सुनिता राई,
इलाम ।
इलाम चौंथो साहित्य महोत्सव आउँदो चैत्र १ र २ गते हुने भएको छ । साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रवर्द्धन गर्दै इलामको साहित्यलाई देश विदेशमा चिनाउने उद्देश्यका साथ साहित्य महोत्सवको आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
साथै कार्यक्रममा आयोजकले लोगो समेत सार्वजानिक गरेको छ । पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारत, भियतनाम लगायत विभिन्न युरोपियन देशका चर्चित साहित्यकारहरूको उपस्थिति रहने आयोजक इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले बताउनुभयो ।
साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि चौंथो संस्करणको महोत्सव हुन लागेको हो ।
यसअघि २०७६ सालमा प्रथम इलाम साहित्य महोत्सव सञ्चालन भएको थियो । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुन लागेको इलाम साहित्य समाजका सचिब रोशन राईले जानकारी दिनुभयो ।
यस महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरू, चर्चित राजनितिज्ञहरुको पनि उपस्थिति रहनेछ । महोत्सवमा बिभीन्न विषयमा छलफल र बहस हुनेछ । यस्तै सिक्कीमका पुर्ब मुख्यमन्त्री पवन चाम्लिङ संगको राजनितिक बहस समेत रहनेछ ।
खर्चअनुमान करिब साढे २२ लाख रुपैयाँ खर्च लाग्ने यस साहित्य महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकले लिएको अध्यक्ष थाम्सुहाङले बताउनुभयो । महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ ।