योगेन्द्र योगी
विराटनगर,
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा समझदारी-पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने/गराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा (प्रथम पक्ष) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अधिकारी (दोश्रो पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य बताए।
साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गरेका थिए । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।