जनतामाझ दरबार बदनाम रहेकै कारण डेढ दशकअघि नै विदा गरेर गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि निरङ्कुशताको प्रेत फेरि ब्युँझन सक्छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै सङ्कटमा पर्न सक्छ भन्ने मनोविज्ञान व्याप्त भएको ठूला दलका ठूला नेताले ठूला सभामा राजाभन्दा पनि बढी राजावादी देखिने तथाकथित राजावादीको उछितो काढेबाट बुझ्न सकिन्छ । यस्तो अवस्थामा मुलुकका दुई ठूला जनाधार भएका दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेको भूमिका कसरी अघि बढिरहेको छ भन्ने अहम् प्रश्न हो । सत्तासीन नेकपा एमालेको उपादेयता सकिएको र अब नयाँ दलहरूले मुलुकको नेतृत्व गर्ने हो भन्ने भाष्य तयार गरिँदैछ । हुन पनि हो, सिद्धान्त र कार्यक्रम एकातिर तर व्यवहार अर्कातिर भएर लामो समय कुनै सङ्गठन वा दल अघि जान सक्दैन । यस्तो विरोधाभाष बोकेर कुनै पार्टी लामो समय चल्न सक्दैन । एमाले र जनताको बहुदलीय जनवादको लोकप्रियता सदैव उस्तै अवस्थामा रहिरहनेछ भन्ने पनि हुँदैन । मिसन–८४ आशा गरेजस्तो परिणाम लिएर आउनेछ भन्ने किटान गरेर भन्न अप्ठेरो छ ।
नेकपा एमाले एक सजीव, लोकतान्त्रिक र गतिशील दल भएका कारण हराउँदै र भत्किँदै गरेको सामन्ती अर्थतन्त्र र राजनीतिका खण्डहरबाट निस्केर नेपाल र नेपालीलाई आधुनिक स्वतन्त्र जीवनतर्फ पाइला सार्नका लागि जनगणका आकाङ्क्षाहरूको प्रतिनिधित्व गर्ने दल बन्न सक्नुपर्छ । समय हरबखत बदलिरहेको छ । जनताको बहुदलीय जनवादले कठमुल्लावादी र जडसूत्रवादी सोचलाई अस्विकार गर्छ भने माक्र्सवादको सुजनात्मक विकास र प्रयोगलाई आत्मसात गर्दछ । तसर्थ, पुरानो एमालेले मुलुकको नेतृत्व गर्न सक्दैन भनेर विरोधीले भन्छन् भने एमाले समर्थकले नवीन एमाले बनाउन जरुरी छ, तर जडता र रुढीवादिताको शिकार भइरहने हो भने समय एमालेले सोचे जस्तो नहुन पनि सक्छ । लाखौं युवा, मजदुर, किसान, विद्यार्थी र पेशाकर्मी प्रत्यक्ष र परोक्ष रूपमा नेकपा एमालेको वरिपरि गोलबन्द भएका छन्, तर उनीहरूका शक्तिशाली सङ्कल्पको भाषा बोलिदिने पार्टी र जनजनका हृदयमा स्पन्दित हुन सक्ने नायकहरू नवीन एमालेको आजको खाँचो हो । नेकपा एमाले बहुदलीय व्यवस्था स्थापना पछि धेरैपटक सरकारमा पुगेको छ, लोकप्रिय सरकार चलाएको छ, सरकारका कारणले विवादित पनि भएको छ, कहिले अवाञ्छितरूपमा खुम्चिएको छ र कहिले आशातीत रूपमा फैलिएको पनि छ । तर, जननेता मदन भण्डारीको अगुवाइमा सूत्रबद्ध गरिएको जनताको बहुदलीय जनवादको महत्व र गरिमा जसरी विस्तारित हुनुपर्ने हो, त्यो भएको छैन ।
नयाँ एमाले पुरानो कार्यशैलीबाट अघि बढ्न सम्भव छैन । पार्टीको वैचारिक अडान, नीतिगत निर्णयहरू र भविष्यका दिशाहरूमा बहस र छलफललाई प्रोत्साहन दिन अहिले पनि पार्टी हिच्किचाउँछ । जनताको राय र सरोकारहरूलाई पार्टीको मञ्चमा समाहित गरिएको सुनिश्चित हुनुपर्छ भन्न पनि सजिलो छैन । पार्टीको कोष र स्रोतहरू पारदर्शीरूपमा प्रयोग भएको सुनिश्चित गर्दै सदस्यमाझ नियमित रूपमा वित्तीय लेखापरीक्षण र अन्य प्रतिवेदनहरू जारी गर्ने कुरा अहिले पनि संस्थागत हुन सकेको छैन । जुन पार्टीले पार्टीभित्रको भ्रष्टाचारलाई रोक्छ, उसले मात्र जनता र पार्टीका सदस्यहरूमा विश्वास निर्माण गर्न सक्छ । पार्टी नेताहरूलाई तिनीहरूका निर्णयहरू, शक्तिको प्रयोग र अन्य राजनीतिक समूहहरू वा व्यावसायिक समुदायसँगको सम्बन्धलगायतका कार्यहरूका लागि जवाफदेही बनाउन सक्नुपर्छ । नेताहरूले पार्टी सदस्य र जनताको कार्यमा प्रश्न उठ्दा जवाफ दिने संयन्त्रको स्थापना गर्नुपर्छ ।
