जब हामी आफ्नै घरमा ढुङ्गा हान्न थाल्छौं, त्यो बस्न लायक हुँदैन । भत्किन्छ बिस्तारै अनि खण्डहर बन्छ । देश र व्यवस्थाको कुरा पनि यस्तै हो ।
हाम्रो मुलुक आज संक्रमणकालीन जस्तो लाग्ने समय पार गर्दैछ । जहाँ दशकौँको संघर्षपछि प्राप्त भएका उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र, संघीयता एकातिर छन् भने अर्कोतर्फ यी उपलब्धिहरूको आधारभूत मूल्य र मान्यता माथि लगातार प्रश्न उठाउने र भ्रम सिर्जना गर्ने प्रवृत्ति तीव्रगतिमा बढिरहेको छ । अझ दुःखद् पक्ष के छ भने यो नकारात्मकता दिनप्रतिदिन संस्थागत बन्दै गएको छ विशेष सामाजिक सञ्जालका माध्यमबाट ।
देशमा रहने हुन् या विदेशमा रहने एकथरी भ्रमका कृषकहरु खेती गरिरहन्छन् । उत्पादित भ्रमलाई अर्काथरी व्यापारीले बेचिरहन्छन् र भ्रमका उपभोक्ताहरु सामाजिक सञ्जालभरी लठ्ठिएका देखिन्छन् । यो विकृति व्याप्त छ हाम्रो मुलुकमा । अहिलेको पुस्ता विदेश जान चाहन्छ, शिक्षा, रोजगारी र सु–अवसरको खोजीमा । त्यो अस्वाभाविक होइन । तर, देश छोड्नु भनेको देशप्रति उत्तरदायित्वबाट पन्छिनु पनि होइन । विदेश पुग्दा स्वदेशका समस्याप्रति हाम्रो सम्बन्ध समाप्त हुँदैन ।
संसारको जुनसुकै कुनामा गए पनि हामी नेपाली नै रहन्छौं । हाम्रो पहिचान, भाषा, संस्कृति र राजनीतिक इतिहास हाम्रो पछाडि सधैँ आउँछ । तर, अहिले एकथरी केही नेपालीहरू जो विशेषगरी युरोप, अमेरिका लगायतका समृद्ध देशमा स्थायीरूपमा बसोबास गर्छन् अनि सामाजिक सञ्जाल मार्फत स्वदेशको राजनीतिलाई गाली गर्न, होच्याउन, अपमानजनक टिप्पणी गर्न मै व्यस्त देखिन्छन् । उनीहरूको आलोचना नीतिगत होइन, विद्वेषपूर्ण हुन्छ । उनीहरू भन्छन्– ‘देशमा केही हुँदैन’, ‘सबै चोर छन्’, ‘सबै नेताहरू नालायक छन्’ अनि स्वभाविक प्रश्न उठ्छ । यसरी विदेशिनेहरुले मुलुकका लागि के योगदान गरे ? कुन आन्दोलनमा उभिए ? कुन चुनौतिमा साथ दिए ? जनतासँग कुन परिवर्तनका लागि सडकमा उत्रिए ?
यिनै प्रवृत्तिको ठीक विपरीत छ रोजगारीका लागि खाडी र अन्य मुलुक गएर श्रम बेचेर घरपरिवार पाल्ने, रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्ने लाखौं नेपालीहरुको कथा । उनीहरूले स्वदेश फर्किने आशा मारेका छैनन् । उनीहरू परिवार र समाजप्रतिको जिम्मेवारीबाट भागेका छैनन् । उनीहरू देशप्रति आस्था राख्छन्, गुनासो गर्छन्, तर गाली गर्दैनन् ।
यिनीहरू स्वदेश फर्कदा आफ्नो कमाइ मात्र होइन, विश्वास पनि ल्याउँछन् । राजनीति र परिवर्तनप्रति उनीहरूको दृष्टिकोण सन्तुलित हुन्छ । उनीहरू आफ्नै सन्तानलाई ‘यो देशमै केही गर्नुपर्छ’ भन्ने सन्देश दिन चाहन्छन् । तर, युरोप–अमेरिकामा बसेर विदेशी नोकरीमा रमाउने र सामाजिक सञ्जालमा स्वदेशका नेता, पार्टी, विचार, आन्दोलन सबैलाई सस्तो गाली गर्नेलाई हेर्दा लाग्छ, यिनीहरू देशकै विपक्षमा खटिएका कुनै साइबर सेना हुन् ।
आज सामाजिक सञ्जाल सूचनाको माध्यम होइन, भ्रमको हतियार बन्दै गएको छ । अमर्यादित भाषाशैली, आधारविहीन टिप्पणी, कटाक्ष र ट्रोलको खेतीले जनमानसमा निराशा मात्र फैलाएको छैन, आशावादीलाई पनि मौन बनाइदिएको छ । जसले बोल्नुपथ्र्यो त्यो चुप छ, जसले आलोचना गर्नुपथ्र्यो, त्यो भ्रममा छ । यस्ता भ्रमको पछाडि लागेर सर्वसाधारणमा वितृष्णा, नैराश्यता र भाग्यवाद हावी भएको छ । राजनीतिलाई ‘फोहोरी खेल’ मात्र ठान्ने मानसिकता बढेको छ । त्योभन्दा खतरनाक कुरा के छ भने यिनै वितृष्णा बोकेकाहरूलाई केन्द्रमा राखेर राजनीति गर्न खोज्ने तत्वहरू समेत सक्रिय छन् जसले कुनै समाधान खोज्दैन, केबल गाली बेच्छ ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने राजनीति गाली गर्ने प्रक्रिया होइन, भाग लिने प्रक्रिया हो । यदि केही राम्रो छैन भने त्यसलाई सच्चाउन नागरिक सहभागिता जरुरी हुन्छ । परिवर्तन सधैँ सकारात्मक आशावाद र सहभागिताबाट सम्भव हुन्छ, वितृष्णाबाट होइन । देशप्रति समर्पित हरेक नेपाली चाहे ऊ देशमै होस् या विदेशमा, उसले देशप्रति आशावादी हुनै पर्छ । आलोचना होस्, तर रचनात्मक होस् । विचार भिन्न होस्, तर मर्यादित होस् ।
आज हामीले रोज्ने शब्द, हाम्रो पोस्ट, हाम्रो कमेन्ट र हाम्रो विचारले देशको मनोविज्ञान प्रभावित गरिरहेको छ । हामीले चहायौं भने देशलाई उठाउन सक्छौं । चाहेनौं भने झनै गहिरोमा डुबाउन सक्छौं । परिवर्तन भ्रमले होइन भरोसाले आउँछ । जुन दिन भ्रम फैलाउनेहरूको मुखुण्डो खस्छ, त्यस दिन देश फेरि आशाले मुस्कुराउँछ । त्यसैले भ्रमको खेती, भ्रमको उत्पादन, भ्रमको बजारीकरण र भ्रमको उपभोग अन्त्य गरौं ।