कृषिथोक बिर्तामोडमा गैरकृषिजन्य वस्तुको खुलेआम कारोवार

0
1

झापा ।

झापाको बिर्तामोड नगरपालिका –५ मा रहेको कृषि थोक वजार परिसरभित्र ३ सय ४६ वटा पसल छन् । जुन पसलमा कृषिजन्य बस्तुको मात्रै कारोवार गर्नुपर्ने हुन्छ । तर, यहाँका केही पसलमा गैरकृषिजन्य वस्तुको कारोवार हुँदा समेत नियमनकारी निकाय सहित कृषि थोक बजार व्यवस्थापन समिति मौन देखिएको छ ।

गत बैशाख ६ गते कृषि विभाग हरिहर भवन पुलचौक ललितपुरले कृषिथोक बजार परिसरभित्र रहेका गैरकृषिजन्य सामग्रीको कारोवार हटाउन निर्देशनात्मक परिपत्र गरेको थिए । कृषि थोक बजार ब्यवस्थापन समितिलाई पत्राचार गर्दै विभागका उप महानिर्देशक डा. अरुण काफ्लेले गैरकृषिजन्य सामग्रीको कारोवार हटाउन निर्देशन दिएका थिए । तर अहिलेसम्म कृषिथोक बजार परिसरमा रहेका केही पसलले त्यस्ता सामग्री हटाएका छैनन् ।

नितेश चौधरी र लालवावु साहको रोहवरमा लिखित कवुलियतनामा कागज गरेपनि बिर्तामोड –५ का इन्द्रजीत चौधरीले गैरकृषिजन्य व्यापार हटाएका छैनन् । उनले गैरकृषिजन्य बस्तुको व्यापार हटाउने भनी २०७९÷फागुन १० गते कवुलियत गरेको र चैत १० गतेसम्ममा गैरकृषिजन्य बस्तु अनिवार्य हटाउने भन्दै लिखित कागज गरेका थिए । तर, उनले हालसम्म गैरकृषिजन्य बस्तु नहटाएको भन्दै अन्य व्यवसायीले दुखेसो पोखेका छन् । उनले आफ्नो नाममा रहेको सेक्टर इ को स्टल नम्वर ८१ बाट गैरकृषि बस्तु हटाउने प्रतिवद्धता सहित वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई समेतको रोहवरमा कवुलियतनामा कागज गरेका थिए ।

उनी जस्तै गोपिचन्द्र गिरी र नुरमहमद मियाको रोहवरमा लालबावु साहलेसमेत गैरकृषिजन्य सामग्री हटाउने भन्दै लिखित कागज गरेका थिए । उनले समेत हालसम्म गैर कृषिजन्य सामग्री हटाएका छैनन् । सेक्टर इ को स्टल ३८ मा उनले अहिलेपनि गैर कृषिजन्य वस्तुको खुलेआम कारोवार गरिरहेका छन् । २०७९ फागुन महिनामा लिखित कागज गर्दै उनले पनि २०७९ चैत १० गतेभित्र आफ्नो स्टलबाट गैरकृषिजन्य वस्तु हटाउने प्रतिवद्धतासहित कागज गरेका थिए । तर, कार्यान्वयन नगर्दा खुलेआम कृषि थोक बजारमा गैरकृषि सामग्रीको विक्री बितरण भइरहेको छ ।

कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले कृषि थोक वजार बिर्तामोडका केही स्टलहरुमा विगतदेखि नै कारोवार हुँदै आएका गैर कृषिजन्य वस्तु हटाई कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ को अधिनमा रही कार्यविधिले निर्दिष्ट गरेका कृषिजन्य वस्तुको मात्र कारोवार गर्न गराउन बजार व्यवस्थापन समितिलाई निर्देशन दिएको थियो । तर, बजार व्यवस्थापन समितिले हालसम्म विभागको निर्देशन पालना गरेको छैन ।

त्यस्तै कृषिथोक बजार व्यवस्थापन समितिका केही स्टल लिई व्यवसाय गरिरहेका गैर नेपालीहरुलाई हटाएर कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ को अधिनमा रही विधिसम्मत रुपमा गर्न गराउन निर्देशन गरिएको थियो । बजारभित्र भाडा वा बिनासम्झौता सञ्चालन भएका मासु पसलका सम्वन्धमा पनि विधिसम्मत रुपमा स्टल वितरण गरी सञ्चालनको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिइएको थियो ।

अध्यक्ष ओलीमाथि पनि अनियमितताको आशंका

कृषिथोक बजार व्यवस्थापन समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण लगायत सामान खरिदमा समेत अनियमितता र अपचलन गरेको भन्दै छानविन शुरु भएको छ ।

कृषि ज्ञान केन्द्र झापाले गत कात्तिक २० गते कृषि बजार व्यवस्थापन समितिलाई पत्राचार गर्दै कागजात उपलब्ध गराउन माग गरेको हो । बजार समितिको कार्यालय सञ्चालनका लागि कोठा निर्माण गर्दाको मितिबाट भएका निर्णयसहित सूचना प्रकाशनदेखि सम्पूर्ण कागजात माग गरिएको हो । ज्ञान केन्द्र प्रमुख सागर विष्टले एसी खरिद प्रक्रियाका सबै कागजात, बील सहित कृषिथोक बजारले कोठा भाडामा लगाउन गरेका व्यवस्थापन समितिको निर्णयसमेत माग गरेका छन् ।

त्यस्तै कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओली काठमाडौं लगायतका अन्य ठाउँमा जाँदाको आतेजाते खर्च सम्वन्धी कागजातसहित विभिन्न आठ शीर्षकमा सबै कागजात उपलब्ध गराउन माग गरिएको छ । जसको वोधार्थ जिल्ला प्रशासन कार्यालय झापालाई दिइएको छ ।

पौडेलको ध्यानाकर्षण

कृषिथोक बजार व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कमलप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेको पत्रलाई आधार मान्दै यसअघि पूर्वाञ्चल दैनिकले कृषिथोक बजार व्यवस्थापन समितिका पूर्ब अध्यक्ष पौडेलका विषयमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएलगत्तै पौडेलले विज्ञप्ति जारी गर्दै शौचालय निर्माणका क्रममा भ्रष्टाचार नभएको र विधिसम्मत काम गरिएको जनाएका थिए ।

कृषिथोक बजार व्यवस्थापन समितिको नाममा अख्तियारको कार्यालयबाट अति गोप्य आएको पत्रलाई सार्वजनिक गर्दै आफ्नो नाम मुछेको भन्दै पौडेलले आपत्ति जनाएका छन् । उनले शौचालय निर्माणका क्रममा स्वीकृत बजेट अनुसार नै काम भएको दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here