नवीन एमालेको अर्को महत्वपूर्ण कुरा इमानदारी, निष्पक्षता र पार्टीका सबै सदस्यहरूको सम्मानित समावेशीकरण जरुरी छ । नेताहरू आलोचनाका लागि खुला हुनुपर्छ र आफ्नो स्थितिमा नम्र रहनुपर्छ । एमालेलाई थप लोकतान्त्रीकरण गर्न सके मात्र मुलुकमा लोकतन्त्र संस्थागत हुन सक्छ । यसका लागि सङ्गठनभित्र थप आन्तरिक लोकतन्त्र, पारदर्शिता, सहभागिता र समावेशिताको विकास हुनु पर्दछ । पार्टीभित्र र बृहत् राजनीतिक प्रणालीमा लोकतान्त्रिक सिद्धान्तलाई बलियो बनाउनका लागि महवपूर्ण कदमहरू चाल्न सक्नुपर्छ । पार्टीको घोषणापत्र र नीतिहरूले कानूनको शासन, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक सिद्धान्तहरूको महत्वलाई जोड दिनुपर्छ । यसले लोकतान्त्रिक राजनीतिक प्रणाली र शासन संरचनाप्रति पार्टीको प्रतिबद्धता झल्काउँछ । नवीन एमाले बनाउन पार्टीका कार्यहरू जनताको आवश्यकतासँग मिल्दोजुल्दो बनाउन आवश्यक छ र यसले शासनमा लोकतान्त्रिक मूल्यहरू प्रतिबिम्बित गर्दछ । विश्वभर फैलिएको लोकप्रियतावाद (पपुलिजम्) र अधिनायकवादी नेतृत्वको उदयले नेपाली समाजमा पनि ‘सशक्त नेतृत्व’को इच्छा बढाएको हुन सक्छ । यो कुरा मुलुक र लोकतन्त्रका लागि खतरनाक हुनसक्छ ।
राजनीतिक स्थिरता र तीव्र विकासको चाहनालाई नेपालमा पूर्व राजा, दरबारिया शक्ति र राजावादीहरूले हिन्दुवादी र हिन्दुत्ववादीको सहारा लिँदै राजतन्त्र पुनस्र्थापनाको बहससँग जोडेर आन्दोलन अगाडि बढाउन खोजिरहेका छन् । इतिहासले देखाएजस्तो एक व्यक्ति वा परिवारको शासनले दीर्घकालीन समाधान भने दिन सक्दैन । राजतन्त्र स्थापना सहज छैन र मुलुकको सङ्कटको समाधान पनि होइन । यसबाट मुलुक तीव्र ध्रुबीकरणतर्फ लाग्छ र हिंसाउन्मुख हुन्छ । नवीन एमाले बनाउन शक्ति विकेन्द्रीकृत गर्न आवश्यक छ । सङ्घीय वा प्रादेशिक राजधानी वा पार्टीको प्रधान कार्यालयमा शक्ति केन्द्रीकृत गर्नुको सट्टा, क्षेत्रीय र स्थानीय शाखाहरूलाई अधिक निर्णय गर्ने शक्ति हस्तान्तरण गर्नसके बढी काम हुनसक्छ ।
स्थानीय एकाइहरूलाई पार्टीको समग्र विचारधारालाई पछ्याउँदै उनीहरूको सन्दर्भमा उपयुक्त हुने निर्णयहरू गर्न अधिकार दिनुपर्छ । वंशीय शासन, सैनिक शासन वा अधिनायकवाद जस्ता शासन व्यवस्थाले यी गुणहरूलाई स्वीकार्दैन, जसकारण लोकतान्त्रिक प्रक्रियामा दीर्घकालीन सङ्कट निम्त्याउने सम्भावना रहन्छ । निर्णयहरू, विशेषगरी नीति र उम्मेदवार छनोटमा, नेताहरूको सानो समूह मात्र नभई तल्लो तहका सदस्यहरू समावेश गर्ने परामर्श प्रक्रियाहरू मार्फत गर्न सके पार्टी अझ सबल बन्न सक्छ । विपक्षीलाई तर्कसहित ललकार्न सक्ने नैतिक साहस र भाषणकलाका धनी भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेष गरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरी त्यसलाई जबजको रूपमा प्रस्तुत गरे । उनले पुस्तक पूजा गर्ने कठमुल्लावादको विरोध गर्दै वस्तुगत परिस्थिति हेर्नुपर्ने र राजनीति भनेको लकिरको फकिर होइन, यो त जनताको साँचो सेवा हो भन्ने जीवनदर्शनलाई नेपाली भावभूमिमा स्थापित गर्न शुरु गरेका थिए ।
