बिर्तामोड, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव विशेष कार्यक्रम गर्दै मनाएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सहकारीले रजत महोत्सव मनाएको हो ।
नेपालका सहकारीहरु मध्ये ‘उत्कृष्ठ १०’मा पर्न सफल यो सहकारी कोशी प्रदेशमा रहेका सहकारी मध्ये तेस्रो ठूलो सहकारी रहेको हो । सहकारीले रजत महोत्सवका अवसरमा संस्थापक सञ्चालक अध्यक्ष कमलबहादुर बस्नेतसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई सोही अवसरमा दश हजार रुपैयाँ पुरस्कार राशि सहित सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्की तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।
सम्मानित वस्नेतलाई नगद २५ हजारसहित सम्मान गरिएको हो । उनी हाल सिम्रिक सहकारीका कार्यकारी प्रमुख छन् । त्यस्तै, प्रारम्भिक शेयर सदस्य, पूर्वसत्तचालक र पुराना कर्मचारीलाई सम्मान गरिएको छ ।
पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाई समेत सम्मान गरिएको छ ।
संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका नौजना कर्मचारीलाई सम्मान गरिएको हो । डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मान गरिएको हो ।
त्यस्तै, राष्ट्रियस्तरको भेट्रान बुद्धिचाल विजेता संस्थाका सञ्चालक समिति सदस्य दिलकेशर थापालाई पनि सम्मान गरिएको छ । विभिन्न समयमा भएका फुटसल, हाजिरीजवाफ प्रतियोगितामा विजेता उपविजेतालाई पनि सम्मान गरियो ।
त्यस्तै, संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर उत्कृष्ट कारोबार गर्ने २५ जना सम्मान गर्नुका साथै उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले रजत महोत्सव कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए भने संस्थाको कार्यप्रगतिको वृत्तचित्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए भने संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत मन्तव्य तथा सदस्य दिलकेशर थापाले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्ना शेयर सदस्यका लागि आर्थिक वर्ष २०८१÷०८२ को माघ मसान्त भित्रमा दुई करोड २२ लाख १० हजार एक सय २६ रुपैयाँ रकम विभिन्न शीर्षकमा वितरण गरेको जानकारी दिइयो ।
जसमा सदस्य विरामी हुँदा विशेष उपचार सुविधा, साधारण उपचार सुविधा, मृत्यु राहत तथा सामाजिक उत्तरदायित्व, सुत्केरी सुविधा, कर्जा मिनाह, ज्येष्ठ शेयर सदस्य भत्ता वितरण, छात्रवृत्ति लगायत छन् । यसैबीच सहकारीले रजत वर्ष स्मारिका समेत बिमोचन गरेको छ । सो स्मारिका प्रमुख अतिथि कार्की सहित संस्थाका अध्यक्षले संयुक्त रुपमा विमोचन गरेका थिए ।