शेर्माले दिए पाठ्यपुस्तक उपहार : अभिभावक र विद्यार्थीमा खुसीको सीमा रहेन

0
243

 धरमपुर,  शिवशताक्षी नगरपालिका–३ स्थित भानु माध्यमिक विद्यालयका ३० जना अति विपन्न विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गरिएको छ। सामाजिक तथा राजनीतिक रूपमा सक्रिय व्यक्तित्व मचिन्द्रकुमार शेर्माले व्यक्तिगत पहलमा पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै पुगेर पुस्तक वितरण गरेका हुन्।

शेर्माले कुनै विशेष दिनको अवसर नभई सामाजिक उत्तरदायित्वका रूपमा उक्त सहयोग गरेका हुन्। “विपन्नताका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्य गरेको हुँ,” उनले भने। उनीद्वारा उपहार दिइएका सबै पाठ्यपुस्तक निजी प्रकाशनका अङ्ग्रेजी माध्यमका पुस्तक हुन्। भानु माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्ययन–अध्यापन हुने गर्दछ। आर्थिक अभावका कारण निजी प्रकाशनका पुस्तक किन्न नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गर्दै उक्त सहयोग गरिएको हो।

कार्यक्रमको संयोजन विद्यालय व्यवस्थापन समितिले गरेको थियो। समितिका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष भास्कर न्यौपानेलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो। वडा अध्यक्ष न्यौपानेले शेर्माको सामाजिक भावनाको खुलेर प्रशंसा गर्दै उनले देशभर विपत्तिमा परेका नेपालीहरूलाई सहयोग गर्दै आएको बताए। पूर्व शिक्षकसमेत रहेका शेर्माले सामुदायिक विद्यालय सुधारका लागि समुदाय, शिक्षक र राज्यको संयुक्त भूमिका आवश्यक रहेको बताए। “सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभिभावकको चेतना र सकारात्मक सोच अत्यावश्यक छ,” उनले उल्लेख गरे। विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले विद्यालयले विगत वर्षहरूमा उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको बताए। “हामी निजी विद्यालयभन्दा कमजोर छैनौँ, अवसरको मात्र अभाव छ,” उनले भने। कार्यक्रममा पत्रकार विनोद सापकोटाले शिक्षा सुधारका लागि अभिभावक, विद्यालय र राज्य यी तीन पक्षको सशक्त सहकार्य अपरिहार्य रहेको औँल्याए। उनले राज्यको लगानी सबै सामुदायिक विद्यालयमा समानरूपमा हुनुपर्नेमा जोड दिए। विद्यालयकी अङ्ग्रेजी विभाग प्रमुख राधा बोगटीले अधिकांश विद्यार्थीका अभिभावकहरू आर्थिक, सामाजिक र शैक्षिक रूपमा कमजोर रहेको बताइन्।

कार्यक्रमको सहजीकरण शिक्षक गणेश चम्लागाईंले गरेका थिए। कार्यक्रममा सहभागी अभिभावक मनमाया माझी ले भावुक हुँदै भनिन्, “ आर्थिक खडेरीको बेला दाता शेर्माले पाठ्यपुस्तक नदिएको भए हामीले ब्याजमा पैसा खोजेर भए पनि पुस्तक किन्नुपर्ने अवस्था थियो। आज हाम्रो छोराछोरी कक्षा कोठामा आफ्नो किताब बोकेर बसेका छन् । खुसी शब्दमा वर्णन गर्न सकिँदैन।

विद्यालयमै आएर किताब दिनुभयो, हामी सम्पूर्ण अभिभावक उहाँप्रति ऋणी छौँ।” शेर्माले आफू वर्षमा १५ लाख रुपैयाँ सामाजिक सेवामा खर्च गर्दै आएको उल्लेख गर्दै यो सहयोग रकमले भन्दा पनि सन्तुष्टिले मापन हुने बताए। “धेरै ठाउँमा सहयोग गरेँ, तर आजको जस्तो सन्तुष्टि कहिल्यै पाएको थिइनँ,” उनले भने। शिवशताक्षीको भानु माध्यमिक विद्यालयमा सन्थाल, आदिवासी, सीमान्तकृत तथा अल्पसंख्यक समुदायका बालबालिका अध्ययन गर्छन्। यस्तो सहयोगले आर्थिक अभावका कारण अध्ययनमा बाधा झेलिरहेका बालबालिकालाई उज्यालो भविष्यतर्फ डोर्याएको विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here