बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माणको आवश्यकता कसरी महशुस गर्नुभयो ?
– बिर्तामोडमा हालसम्म एउटा पनि गायत्री माताको मन्दिर नभएको तथा जग्गादाता र अन्य दाताहरुको इच्छाका कारण यस नगरपालिकामा पहिलो गायत्री माताको मन्दिर बनायौं । गायत्री माताको स्मरण, ध्यान र उपसनामा आम भक्तजनको सहजताका लागि यो मन्दिर निर्माण गरिएको हो । माताको कृपाले झापाको बिर्तामोडस्थित शनिश्चरे रोड, बालाजी टोलमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न गरिएको सहर्ष जानकारी गराउँदछौं । साथै यो झापाकै चौथो गायत्री माताको मन्दिर भएको पनि जानकारी गराउँदछु ।
गायत्री माताको मन्दिर निर्माणको शुरुवात, लागत र दाताहरु बारे बताइदिनुस् न ।
– स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा झण्डै अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । २०८० साल जेठ १७ गतेबाट निर्माण प्रारम्भ भएको थियो ।
मन्दिरको उद्घाटन कसरी गर्दै हुनुहुन्छ ?
– यही माघ १७ देखि २१ गतेसम्म माता गायत्रीको पाँच दिवसीय अनुष्ठानका साथ प्राणप्रतिष्ठा गर्न लागिएको यहाँहरुलाई जानकारी गराउँदछौं । माता गायत्रीको आगामी माघ २१ गते नवनिर्मित मन्दिरमा विधिपूर्वक प्राणप्रतिष्ठा गरिने छ । सो दिन बिहान ८ः३० बजे मन्दिर परिसरबाट शोभायात्रा र त्यसपश्चात कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको बाहुलीबाट मन्दिरको प्राणप्रतिष्ठा गरिने कार्यक्रम तय भएको छ ।
शोभा यात्रा कसरी हँुदैछ ?
– यो शोभा यात्रा बृहत गर्ने हाम्रो तयारी छ । विभिन्न जातिका झाँकी, समुदाय, संस्थाबाट व्यानर र पोशाकसहित सहभागिता रहने छ । मन्दिर परिसरबाट शुरु हुने शोभायात्राले बिर्तामोड बजार परिक्रमा गर्नेछ ।
शोभा यात्रामा कति संस्थाको सहभागिता रहने छ ?
– यो सबैको आस्था र साझा सम्पत्ति भएकाले हजारौंको सहभागिताको अपेक्षा गरिएको छ । ५० बढी संस्थाले व्यानरसहित आउने प्रतिबद्धता जनाउनुभएको छ । सुरक्षा निकाय, खेलाडी, स्काउट, विद्यार्थी, पेशाकर्मीहरु, महिला आमा, दिदी, बहिनीहरु, युवा साथीहरु, धर्मप्रेमीहरु, बिर्तामोडबासीको बृहत सहभागिता रहने छ ।
१७ गते अनुष्ठान शुरु गर्दै हुनुहुन्छ । कसरी हँुदैछ शुरुवात ?
– माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा कलश एवम् निशान यात्रा प्रारम्भ गरिने छ । १७ गते बिहान ८ः०० बजे बालाजी मन्दिर, अग्रसेन भवन परिसरबाट निशान यात्रा गरिने छ । बिर्तामोड परिक्रमा पछि मन्दिर परिसर पुगेर अनुष्ठान शुरु गरिने छ ।
अन्य आकर्षण के छ कार्यक्रमको ?
– माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजजीबाट विशेष प्रवचन साँझ ६ः४५ बजेदेखि गरिने छ । यसका अलावा पाँच दिनसम्म मन्दिर परिसरमा निरन्तर साँझ ६ः४५ बजेदेखि दैनिक भजन कीर्तन तथा महाप्रसाद वितरण गरिने छ । साँझ दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने छ ।
भजन कीर्तनका लागि कलाकारहरु मुख्यतः को–को आउदैहुनुहुन्छ ?
– भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरजसिंह राजपुत र नेहासिंह राजपुत लगायत आउनुहुनेछ । त्यसका अलावा स्थानीय भजन मण्डलीद्वारा भजन कीर्तन गरिने छ । मन्दिर परिसरमा पाँच दिनसम्म हरिद्धार र शान्ति कुञ्जबाट आउनुहुने गुरुजनहरुले बिहान ८ः०० बजेदेखि राति ८ः०० बजेसम्म विभिन्न कार्यक्रम गर्नुहुनेछ । दैनिक हवन हुनेछ ।
यति भव्य कार्यक्रमको सुरक्षा व्यवस्था तथा यातायात व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
– सुरक्षा व्यवस्थापनका लागि जिल्लाको सुरक्षा निकायलाई आग्रह गरेका छौं । झापाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायसँग छलफल भएको छ । पार्किङका लागि पर्याप्त ठाउँ तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा स्काउटले पार्किङ व्यवस्थापनमा सहजीकरण गर्नुहुनेछ ।
गायत्री माताको महत्वबारे तपाईंको बुझाई के छ ?
– मैले यस विषयमा धेरै व्याख्या गर्न नसके पनि मेरो अध्ययन र गुरुहरुबाट सुने अनुसार वैदिक सनातन र हिन्दू धर्म अन्तर्गत गायत्री माताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई बेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ । ऋषि बिस्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्त गरी प्रचलनमा ल्याउनुभएको र आजपर्यन्त गायत्री मन्त्रको जप गरिन्छ । ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पूरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ ।
यो मन्दिरको निर्माणमा मारवाडी समुदायको अगुवाई देखिन्छ । सबैको साझा बनाउने र व्यवस्थित सञ्चालनबारे के सोच्नु भएको छ ?
– एकदमै महत्वपूर्ण र मैले स्पष्ट पार्नै पर्ने विषयमा प्रश्न गरिदिनु भयो । अगुवाई हामीले मात्र गरका छैनौं, मन्दिर क्षेत्रका स्थानीय वासिन्दाको ठूलो योगदान छ । फेरि बिर्तामोड नगरपालिका र प्रदेश सरकारको पनि लगानी छ । बिर्तामोड–५ का वडा अध्यक्षदेखि सबै जनप्रतिनिधि तथा वडाबासीको साथ छ । हामीले निर्माण अवधिका लागि काम ग¥यौं, यो पूरा भएको छ । अब यो सबैको साझा मन्दिर हो । मन्दिरमा दैनिक पूजाआजाका लागि पुजारीको व्यवस्था गरिने छ भने सधैँ सबैका लागि यसको ढोका खुल्ला रहने छ । स्थानीय अगुवाहरु तथा भक्तजनको सहभागितामा व्यवस्थापन तथा सञ्चालक समिति बनाएर यसका संरक्षण, व्यवस्थापन तथा सञ्चालनको जिम्मा लगाउने छौं । त्यसैले यो सबैको साझा आश्थाको केन्द्र र सम्पत्ति हो ।
तपाईं व्यवसायमा सक्रिय, अझ युवा उमेरको मान्छे मन्दिर निर्माण जस्ता धार्मिक कार्यको अगुवाईको अवसर कसरी जु¥यो ?
– म व्यवसाय सँगसँगै सकेको सामाजिक काम र सेवाका कामहरु पनि गरिरहेको छु । गायत्री माता मन्दिरको निर्माण र यो अनुष्ठानको अगुवाई गर्ने अवसर भनेको माताको कृपा र दाताहरुको आशीर्वाद नै हो । यो अवसरलाई मैले जीवनकै ठूलो उपलब्धी महशुस गरी प्राप्त जिम्मेवारीलाई सबैको साथले समयमा नै पूरा गरेको छु । प्राण प्रतिष्ठापछि यसको आयव्यय सार्वजनिक गरेर मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिलाई नै सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेछौं ।
अन्त्यमा ?
– बिर्तामोड नगरमै पहिलो यस गायत्री माताको मन्दिर तथा मूर्तिको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको हुँदा उक्त सबै कार्यक्रममा यस क्षेत्रका सबै संस्था तथा समुदायलाई सपरिवार समुपस्थितिका लागि सादर अनुरोधसहित हार्दिक निमन्त्रणा गर्दछु ।