तरकारी खेती गर्ने कृषकलाई मल्चिङ प्लास्टिक

0
13

कनकाई ।

झापाको कनकाई–७ ले वडामा तरकारी खेती गर्ने कृषकलाई मल्चिङ प्लास्टिक वितरण गरेको छ ।

वडा कार्यालय परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी यहाँका तरकारी खेती गर्ने ३ जना कृषकलाई मल्चिङ प्लास्टिक वितरण गरिएको हो । व्यवसायिक तरकारी खेती गर्दै आएका नरहरि शिवाकोटी, लाखबहादुर तामाङ र भक्त तामाङलाई ३÷३ रोलका दरले मल्चिङ प्लास्टिक वितरण गरिएको हो ।

एक रोलले ३ कठ्ठासम्म माटोलाई कबर गर्न सक्ने मल्चिङ प्लास्टिक प्रयोग गर्नाले उत्पादन बढाउनुका साथै लागत घटाउने, घाम–पानीबाट बचाई माटो चिस्यान राख्न मद्दत पुग्ने आवश्यक बस्तु रहेको नगर कृषि अधिकृत यदुकुमार उप्रेतीले बताए । उनले पछिल्लो समय युवावर्ग विदेशिने अनि गाउँघरमा ज्येष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा युवालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न लागीपरेको बताए ।

यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले कृषि उत्पादनमा नै जोड दिँदै नगरका सबै वडालाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकामा सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेको छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको नगर प्रमुख पोखरेलले बताए ।

यता वडा कार्यालयले अतिविपन्न घर–परिवारलाई विद्युत्को मिटर बक्स निरन्तर वितरण गरेको वडाध्यक्ष भीष्मभूषण सिटौलाले बताए । उनले पछिल्लो समय सीमित स्रोतसाधनले पनि वडाबासीलाई सन्तुलनमा राखेर विपन्नलाई उपचारका लागि भन्दै वडाले ५ हजारका दरले औषधि उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनले तीन हजारभन्दा माथि जनसंख्या तथा ११ सय ९४ घर धुरी रहेको वडाले पहिलो प्राथमिकतामा कृषक, ज्येष्ठ नागरिक, गरीब तथा विपन्न, महिला, बिद्यार्थी, युवालाई समेटेर बजेट बिनियोजन गरेसँगै स्वरोजगार बन्दै जाने वातावरण मिलाउँदै आएको जिकिर गरे ।

वडामा कृषि, स्वास्थ्य, शिक्षा, युवा, महिला, दलित, बालबालिका सबै क्षेत्रमा समान व्यवहार गर्दै कामलाई अगाडि बढाउँदै गएको वडासदस्य निर्मल आङ्थुपोले जानकारी दिए । त्यस्तै, कृषकहरुलाई मल वीऊविजन वितरण, ज्येष्ठ मातापितालाई सम्मान, आय–आर्जनमुलक महिलाहरुका लागि तालिम, विद्यार्थी लक्षित कम्प्युटर तालिमका लागि बजेट छुट्याइएको वडासदस्य अरुणा सुब्बाले जानकारी दिइन् । युवाहरूका लागि ड्राइभिङ्ग तालिम चलिरहेको युवतीका लागि पार्लर तालिमको काम आयोजना गर्न लागेको वडा सदस्य सुब्बाले बताइन् ।

वडाले महिला, दलित, अल्पसंख्यक तथा पिछडिएको वर्गका लागि सिपमूलक तालिम दिएको वडाध्यक्ष सिटौलाले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष सिटौलाले कृषि अधिकृत उप्रेती, वडासदस्य भगवान टुडू, सचिव तुलसा थापा लगायतले मल्चिङ प्लास्टिक वितरण गरेका थिए ।

यसैबीच नगरका सबै वडामा सिञ्चाइ सुविधा बढाउन नगरपालिकाले कृषि औजार वितरणका लागि कृषकसँग निवेदन माग गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै कृषकसँग निवेदन माग गरेको हो । कृषकले फागुन ४ गतेसम्म निवेदन दिन सक्न बताइएको छ । प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदान कार्यक्रम अन्तर्गत मकैखेती प्रबद्र्धन कार्यक्रमका लागि कृषकसँग ५० प्रतिशत लागत सहभागितामा निवेदन माग गरिएको नगर कृषि शाखाले जनाएको छ ।

नगरपालिकाले लागत सहभागितामा सिञ्चाइ मोटर, मकै छोडाउने मेसिन र मकै रोप्ने मेसिन वितरण गर्न लागेको हो । निवेदनसहित कृषकले नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, जग्गा धनीपुर्जाको प्रतिलिपि/लिजमा लिएको कागजात, ऐलेनी जग्गाको हकमा नगरपालिकाबाट प्राप्त निस्सापत्रको प्रतिलिपि, आव २०८१/०८२सम्म नगरपालिकामा बुझाउनुपर्ने मालपोत, भूमिकर, सम्पतिकर तिरेको प्रमाणित बिल हुनु पर्नेछ ।

नगरपालिकाले हेफर प्रोजेक्ट, अभियान नेपाल र कारितास नेपालसँगको सहकार्यमा कृषकहरुका लागि वीऊमा अनुदान, विषादिमुक्त खेतीमा जोड, स्प्रे ट्यांकी वितरण, धानको बीऊ, उत्पादन पचास प्रतिशत अनुदान दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here