‘आयोजना बैंक’मा राख्न जनतासँग योजना संकलन गर्दै मेचीनगर

0
14

मेचीनगर, स्थानीय तहको बजेटलाई पारदर्शिता र चुस्त ढंगले प्रविधि मैत्री बनाउने गरी मेचीनगरमा जनतासँग राय र योजना संकलन गर्ने काम भइरहेको छ ।

मेचीनगर नगरपालिकाले आगामी तीन वर्षे मध्येकालिन खर्च समावेश गर्ने गरी नगरबासीसँग योजनाहरु माग्ने र त्यसैलाई डिजिटल प्रणाली मार्फत आयोजना बैंक बनाउन लागि परेको छ ।
उक्त आयोजनाहरु आगामी असार १५ गते नीति तथा कार्यक्रममा समावेश गरेर योजना बैंकबाटै पारदर्शिता र चुस्त ढंगले कार्यान्वयन गर्दै जाने उदेश्य नगरपालिकाको छ ।
सोही विषयलाई लिएर अहिले पन्ध्रै वटा वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी धमाधम भइरहेको छ ।
उपभोक्ता, संघ–संस्था र सबै क्षेत्रबाट आएका सुझाव र योजनाहरुलाई टोल विकास समिति मार्फत वडा कार्यालयले प्रक्रिया पुरा गरेर नगरपालिकाले योजना बैंकमा राख्ने काम गर्छ । त्यसपछि योजनाको प्राथमिकताका आधार छनोट भएका योजनाहरु क्रमशः कार्यान्वयन हुँदै जानेछ ।
मंगलबार वडा नम्बर ७, ८ र ९ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा छलफल भएको छ ।
मेचीनगर–७ नम्बर वडा कार्यालयमा आयोजित वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठीको अध्यक्षता प्रलादमणी ओलीले र सञ्चालन वडासचिव लक्ष्मी राईले गरेकी थिइन् ।
त्यस्तै मेचीनगर–८ नम्बर वडाको गोष्ठीको अध्यक्षता गिरिराज धमलाले, वडा सदस्य कुन्दन निरौलाले स्वागत र सञ्चालन वडा सदस्य विष्णु भट्टराईले गरेका थिए ।

कानून भन्दा बाहिर जान सकिदैन :  मेयर बुढाथोकी

मेचीनगर–७ र ८ नम्बर वडाको गोष्ठीको प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पावर छ, बहुमत छ भन्दैमा नीतिगत अर्थात कानून भन्दा बाहिर गएर सोचे जस्तो नगरपालिका नबन्ने बताएका छन् ।
जनताबाट आएका योजनाहरुलाई आयोजना बैंकमा राखेर प्राथमिकताका आधारमा प्रविधिको प्रणाली मार्फत कार्यान्वयन गरिने नै शुसासन हुने उनको तर्क छ ।

अस्त व्यस्त नगरपालिकालाई मस्त नगरपालिका बनाउ : उपमेयर उप्रेती

 

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले अस्त व्यस्त नगरपालिकालाई डिजिटल प्रविधिबाट सहज ढंगले मस्त नगरपालिका बनाउन लागि परेको दावी गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाका हरेक सेवाहरु प्रणाली मार्फत हुने भएकोले नगरवासीले चाहिएको सेवा लिन र हेर्न अमेरिका बसेर पनि सम्भव हुने उनको बुझाई छ ।
राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले नगरमा लिइदै आएका सबै करका विषयमा प्रष्ट पारेका थिए ।
गोष्ठीमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले औचित्यमाथि प्रकाश पारेका थिए भने प्रविधिको प्राविधिक विषयमा सूचना प्रविधि अधिकृत असोक भेटवालले जानकारी गराएका थिए ।
यसैगरी मेचीनगर–९ नम्बर वडाको गोष्ठीको अध्यक्षता कञ्चनकुमार तामाङले र सञ्चालन वडा सचिव सुरेश घिमिरेले गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले अब आर्थिक वर्षदेखि नयाँ नवितम कार्य सुरु हुन लागेको बताइन् । आन्तरिक आय बढिरहेको अवस्थाका कारण कर नबढे पनि करको दायरा बढाइने उनको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले आयोजना बैंकका विषयमा चर्चा गरेका थिए ।
नगरपालिकाबाट दिइने ३४ वटा सिफारिसहरु पनि डिजिटल प्रविधिमार्फत अब चाँडै नगरवासीले घरैमा बसेर आफ्ना योजना र सेवाहरु लिन सकिने छ ।
सोमबार वडा नम्बर ४ मा वडाध्यक्ष अजुृनकुमार कार्की, ५ मा कनकबहादुर कार्की र ६ नम्बर वडामा वडाध्यक्ष ललितकुमार तामाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
बुधबार वडा नम्बर १०, ११ र १२ नम्बर वडामा, विहीबार वडा नम्बर १३, १४ र १५ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here