत्येक संविधानले समानताको अधिकारलाई मौलिक हकका रुपमा समावेश गरेर सबै नागरिकलाई कानूनको समान प्रयोग प्रत्याभूति गरेका छन् । त्यस्तै महिलाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेर समान अधिकारको प्रत्याभूति गरेको छ । अनि पनि प्रत्येक दिनजसो समाचार पत्र, टिभी, रेडियो लगायतका सञ्चारमाध्यमहरुमा महिलामाथि हिंसा भएका समाचारहरु प्रकाशन तथा प्रशारण भइरहेका छन् । यस्ता घटना नेपालमा मात्र होइन विश्वभरमा दिनहुँ भइरहेका छन् ।

नेपाल मूलतः वेदबाट अनुप्रणित मुलुक हो । वैदिक तथा सिन्धु नदी किनारमा विकसित सभ्यतामा नारीलाई उच्च स्थान दिइएको छ । जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर डुल्छन् भन्ने मान्यता र आदर्श बोकेको नेपाली समाजमा अझै पनि लैङ्गिक विभेद हुनु सुहाउँदो कुरा होइन । त्यसकारण महिलामाथि हुने विभेद, शोषण र हिंसाको अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड–सजायलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । अहिले पनि राजनीतिक दलकै नेता तथा अगुवाहरुका संरक्षणमा रहेका बालिका, किशोरीहरु नै दुव्र्यवहारको शिकार भएका समाचार सार्वजनिक भएका छन् । त्यसकारण पनि आफूलाई नै परिवर्तन गरी महिला हिंसा कम गर्न उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपचारको अनुशरण गर्न राज्य र सम्बद्ध निकाय लागीपर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here