झापा । सशस्त्र प्रहरी वल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती सम्मानित भएका छन् ।
कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय, झापाको भोगाधिकार रहेको जमिनमा एपीएफ स्कूलको स्थापनामा उप्रेतीले पुर्याउको योगदानको उच्च सम्मान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।
विद्यालय स्थापनामा सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक उप्रेतीको दूरदर्शी कार्यले संस्थाको लक्ष्यलाई अगाडि बढाउन उत्कृष्टता र प्रेरणादायी भूमिका खेलेको भन्दै उप्रेतीलाई सशस्त्र प्रहरी बल नेपाललले सम्मान गरेको हो ।
कोशी प्रदेशकै नमून स्कूलको रुपमा स्थापित गर्ने उद्धेश्यले पाडाजुँगीमा एपीएफ स्कूल स्थापनाका लागि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले केही समय अघि सो स्कुलको शिलन्यास गरेका थिए । मुनाफारहित शैक्षिक संस्थाको रुपमा स्थापना स्थापना गर्न लागिएको स्कूलको मूल उद्धेश्य बहालवाला, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त, अशक्त, अवकाश प्राप्त सशस्त्र प्रहरीका सन्ततिहरुलाई शिक्षा दिने रहेको छ । साथै अन्य सर्वसाधारणका सन्ततिहरु समेतलाई समयसापेक्ष आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरिने छ । हाल प्रारम्भिक चरणमा सबै झापा जिल्लाका स्थानीय पालिकाहरु, प्रदेश सरकार लगायत अरु सरोकारवाला निकायसंग छलफल, सहकार्य, समन्वय भएको छ
कमल गाउँपालिकाको सहयोगमा स्कुलको डीपीआर तयार भएको छ । साथै विद्यमान शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुरुप स्कुल स्थापना तथा संचालनको स्वीकृतिको लागि स्कुल संचालनको विनियमसहित कमल गाउँपालिकाको कार्यालयमा निवेदन पेश भएको जनाइएको छ ।
आगामी आर्थिक वर्षबाट यस स्कुलले कक्षा ४ र ५ बाट आवासीय विद्यालयको रुपमा संचालनमा ल्याउने भएको छ । साथै भौतिक पूर्वाधारहरु निर्माण गरी आवश्यकता अनुसार थप्दै जाने र कक्षा १२ सम्म संचालनमा आउनेछ ।
‘मानव उत्कृष्टताको लागि शिक्षा मानव स्वस्थताका लागि खेलकुद’ नारा बोकेर स्थापना हुन लागेको यस स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिई राष्ट्र निर्माणमा सुयोग्य, अनुशासित र उत्पादनशील नागरिक तयार गरी कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्धेश्य लिएको पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उप्रेतीको भनाई छ ।