चुनौतिहरुले नै जिन्दगीलाई रोमाञ्चक बनाउछ र यसैमा तपाईको जिन्दगीको महत्व निर्माण हुन्छ– भने झैं झापाको बाह्रदशीका अनिल सापकोटा (अग्निप्रसाद)को जीवन पनि यस्तै भएको छ । सानैबाट राजनीतिप्रति आकर्षित अनिलले आठ वर्षकै कलिलो उमेरमा विद्यालय तथा गाउँमा हुने कार्यक्रममा जनवादी गीत गाउने गरेका थिए ।
हरेक बिहानीले दिनको संकेत गर्छ भने जस्तै अनिलले जनवादी गीत–संगीत मार्फत आफूलाई परिर्वतनकारी र क्रान्तिकारी धारमा उभ्याइरहे त्यसकै सफल स्वरुप उनी अहिले नेकपा एमालेकोे सबैभन्दा कान्छो पालिका अध्यक्ष बनेका छन् । पार्टीका पालिका अध्यक्ष मध्ये कान्छो भए पनि उनी भन्छन्– ‘मेरो उमेर सानो होइन, यो उमेरमा नै मदन भण्डारीले जबजको सिद्धान्त ल्याउनुभएको थियो, वीपीका समाजवादका विचारहरु, झापा विद्रोह पनि म जस्तै उमेर समूहरु सक्रिय थियो । अहिलेको परिस्थितीमा उमेरको अंक गणितले कान्छो भए पनि विचार, सिद्धान्त र निष्ठाले आफूलाई कान्छो मान्दिनँ ।’
आमा नेतृका र बुबा नरप्रसाद सापकोटाको जेठो सन्तानको रुपमा वि.सं. २०४५ साल असारमा झापाको बाह्रदशी गाउँपालिका–५ प्रजापति टोलमा जन्मिएका अनिल सानै उमेरदेखि राजनीतिमा चासो राख्ने गरेका थिए । परिवारिक परिस्थितिले गर्दा नै कम्युनिष्ट राजनीतिमा होमिएका अनिलले एमाले पार्टीको पालिका अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । स्नातक तहसम्म अध्ययन गरेका अनिलले वि.सं. २०६० सालमा जनजागृती मावि गोलधापबाट एसएलसी उत्तिर्ण गरेका थिए ।
उनले उच्च शिक्षा भने बिर्तामोडस्थित कनकाई क्याम्पसमा गरेका थिए । वि.सं. २०५३ सालबाट बाल जनवादी गायकको छवि बनाएका अनिल गीत–संगीत तर्फ पनि आकर्षित छन् । उनले पूर्वाञ्चलसँग कुरा गर्दै भने– ‘मैले पहिलो पटक २०५३ साल जेठ ३ गते मदन भण्डारीको स्मृतिका भएको कार्यक्रममा घर त मेरो ज्यामिरे गरीबको छोरो म बोलको जनवादी गीतहरु गाएको छु, जुन बेला म बाल जनवादी गायकको रुपमा परिचित थिएँ । मलाई जनवादी गीततर्फ आकर्षित बनाउन मेरो परिवार र जागृति युवा परिवार समाजको योगदान छ । आखिर म किन विद्रोही भएँ भन्नका लागि अलिक पछि फर्किनुपर्छ– वि.सं. २०४३ सालमा मेरा बडीबा(बुबाको दाइ) प्रजापति सापकोटालाई तत्कालिन अवस्थामा बामे भन्दै मण्डलेहरुले हत्या गरेका थिए । त्यसपछि हामी सबै परिवारमा अन्ययबिरुद्ध लड्न सानैबाट क्रान्तिकारी बन्नुपर्छ भन्ने भाव जागृत भयो । त्यसकै परिणम स्वरुप म पनि अहिले कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेको छु । त्यसबेला हामीलाई परिवर्तनको पक्षमा नेकपा एमालेले साथ दिएकाले आजसम्म पनि हामी त्यही विचार र आस्थामा अडिक रहेका छौं ।’
वि.स.२०६४ सालबाट नेकपा एमालेको चकचकी गाउँकमिटी सदस्य भएका वि.सं. २०६५ सालमा अनिलले नेकपा एमालेका तत्कालिन क्षेत्रीय कमिटी अध्यक्ष नारायण पोख्रेलको हातबाट पार्टीको संगठित सदस्यता लिएको स्मरण गरे । वि.सं. २०७०–७१ मा पार्टीको चकचकी गाउँ कमिटीका उपसचिव सम्हालेका अनिलले त्यसबीचमा पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा सघ नेपालको क्षेत्रीय कमिटी सचिव, जिल्ला सदस्य, पालिका इञ्चार्ज हुँदै कोशी प्रदेश कमिटी सचिवालय सदस्य सम्म्को जिम्मेवारी निर्वाह गरिसकेका छन् । अनिल वि.सं. २०८१ जेठ १९ गतेको गाउँ अधिवेशनबाट पार्टीको गाउँपालिका अध्यक्ष बन्न सफल भए । चुनावी प्रतिस्पर्धाबाट उनी अध्यक्ष बन्न सफल भएका हुन् । वि.सं. २०७६ सालमा बिर्तामोड–१० निवासी रचना पोख्रेलसँग वैवाहिक सम्बन्धमा बाँधिएका अनिलका एक सन्तान आरभ सापकोटा पाँच वर्षका भएका छन् ।
