तेस्रो यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक

0
18
अर्जुनधारा, झापाको अर्जुनधारा–८स्थित शनिश्चरे फुटबल क्लबको आयोजनामा गत माघ २०देखि २८ गतेसम्म सञ्चालन भएको तेस्रो यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको आय–व्यय विवरण आइतबार एक कार्यक्रमकोबीच सार्वजनिक गरिएको छ ।
क्लबको कार्यालयमा प्रतियोगिता आयोजक समितिका संयोजक एवम् क्लबका सल्लाहकार टेकराज तिलिङको अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संयोजक तिलिङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार प्रतियोगिताको जम्मा आय सात लाख ८९ हजार एक सय ८६ रुपैयाँ, जम्मा व्यय पाँच लाख ६६ हजार छ सय ८० रुपैयाँ र जम्मा बचत दुई लाख २२ हजार पाँच सय छ रुपैयाँ रहेको छ । बचत भएको रकममध्ये ५० हजार रुपैयाँ क्लबले स्थापना गरेको अक्षयकोषमा जम्मा गरिने संयोजक तिलिङले जानकारी दिए । यस अघि अक्षयकोषमा एक लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
त्यसैगरी प्रतियोगिताबाट छनौट भएका २५ जना खेलाडीका लागि विभिन्न समयमा आयोजना हुने प्रतियोगिताहरुका लागि तयारी कार्यक्रम अनुसार तीन महिना प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, क्लबलाई आवश्यक सामग्रीहरु खरिद गर्ने आदि कार्यमा बाँकी बचत भएको रकम लगानी गरिने बताइएको छ ।
त्यस्तै भविष्यमा खेलाडी उत्पादन गर्ने उद्देश्यले बालबालिकाहरुको लागि हप्तामा एक–दुई पटक ग्रासरुट फुटबल सञ्चालन गर्ने क्लबको लक्ष्य रहेको छ । “स्थानीयस्तरमा फुटबल खेलको प्रबद्र्धनसँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको भूमिका संरक्षकको रहनुपर्छ भन्ने हाम्रो चाहना हो”–सल्लाहकार तिलिङले स्पष्ट पारे ।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सल्लाहकार वीरबहादुर राई, प्रशिक्षक पूष्प मादेनलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव हरि गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here