विज्ञान संकायमा प्रदेशकै धेरै बिद्यार्थी मोहनमायाम: यस कारण बढ्यो मोहनमायामा विद्यार्थीको आकर्षण , बार्षिक आम्दानी नै आठ करोड

0
347

सुरेन्द्र भण्डारी
झापा । कोशी प्रदेशका सामुदायिक विद्यालयमा ११ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । त्यसमध्ये ४९ प्रतिशत छात्र र र ५१ प्रतिशत छात्रा रहेको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी प्रदीप गौतमको भनाइ छ । कूल बिद्यार्थी संख्याको ६७ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर बृद्धिका लागि गरिएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कतिपय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार अभावका कारण पनि विद्यालयले धान्न सक्ने विद्यार्थी मात्र भर्ना गर्नका लागि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनौट गर्ने गरेका छन् । जसको उदाहरण झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयलाई लिन सकिन्छ ।

शैक्षिक सत्र २०८१÷०८२ का लागि माध्यमिक तहमा कोशी प्रदेशकै सबैभन्दा बढी विद्यार्थी भर्ना गराएको यो विद्यालयमा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत् छन् । यो शैक्षिक सत्रमा मात्रै यो विद्यालयमा एक हजार नयाँ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । जसका कारण विद्यालयमा दुई सत्रमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । सामुदायिक विद्यालय तर्फ विज्ञान संकायमा कक्षा ११मा प्रदेशकै धेरै २४० जना विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक श्रेष्ठको दावी छ ।


बिद्यालयमा अध्ययनरत् विद्यार्थीमध्ये शैक्षिक सत्र २०८०मा कूल बिद्यार्थी संख्या १५ सय ७५ मध्ये ९५ प्रतिशत अर्थात् १५ सय ३० जना विद्यार्थी सफल भएको उनले बताए । एसईई परीक्षा २०७९को नतिजामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मापदण्ड बमोजिम देशभरका १५ विद्यालयको सूचीमा र कोशी प्रदेशको उत्कृष्ट विद्यालयको सूचीमा मोहनमाया माध्यमिक विद्यालय परेका कारण पनि विद्यार्थीको रोजाई बढेको प्रधानाध्यापक श्रेष्ठले बताए । भौतिक संरचनाको अभाव र विद्यार्थी संख्या अधिक रहेका कारण कक्षा ५देखि ९ सम्म पाँचवटा कक्षा बिहानी सत्रमा सञ्चालन गर्नुपरेको उनको भनाइ छ । विद्यालय व्यवस्थापन, गुणस्तर शिक्षकको उपस्थिति, निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न भाषागत रूपमा समेत यो बिद्यालय अब्बल भएसँगै विद्यार्थीको आकर्षण बढ्दै गएको बताइन्छ ।

त्यसो त एसईई परीक्षा २०८०को नतिजामा समेत देशभरकै उत्कष्ट पाँच विद्यालयको सूचीमा र कोशी प्रदेशमा उत्कृष्ट विद्यालय भएको मोहनमाया माविमा अध्ययनरत् विद्यार्थीमध्ये ३ दशमलव ६ शून्यदेखि ४ जीपीए प्राप्त गर्न ३७ जना बिद्यार्थी सफल भए । कक्षा १२ को नतिजामा समेत कोशी प्रदेशकै उत्कृष्ट दुई विद्यालयको सूचीमा परेसँगै ‘केन्द्रबिन्दु प्लस–टु एजुकेशन एक्सिलेन्स अवार्ड २०७९’ प्राप्त गर्न सफल भयो । अंग्रेजी र नेपाली दुवै माध्यममा पठन÷पाठन हुने यो विद्यालय २०३२ साल पुसमा ‘प्राथमिक केन्द्र ३’ का नाममा स्थापित भएको हो । तत्कालीन बिद्यालय सञ्चालनका लागि चारवटा कक्षा कोठा निर्माण गरिदिने प्रेमबहादुर श्रेष्ठकी माताको नाममा विद्यालयको नामकरण गरिएको बिद्यालयको ५७औं वार्षिकोत्सव कार्यक्रममा चर्चा गरियो । हाल यो विद्यालयमा विज्ञान तथा व्यवस्थापन संकाय सहित प्राविधिक धारतर्फ सीटीइभीटीको तीन वर्षे डीसीई (डिप्लोमा सिभिल इञ्जिनियरिङ) र डीएचई ( डिप्लोमा इन हाइड्रो पावर इञ्जिनियरिङ) समेत पठनपाठन भइरहेको छ । त्यस्तै २०५० सालदेखि कक्षा ५ सम्म सुस्त श्रवण भएका बिद्यार्थीका लागि आवासीय व्यवस्था सहित पठनपाठन हुँदै आएको छ ।

देशकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल यो विद्यालयको सवल पक्ष धेरै छन् । अभिभावकको अटुट साथ र सहयोग, सवल एवम् दक्ष जनशक्तिसहितका शिक्षक–कर्मचारी, विद्यालयको सर्वाेपरी हितमा काम गर्ने व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, दाता र पूर्वविद्यार्थीको सहयोग तथा तीनै तहका सरकारको सहयोगका कारण विद्यालयले सबैको मन जितेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । न्यून दरबन्दी, कक्षा कोठाको अभाव, पर्याप्त खेलमैदानको कमी, फर्निचरको अभाव जस्ता समस्याकाबीच पनि विद्यालयलाई देशकै उत्कृष्ट विद्यालयको सूचीमा सूचीकृत गर्न मोहनमाया सफल भएको प्रधानाध्यापक श्रेष्ठको दावी छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुरुप माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भए पनि न्यून दरवन्दीका कारण अभिभावकसँग सहयोग लिनु परेको उनको भनाइ छ ।

त्यसो त विद्यालयको आम्दानीलाई हेर्ने हो भने यो विद्यालयको वार्षिक आम्दानी आठ करोड माथि छ ।
आर्थिक वर्ष २०८०÷०८१मा कूल आय आठ करोड २७ लाख ७१ हजार एक सय ८३ रुपैयाँ ५६ पैसा आम्दानी र खर्च ६ करोड ८४ लाख ३९ हजार ४ सय ३१ रुपैयाँ रहेको छ । विद्यालयको नगद मौजाद (२०८१ असार मसान्त) एक करोड ४३ लाख ३१ हजार ७ सय ५२ रुपैयाँ ४६ पैसा रहेको छ ।

विद्यालयमा यस्ता छन् नयाँ कार्यक्रम

शैक्षिक गुणस्तरमा सवल र सक्षम रुपमा स्थापित गराउन सफल यो विद्यालयले आर्थिक वर्ष २०८१का लागि शैक्षिक व्यवस्थापन सुधार, सुशासनका क्षेत्रमा सुदृढीकरण गरिरहेको छ । बिर्तामोड नगरपालिकाद्वारा तीनपटकसम्म लगातार उत्कृष्ट भई तीन लाख रुपैयाँ प्राप्त गरेको छ । विज्ञान प्रयोगशालामा ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरी ल्यावको अवस्थालाई सुधार गरिएको छ । टीइसीइस अकरण सीटीइभीटी प्रदेशबाट तीन लाख रुपैयाँ र प्रयोगशाला सुदृढीकरणमा ६ लाख प्राप्त श्रोतले कक्षा व्यवस्थापन गरेको छ ।

श्रोत कक्षा व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाबाट समेत एक लाख रुपैयाँ प्राप्त भएको बताइन्छ । विद्यालयमा गत वर्ष घोषणा गरिएको एक करोड रुपैयाँको अक्षयकोषमा २१ लाख रुपैयाँ जम्मा भएको र पाँच वर्षमा कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यसहित विद्यालय अघि बढेको प्रधानाध्यापक श्रेष्ठले बताए । विद्यार्थी संख्या बढी भएकै कारण दुई सत्रमा पठनपाठन गराउनुपर्ने अवस्था सृजना भएपछि बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेसँगै विद्यालयले १५ लाख थप गरी २५ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माणा प्रक्रिया अघि बढाएको बताइन्छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य हर्कमाया विकको पहलमा शहरी विकास मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भई भवन निर्माणका लागि सम्झौताको चरणमा पुगेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

विद्यालयको वार्षिकोत्सवमा दातालाई सम्मान

विद्यालयले आफ्नो ५७औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट विद्यार्थी सहित २ सय ११ जनालाई सम्मान गरेको छ ।
जसमा दाता, विद्यार्थी र शिक्षक रहेका छन् । २०७४ सालको स्वर्ण महोत्सव तथा विद्यालयको भवन निर्माणमा सहयोग गर्ने ६० जना दाताहरुलाई विद्यालयले सम्मान गरेको हो ।
त्यस्तै गोपालकुमार–रमा बस्नेत अक्षयकोष पुरस्कार ६ जनालाई, गंगादेवी–रंगलाल चिमरिया स्मृति अक्षयकोषबाट २ जनालाई, नैनानन्द–विष्णुमाया संग्रौला अक्षयकोषबाट २ जनालाई, रुपनारायण–पवित्रा तिवारी स्मृति अक्षयकोषबाट २ जनालाई, चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार ११ जनालाई, सुश्री सावित्री बस्नेत अक्षयकोष पुरस्कार १६ जनालाई, राजेन्द्र संग्रौला पुरस्कार दुई जनालाई, मोहनमाया पदक ५६ जनालाई र मोहनमाया विद्या पुरस्कार १४ जनालाई प्रदान गरिएको हो । त्यस्तै तीन जना शिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कारबाट रोहितकुमार गिरी, गोपालकुमार–रमा बस्नेत अक्षयकोष पुरस्कारबाट शौरभ न्यौपाने र सुश्री सावित्री बस्नेत अक्षयकोष पुरस्कारबाट बद्रीप्रसाद न्यौपाने पुरस्कृत भएका हुन् ।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देविका निरौला बस्नेतको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हर्कमाया विकले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री एकराज कार्कीे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, दाताहरु, अभिभावक , विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्काउट सलामी, विज्ञान प्रदर्शनको समेत आयोजना गरिएको थियो । शिक्षक मुकुन्द ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत अनिता कार्की बस्नेतले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here