साना किसान सहकारीको डेढ करोडभन्दा बढी रकम अपचलन

0
25

आत्माराम राजवंशी,
गौरीगञ्ज ।

खजुरगाछी साना किसान कृषि सहकारी संस्थाको कर्मचारीबाट संस्थाको रकम अपचलन गरेको पाइएको छ । झापाको गौरीगञ्ज–६ स्थित खजुरगाछीमा रहेको उक्त संस्थाको डेढ करोडभन्दा बढी रकम अपचलन भएको हो ।

संस्थाका व्यवस्थापक ओमप्रकाश ताजपुरिया र सहायक कर्मचारी तारा खतिवडाले रकम अपचलन गरेको आ.व. २०८०/०८१को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरेको पाइएको छ । संस्थाका व्यवस्थापक ताजपुरियाले विभिन्न समयमा संस्थाका १० जना सदस्यहरुको नाममा १८ वटा काल्पनिक ऋणी खडा गरी रु. ८९ लाख ८५ हजार ५ सय ७४ रुपैयाँ ऋण लगानी गरी संस्थाको रकम जानीबुझी दुरुपयोग गरेको लेखा प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सहायक कर्मचारी खतिवडाले संस्थाका १० जना सदस्यहरुको नाममा १८ वटा काल्पनिक ऋणी खडा गरी रु. ६७ लाख ५६ हजार २ सय ६७ रुपैयाँ रकम दुरुपयोग गरेकी छन् ।

व्यवस्थापक ताजपुरिया र खतिवडालाई संस्थाको सञ्चालक समितिले मिति २०८१ साल असोज १३ गते रकम दुरुपयोग सम्बन्धमा स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा व्यवस्थापक ताजपुरियाले दुरुपयोग रकम सम्बन्धमा आफूले अपचलन गरेको स्वीकार गरेका थिए । उक्त रकम स्पष्टीकरण अगावै दुरुपयोग गरेको रकम मिलान गरेका थिए भने सहायक कर्मचारी खतिवडाले दुरुपयोग गरेको रकमको आंशिक रुपमा नगद तिरेका थिए भने बाँकी रकम निजकै सासुको नामको जग्गा नियमानुसार धितो राखी स्पष्टीकरण अगावै ५४ लाख रुपैयाँ दुरुपयोग रकम मिलान गरेका थिए ।

संस्थाका अध्यक्ष डिककुमारी अधिकारीका अनुसार कर्मचारीले सञ्चालक समिति र कर्जा उपसमितिलाई थाहै नदिई २०७५ सालदेखि नै नक्कली ऋणी खडा गरी पटक–पटक कर्जा लगेको बताइन् । धेरैजसो कर्जा लगानीका निर्णयहरु सञ्चालक समितिलाई जानकारी हुने नगरेको, कतिपय लगानी कर्जा उपसमितिकै तहबाट हुने गरेको देखिएकोले समस्या आएको अध्यक्ष अधिकारीको भनाइ छ ।

व्यवस्थापकलाई कार्यालयबाट सम्पादन हुने हरेक आर्थिक र प्रशासनिक कामको रेखदेख, निरीक्षण, अनुगमन, निर्देशन, नियन्त्रण र सञ्चालक समितिसँगको समन्वयमा गर्नुपर्ने कुराको आधारभूत दायित्व रहेको हुन्छ । तर, कर्जा समितिले सिफारिस गरे बमोजिमको रकम सञ्चालक समितिबाट अनुमोदन वा स्वीकृत नगराई लगानी हँुदा समेत नियन्त्रण नगरी एकमुष्ट रुपमा ठूलो रकमको लगानी कर्जा अनुमोदन गरियो भन्ने निर्णय लेखी सञ्चालक समितिबाट प्रमाणीकरण नगरी कर्जा प्रवाह गरेको पाइएको छ ।

ऋण लगानी गर्दा तयार गर्नुपर्ने केही तमसुकमा ऋणीको हस्ताक्षर, आंैठाछाप तथा साक्षीहरुको हस्ताक्षर नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । ऋण माग फारममा ऋण माग, ऋण बुझेको अभिलेख समेत नभएको पाइएको छ । सञ्चालक समिति, लेखा समिति र कर्जा उपसमितिका सदस्यहरुले संस्थाबाट लिएको कर्जाको विवरण चौमासिक रुपमा सम्बन्धित नियामक निकायमा पेश नगरेको पाइएको छ ।

यसैविषयमा गतपुस २० गते शनिवारका दिन गौरीगञ्ज–६स्थित खजुरगाछी माध्यमिक विद्यालयमा १०औं साधारणसभामा खैलाबैला मच्चिएको थियो । निज कर्मचारीहरुले शेयरधनीहरुसँग माफी माग्दै आइन्दा आफूहरुबाट यस्तो गल्ती नहुने बताएका थिए ।

निज कर्मचारीहरुको राजीनामा माग गर्दै उनीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्ने सहभागी शेयर सदस्यहरुले माग गरेका छन् । राजीनामा नदिए र कार्वाही नभए सबै शेयरधनीहरुले आफूले संस्थामा गरेको लगानी रकम झिक्ने समेत बताएका थिए । शेयरधनीहरुले निज कर्मचारीहरुको राजीनामा सञ्चालक समितिले स्वीकृत नगरी हालसम्म हाजिरी गराएको र कारर्वाही नगरेको भन्दै सभाबाट बाहिरिएको एक सहभागी शेयर सदस्यले बताए ।

सर्वसाधारण वचतकर्ताको रकम हिनामिना गर्ने र रकम अपचलन गरी दुरुपयोग गर्ने जोसुकैलाई सहकारी विभागको नियमानुसार कानूनी कारर्वाही हुनुपर्ने शेयर सदस्यहरुले बताएका छन् । संस्थामा कूल सदस्य संख्या ७ सय ९९ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here