कम्युनिष्ट आन्दोलनमा देखिएको सिद्धान्तको रक्सी पिएर उन्मादी भाषण घोक्ने, वर्ग वैरीबिरुद्ध भन्दै गोलीको कासन ठोक्ने, तर जनताका छोराछोरी राशन नपाएर सडकपेटीमा कतै फालिनुपर्ने र नाङ्गानिमुखालाई क्रान्ति हुँदैछ, पर्ख र क्रान्ति भए पछि खाउला भन्ने महारोगबाट मुक्त गर्न जरुरी छ । क्रान्ति पूर्व नै कम्युनिष्टले जनताका लागि सकेजति गर्दै जानुपर्ने जबजको सार हो । कम्युनिष्ट आन्दोलन र क्रान्तिका उच्चतम उपलब्धीलाई गैरकम्युनिष्टहरुले उपयोग गरी आफ्ना सिद्धान्त र समाज विकासका विविध क्षेत्रमा प्रयोगमा ल्याए भने पूँजीवादले विकास गरेका श्रेष्ठ विचार र सिद्धान्तलाई जनताको हितको निमित्त कम्युनिष्टहरुले आत्मसात गर्न सक्नुपर्छ ।
बहुदलीय प्रतिष्पर्धालाई स्वीकारी कम्युनिष्टहरुले पनि आफू जनताबाट श्रेष्ठता कायम भएको पुष्टी गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र मात्र कम्युनिष्टले शासन गर्नुपर्छ । क्रान्तिको सहजीकरणका लागि क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जान सक्छन् भन्ने जबजको सार थियो । क्रान्ति पूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै क्रान्ति सम्पन्न गर्नुपर्छ र यसरी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा प्रतिक्रान्तिकारीबाट हुने अवरोध हटाउन बल प्रयोग गर्नुपर्ने हुन्छ भन्ने जबजको सार हो । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतीय सरकार र अल्पमतको विपक्ष, राष्ट्रिय हित अनुरुपको विदेशी नीति, नेतृत्व र अधिनायकत्व लगायतका महवपूर्ण १४ बुँदाहरुमा परिभाषित जबज नेपाली समाजको विशिष्टतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग हो ।
कम्युनिष्ट आन्दोलनले धक्का खानुपर्ने मूल कारण सर्वहारा अधिनायकत्वप्रतिको गलत बुझाइ नै होे । सर्वहारा अधिनायकत्वको प्रयोग गर्दा कम्युनिष्ट पार्टीको विपक्षमा कानुनतः कुनै शक्ति नहुनु र पार्टीभित्रको नेतृत्वको सोचाइको बिरुद्धमा उभिन सक्ने गरी अन्तरपार्टी जनवादको अति कम अभ्यास हुने परिपाटी हुनुले कम्युनिष्ट मुलुकमा व्यक्तिगत पूँजीवादको ठाउँमा राजकीय पूँजीवादको विकास हुने खतरा हुन्छ । प्रतिक्रान्तिको पक्षमा उभिएर क्रान्तिलाई ध्वस्त गर्न चाहने विध्वंशकारी शक्ति बाहेक अन्य वर्ग र समुदायमाथि अधिनायकत्वको डण्डाले ठटाएर क्रान्तिको निरन्तरता हुनसक्छ भनी ठान्नु विश्व कम्युनिष्ट आन्दोलनका इतिहासका भूलबाट सिक्न नचाहनु हो । जबजलाई देउताले बास गर्ने ढुंगा झैं पुजिने वस्तु होइन । जर्मन कवि गोएथे भन्छन्– जीवनको रंग हरियो हुन्छ, सिद्धान्तको रंग खैरो हुन्छ । सिद्धान्त जीवनका लागि हो, तर जीवन सिद्धान्तका लागि होइन ।
जीवन अघि बढ्दै जान्छ र त्यसलाई सिद्धान्तले पछ्याउँदै जान्छ । माक्र्सवाद जडसूत्र होइन, लेनिनको भाषामा माक्र्सवाद गतिशील सृजनात्मक विज्ञान हो । माक्र्सवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ । तसर्थ माक्र्सवादद्वारा अनुप्राणित सृजनात्मक सिद्धान्तहरु फगत बन्द कोठाको खोपीमा राखिने पूज्य अलौकिक वस्तु हुन सक्दैनन् । ती त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ । जबजको सार भनेको कम्युनिष्टहरु व्यवहारवादी हुनुपर्छ भन्ने हो । जसरी लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो, त्यसरी नै एमालेको विकल्प नवीन, परिष्कृत, युग सुहाउँदो र गतिशील एमाले हो । लोकतन्त्रलाई निरन्तर विकसित हुने प्रक्रिया र व्यवस्था हो भनेर बुझ्ने हो भने त्यो कुरा पार्टीको हकमा पनि लागू हुन्छ । नागरिक सर्वोच्चता, आवधिक निर्वाचन, प्रश्न उठाउन पाउने अधिकार, खुला बहस र आलोचनात्मक सोचजस्ता सकारात्मक पक्षहरू भएको लोकतान्त्रिक व्यवस्था तब सम्भव छ, जब दल सो अनुरूप बनेको हुन्छ ।