झापा । बिर्तामोड। रत्न सावित्री उत्सव वस्नेत स्मृति प्रतिष्ठान बिर्तामोड १ जगतवस्तीको भवन उद्घाटन तथा पुस्तक लोकार्पण गरिएको छ । संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको अध्यक्षता तथा साहित्यकार युद्धप्रसाद वैधको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव विक्रम मादेनले स्वागत गरेका थिए।
कार्यक्रममा निर्जीव पानामा सजीव स्मृति नामक रत्न सावित्री उत्सव स्मृति ग्रन्थ र क्यापिटल हिल वासिङ्टनदेखि एटोमिक बमडोम हिरोसिमासम्म लोकार्पण गरिएको थियो।
उक्त पुस्तकको संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, साहित्यकार युद्धप्रसाद वैध, शिक्षासेवी गणेशप्रसाद खनाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले लोकार्पण गरेका थिए। उक्त पुस्तकको बिक्रीबाट प्राप्त रकमले गरिव तथा असहाय बालबालिकाको शिक्षा र लालनपालनमा खर्च गरिने प्रतिष्ठानका उपाध्यक्ष रिसव बस्नेतले बताए। डा।रेसबहादुर बस्नेत र डा।सन्ध्या बस्नेत लेखक रहेको पुस्तकको समिक्षा साहित्यकार बिष्णुकुमार भट्टराईले गरेका थिए।
२०७५ सालमा स्व।रत्नबहादुर बस्नेत, स्व। सावित्री बस्नेत र स्व।उत्सव बस्नेतको स्मृतिमा सामाजिक, आध्यात्मिक र शैक्षिक कार्यक्रम गरी समाजमा सहयोग गर्ने उद्देश्यले रत्न सावित्री उत्सव प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष डा।रेसबहादुर बस्नेतले बताए।
कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, साहित्यकार युद्धप्रसाद वैध, डा। रूपकप्रसाद खनाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , ईलाम नगरपालिका वडा १का वडाध्यक्ष गायत्री वस्नेत, पूर्व मन्त्री खगेन्द्र प्रसाई, ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रकी ब्रह्मकुमारी पूर्णीमा दिदीलगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा ईलाम जिल्लाका सामुदायिक विद्यालयबाट एसईईमा प्रथम हुने अर्जुन आचार्यलाई १५ हजार नगद र साखेजुङका सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने सौगात लिम्बू र एकलाई जनही १० हजार नगदसहित छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन हरी सिटौलाले गरेका थिए।