नक्कली प्रहरीलाई सक्कलीको सलाम !

0
110

झापा ।

प्रहरी निरीक्षकको पोशाक दुरूपयोग गरी प्रहरी निरीक्षक बनेका एक व्यक्तिलाई सक्कली प्रहरीले सलाम गर्ने गरेको खुलेको छ ।

प्रहरीको पोशाक दुरुपयोग गरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापाले सलामी खाने गरेको खुलेको हो । उनी प्रहरी निरीक्षकको पोशाकमै प्रहरी कार्यालय पुग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनी कोटेश्वर प्रहरी प्रभाग र नयाँ वानेश्वर प्रहरी वृत्तमा छिर्ने गरेको खुलेको हो । प्रहरी कार्यालयभित्र छिरेर प्रहरी जवानसंग बस्ने गरेको र तस्वीर समेत खिचेर उनले ठगी गर्ने गरेको जनाइएको छ । नक्कली प्रहरी निरीक्षक थापा सक्कली प्रहरीको सलाम खाँदै हिँड्ने गरेको अनुसन्धानका क्रममा खुलेको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार ठगीमा पर्नेहरुबाट ठगी गर्ने प्रहरी इन्स्पेक्टर भएको र उसले ड्रेसमा नै ठग्ने गरेको जानकारी पाएपछि आफूहरुले अनुसन्धान फराकिलो बनाएको बताए । पीडितको गुनासोका आधारमा एसएसपी भट्टराईले सुदीप वारे अनुसन्धान गर्न कार्यालयको जघन्य अपराध अनुसन्धान गर्ने पिलरलाई निर्देशन दिएका थिए । सामान्यतया कार्यालयले कुन पिलरले कस्तो अपराधको अनुसन्धान गर्ने भन्ने छुट्टै निर्देशिका नै बनाएको छ ।

सोही अनुरुप विभिन्न प्रकृतिका अनुसन्धान छुट्टाछुट्टै पिलरले गर्ने गरेको बताइएको छ । उनीसँगै प्रहरीले सप्तरी कडक नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरीलाई समेत पक्राउ गरेको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरूपयोग गरी नक्कली प्रहरी परिचय–पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो समेत खिची विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्कमा रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

ओखलढुङ्गाका दलवहादुर खत्रीले नक्कली प्रहरी निरीक्षक बनेका थापाले १४ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । दलवहादुरले प्रहरी निरीक्षक नै ठगीमा सम्लग्न रहेको उजुरी लिएर प्रहरी कार्यालय पुगेपछि उजुरी शाखाका कर्मचारी आश्चर्यमा परेका थिए ।

शाखाका प्रहरी अधिकारी पीडितसहित उजुरी दर्ता गर्नुअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईलाई भेटेर उजुरी शाखाका कर्मचारीले रिपोटिङ गरेका थिए । सोही क्रममा पीडित खत्रीले भने यो मलाई ठगी गर्ने इनिस्पेक्टर नै हो सर, इन्स्पेक्टर हुँ भनेको मात्र होइन प्रहरीकै ड्रेसमा मईले भेटेको छु ।

त्यो पनि प्रहरी कार्यालयमै । खत्रीले आफूसंग सुदीपको तस्बीर समेत रहेको बताएका थिए । पीडित खत्रीको गुनासोपछि एसएसपी भट्टराईले अनुसन्धानलाई तीव्रता दिन निर्देशन दिएका थिए । तस्वीर पाएलगत्तै प्रहरीले उनी नक्कली प्रहरी निरीक्षक भएको ठेगान लगाएसँगै उनको खोजी कार्य तीव्र पारेको थियो ।

आफूलाई इन्स्पेक्टर बताउने थापाले प्रहरीको दज्र्यानी चिन्ह नै उल्टो लगाएका थिए । सोही दज्र्यानी चिन्हले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि गर्न प्रहरीलाई सहज भएको बताइएको छ । पीडितले उजुरी दिएको एक साता भित्रमा नक्कली इन्स्पेक्टर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाले खत्रीलाई जस्तै अन्य व्यक्तिहरुलाई समेत ठगी गर्ने गरेको खुलेको छ । थापासहित उनको नक्कली कार्ड वनाउने ४४ वर्षीय चौधरीलाई समेत पक्राउ गरिएको छ । उनीहरुले कोटेश्वरमा मार्सल प्रिन्टिङ प्रेस चलाएर विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रहरी निरीक्षक थाापाले सक्कली प्रहरीलाई समेत झुक्याउँदै हिँडेका कारण पीडितको संख्या अझ बढ्न सक्ने प्रहरीको भनाइ छ । थापामाथि ठगी, किर्ते मुद्दामा अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here