रविकिरण वान्तवा
कुरा केही बर्ष अगाडिको हो । राष्ट्रिय महिला टिमकी दुई खेलाडी जो देशको लागि खेलिसकेपछि पनि काठमाण्डौमा बाच्न र फुटबल प्रतिको लगावका कारण संघर्ष गरिरहेका थिए । निश्चित पैसाको दायरा भित्र रहेर राजधानीबाट सपना साकार गर्नु थियो उनीहरुले । त्यसैले दुबै जना एउटै डेरामा बस्न थाले । बर्षातको समयमा टिनको छानाबाट पानी चुहिएर उनीहरुलाई गाह्रो पाथ्र्यो ।
एक दिन श्रीलंकन राष्ट्रिय महिला टिमकी खेलाडी साथीले भिडियो कल गर्दै राज्यले आफूहरुलाई फ्ल्याट दिएको समाचार सुनाउँछिन् र नेपालकी ती दुई खेलाडी मित्रहरुको पनि फ्ल्याट हेर्ने इच्छा गर्छिन् । तर, यताबाट आफूहरु महलमा भएको बहाना गर्दै डिस्कनेक्ट हुन्छिन् उनीहरु ।
संघर्षको त्यो दौडानमा भविष्यको संरचनाहरु अन्धकारमय हुँदै गरेको उनीहरुले महसुस गरिरहेका थिए । राष्ट्रिय खेलाडी मात्र भएर के गर्नु पारिवारिक जिम्मेवरीको भार थियो । गाउँ समाजमा आफ्नो अस्तित्वको जग मजबुत बनाउनु पनि थियो । राज्यले राष्ट्रिय खेलाडीहरुलाई गम्भिरताका साथ नलिइदिदा धमाधम खेलाडीहरु बिदेश पलायन भैरहेका थिए । त्यही समय सेकुरेटी गार्डको रुपमा खाडी मुलुकको मार्ग रोज्न पुगिसकेका ती दुई महत्वपूर्ण खेलाडीहरु थिइन्, सावित्रा भण्डारी साम्बा र एन्जिला अर्थात अञ्जिला तुम्बापो सुब्बा । भाग्यवस उनीहरुले त्यो मार्ग हिड्नु परेन ।
माथि उल्लेखित घटनालाई फिल्म अञ्जिलामा राख्न चाहेर पनि खिच्न मन नलागेको अनुभव निर्देशक चाम्सले यूकेमा फिल्म प्रिमियर गर्न पुगेको बेला एउटा पोटकास्ट कार्यक्रम मार्फत खुलासा गर्नु भएको थियो । कप्तान एन्जिलाको भोगाइहरु कुनै फिल्मको काहानी भन्दा कम नरहेको जानकारी पनि उहाँले गराउनु भएको थियो ।
अब कुरा गरौ फिल्म र कप्तान अञ्जिला ( एन्जिला ) दुबैको ।
अञ्जिला तुम्बापो सुब्बा, नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक । इलाम जिल्लाले प्रसिद्धी पाएका ‘अ’ हरु मध्ये थपिएको अर्को ‘अ’ हो अञ्जिला । सूर्योदयको नगरबाट सूर्यको किरणसंगै संघर्षको तुवालो चिर्दै उदाएकी हुन अञ्जिला । गाउँदेखि बिभागिय क्लब एपिएफ हुँदै हाल उनी ग्रीसको निस अट्रोमिटौबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।
राष्ट्रिय जर्सीमा विपक्षी बिरुद्ध नेपालको गोल पोस्ट समाली रहँदा लाग्छ सिमामा उभिएको सैनिक हुन उनी । शत्रुका हरेक प्रहारहरुलाई बिफल बनाउनु छ उनले । जब उनी सहित नेपाली फुटबल टिम देशको लागि बिपक्षी बिरुद्ध मैदानमा उत्रिन्छन् ,लगभग ३ करोड नेपालीहरु चन्द्र सूर्यअकिंत झण्डा मुनि एकबद्ध भैसकेका हुन्छन् ।