पार्टीको नेतृत्व गरिरहेका अनिल अग्रजको सल्लाह र नेतृत्व गणको सुझाव लिएर त्यसमा युवा विचार र जााँगरलाई मिसावट गर्दै पार्टीका गतिविधि सञ्चालन गरिरहेका छन् । उनले एक वर्षको अवधिमा धेरै कामहरु गरिसकेका छन् । आर्थिक कारोबारलाई व्यवस्थित गर्दै पार्टीको नाममा बैंक खाता सञ्चालन, तल्ला कमिटीहरु सञ्चालनको स्रोतको पहिचान गर्दै एक वडा एक विगाह कार्यक्रम सञ्चालन गरेका छन् । बाह्रदशी गाउँपालिका कृषि क्षेत्रमा अग्रस्थानमा आउने भन्दै अनिलले पार्टीका कार्यक्रमहरुलाई आधुनिक कृषि प्रणालीमा जोड्ने प्रयास गरिरहेका छन् । पार्टी अध्यक्ष भएसँगै तिहारमा सञ्चालन गरेको देउसी–भौलो कार्यक्रम मार्फत करिब तीन लाख रुपैयाँ रकम संकलन गरेर बैंकको खातामा जम्मा गरेका उनले यस कार्यलाई सफल बनाउन पार्टीका अग्रज, युवा तथा सबै तहमा रहेका एमाले कार्यकर्ताको साथ र सहयोग रहेको बताए । अनिलले पार्टीको नेतृत्व गरेसँगै जिल्लामै पहिलो पटक पार्टी सदस्यता नविकरणका लागि भन्दै पासबुक बनाएर सबै कार्यकर्तालाई प्रदान गरे ।
राजनीतिले समाज परिर्वतनका मुद्दालाई स्थापित गर्नुपर्छ भन्ने विचार राख्ने गरेका अनिलले रगतको व्यवस्थापन गर्न भन्दै सबै पार्टी सदस्यको ब्लड ग्रुप बनाएका छन् । बाह्रदशीमा रक्तसञ्चार समूहमा करिब सात सय जनाको विवरण राखिएको उनको भनाइ छ । बाह्रदशीमा रहेका ३६ वटा टोल कमिटी र सात वटा वडा कमिटीलाई कृषि क्षेत्रमा पनि आवद्ध गराउँदै आफ्ना सदस्यलाई कृषि क्षेत्रमा उत्प्रेरित गरिरहेका अनिलले एक वर्षको अवधिमा ३४ हजार तरकारीका बेर्ना वितरण गरेका छन् भने विभिन्न बोटबिरुवा तथा फलफूलका बिरुवा समेत वितरण गरेका छन् । उनी सामुहिक कृषि प्रणाली अप्नाएर आधुनिक र उन्नत कृषि खेती गर्नुपर्ने लक्ष्यका साथ लागेका छन् ।
पार्टी गतिविधिलाई सक्रिय बनाउने अनिलले बाह्रदशीमा रहेका १४ वटा जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाएका छन् । उनले समाजमा हुने हरेक सुख–दुःखमा सहभागी बन्नुपर्छ भन्दै सामाजिक काममा अग्रसरता देखाइरहेका छन् । अग्रजको सल्लाह र सुझाव आफ्नो मार्गदर्शक भएको ठान्ने गरेका अनिलले पार्टीलाई कसरी सबैभन्दा ठूलो, मजबुत र सशक्त बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको बताउँछन् । बाह्रदशीमा सात सय ८३ जना पार्टीको सक्रिय सदस्य रहेको भन्दै उनले भने– ‘युवाहरुको काम गर्ने शैली, जोशजाँगर र अग्रजहरुको सम्मानले अझ धेरै उत्साह थपेको छ ।’ पार्टी कार्यकर्तालाई वैचारिक रुपमा एकीकृत गर्दै पेशा र व्यवसायलाई आधुनिकिकरण मार्फत आर्थिक उपार्जनमा जोड्न सक्ने हिसाबले आफूले काम गरिरहेको बताएका अनिल भन्छन्– ‘अहिले एमाले पार्टीप्रति चौतर्फि घेराबन्दी र आक्रमण भइरहेका छन्, तर हामीले पार्टीलाई मजबुद र सांगठनिक रुपमा बलियो बनाएका छौं ।’
छिट्टै बाह्रदशीमा कृषि पुराण सञ्चालन गरेर यहाँका किसानलाई आधुनिक कृषि प्रणाली तथा उत्पादनलाई व्यासायिक प्रर्वद्धनमा जोड्का लागि योजनासहित काम गरिरहेको बताएका अध्यक्ष अनिल भन्छन्– ‘गाउँ कमिटीले खाली जमिन लिजमा लिएर सामूहिक कृषि खेती गर्नेछौं । बाह्रदशीमा सजिवन, लालचन, सखरखण्ड, सिमल तरुल लगायतका कृषि उत्पादन धेरै हुन सक्ने र कृषि समूह तथा कृषिसँग सम्बन्धित निकायसँग सम्झौता गरेरै भए पनि आर्थिक उपार्जका कामलाई अघि बढाउने छौं ।’ राजनीतिमा महत्वकाक्षाभन्दा पनि परिस्थिती सिर्जना गर्न सक्नुपर्छ भन्ने मान्यता राखेका एमाले बाह्रदशीका अध्यक्ष अनिललाई पारिवारीक साथ सहयोग भरपुर रहेको छ । राजनीतिसँगै व्यावसायिक क्षेत्रमा पनि आफूलाई अब्बल सावित गरेका अनिलले बिर्तामोडमा बिर्तासिटी इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् भने उनी सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको सह–सचिव समेत हुन् । उनलाई राजनीतिक तथा व्यावसायिक सफलताको शुभकामना ।
प्रस्तुति : नरेन्द्र ढकाल