दर्शकहरु त आखिर महाभारतका बार्बरिक न हुन,नत्र बिपक्षी बिरुद्ध गोलपोष्टमा उनीसंगै उभिदिन सक्थे । दर्शकहरु जस्तै कहिले काँही निराश हुन्छिन् उनी, देशलाई फाइनल जिताउन नसकेकोमा । उनले कप्तानी सम्हालिसकेपछि पनि अग्रजहरुले जसरी नै देशलाई फाइनल सम्मको यात्रातय गराइरहेकी छिन् । दक्षिण एसियाली हुँदै वाफसम्म पुग्दा होस वा मैत्री पूर्ण खेलहरुमा फाइनल अगबै घर फिर्नु पर्ने अवस्था हालसम्म आएको छैन ।
हिजोको दिनमा जिन्दगी जिऊन र फुटबलका लागि थुप्रै संघर्ष गरेका अञ्जिला हाल देशलाई गोल्ड मेडल दिलाउन संघर्ष गरिरहेकी छिन् । उनलाई साथ दिन उनीसंगै साम्बा, रेखा पौडेल, प्रिती राई, सबिता राना मागर जस्ता थुप्रै खेलाडीहरु उनीसंगै मैदान उत्रिरहेका छन् । जसलाई दर्शकहरुले बिर्सिएका छैन र बिर्सदैनन् पनि ।
देशको गोल पोस्टमा सगरमाथा जस्तै बनेर बिपक्षी बिरुद्ध उभिरहने अञ्जिलाको संघर्षलाई निर्देशक मिलन चाम्सले यतिबेला फिल्मी पर्दामा उतारेका छन् । अञ्जिलाले गडफादरको रुपमा सम्मानदिदै आइरहेका प्रेमकुमार श्रेष्ठ यस फिल्मको निर्माता हुन् । दायहाङ राई, महोत्से गुरुङ, बुद्धितामाङ, बिजय बरालर श्रीजना सुब्बा सहित चर्चित कलकारहरुले यस फिल्ममा अभिनय गरेका छन् । मुख्य भूमिकामा स्वयं कप्तान एञ्जिला छिन् भने महिला रष्ट्रिय टिमका खेलाडीहरुलाई पनि यो फिल्म भित्र देख्न सकिन्छ । कलाकार सुनिल थापालाई बलिउड फिल्म मेरीकम पछि कोचको रुपमा पुन एकपटक चलचित्र अञ्जिलामा हेर्न पाउने छौ ।
यो चलचित्र कप्तान एन्जिलाको मात्र बायोपिक नभएर सम्पूर्ण खेलाडीहरुले गरिरहेको संघर्ष र भोगाईहरुको कथा हो भन्नु हुन्छ अभिनेता दयाहाङ राई । दयाको भनाइमा साथ दिदै बिजय बराल थप्नुहुन्छ “देश चिनाउने खेलाडीहरुको जिवनीमा फिल्म बन्नु पर्छ र बनाइ रहनु पर्छ । जब बिदेशी टिम बिरुद्ध मैदान उत्रिदा सबै देशबासी एउटै राष्ट्र झण्डा मुनि उभिन स्वतस्पुर्त राजी हुन्छन्,उहाँहरुले पक्कै पनि हाम्रो कप्तान तथा गोल किप्पर एन्जिलाको यो फिल्मलाई माया गरिदिनु हुनेछ ।”
चलचित्र अञ्जिला यही फागुन २९ गतेदेखि प्रदर्शन हुदैछ । यस चलचित्रको प्रदर्शनबाट संकलित रकमले एन्जिलाको लागी घर निर्माण गरिदिने अभियानमा निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ । आफ्नो फुटबल एकेडेमी सञ्चालन गर्ने सपनाको शुरुवात त्यही घरबाट गर्न चाहन्छिन् कप्तान एन्जिला । जहाँबाट साम्बा, प्रिती, रेखा र सविता राना जस्ता धेरै नयाँ खेलाडीहरु भविष्य लागि उत्पाद नगर्न सकियोस ।
यहाँबाट इ पेपर पनि डाउनलोड गरेर पढ्न सक्नुहुन्छ – 25 sundai finalfinal