मिति २०८२ साल जेठ १५ गते बिर्तामोड नगरपालिका वार्ड नं. १ को जगतबस्ती टोल अन्तर्गत बैंसाबारीमा रत्न–सावित्री–उत्सव बस्नेत स्मृति प्रतिष्ठानको भवन समुद्घाटन भयो साथसाथै सोही अवसरमा दुईवटा पुस्तकको पनि विमोचन भयो । समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू उपस्थित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा धेरै खुशी लाग्यो । अन्य धेरै कुराहरू विभिन्न समाचारपत्रहरूमा, विद्युतीय समाचारहरूमा आइसकेकोले मैले यहाँ उल्लेख गरिरहनु सान्दर्भिक हुँदैन । मेरो आजको विषयवस्तु भने यी पुस्तकहरू मध्येका एक पुस्तकमाथि छोटकरीमा केही शब्द लेख्नु रहेको छ ।
यी दुबै पुस्तकहरू रत्न–सावित्री–उत्सव बस्नेत स्मृति प्रतिष्ठानले प्रकाशन गरेका हुन् । एउटा पुस्तक ‘निर्जिव पानामा सजिव स्मृति’ जुन प्रतिष्ठानको नामकरण गरिएका व्यक्तित्वहरू स्वर्गीय रत्नबहादुर बस्नेत, उहाँकी धर्मपत्नी स्वर्गीय सावित्री बस्नेत र उहाँहरूका नाति स्वर्गीय उत्सव बस्नेतको परिचय र उहाँहरूले समाजलाई दिएको योगदानकाबारेमा लेखिएको स्मृतिग्रन्थ हो । वास्तवमा भन्ने हो भने भौतिक शरीर हाम्रो क्षणिक आवरण मात्र हो, हामीले समाजलाई गर्ने कर्तव्य नै हाम्रो वास्तविक परिचय हो, जुन जुगान्तर समाजमा रहिरहन्छ ।
त्यस्तै साँखेजुङमा जन्मि हुर्की मधेसमा पनि आफ्नो कर्मथलो बनाएका रत्नबहादुर बस्नेत तथा सावित्री बस्नेतको योगदानका बारेमा जानकारी दिएका छन् सम्पूर्ण लेखक विद्वत वर्गहरूले । विभिन्न दृष्टिकोणले रत्न सावित्री बस्नेतलाई सम्झिएका छन्, शब्द चयनहरू फरक होलान्, तर सबै विद्वत लेखक वर्गहरूको निचोडलाई हेर्ने हो भने रत्न सावित्री बस्नेत समाजका लागि धेरै योगदान दिने व्यक्तित्वहरू हुनुहुन्थ्यो अथवा वहाँहरू समाजसेवी भावानाले भरिपूर्ण हुनुहुन्थ्यो वा वहाँहरु समाजसेवी हुनुहुन्थ्यो ।
समाजमा दुःख परेको बेला को आफन्त को पराइ, रत्नबहादुर सावित्रा बस्नेत सबैलाई सहयोग गर्न तत्पर हुनुहुन्थ्यो । त्यसैले त सबै लेखकहरुले उहाँहरुका कर्तव्यलाई मुक्त कण्ठले प्रशंसा गरेका छन्, सम्झिएका छन्, नतमस्तक भएका छन् । उहाँहरुको यस्ता असल कामहरूले नै गर्दा आज उहाँहरूको भौतिक शरीर हामी माझ नभए पनि धेरैको मानसपटलमा बाँचिरहनुभएको छ, अमर हुनुहुन्छ । वास्तवमा दिलो ज्यान लगाएर समाजलाई केही गर्छु भन्ने व्यक्तित्वहरूले प्राप्त गर्ने एउटा सम्पत्ति नै यहि हो कि समग्र समाजले यसरी नै सम्झिदिओस् । यस ‘निर्जिव पानामा सजिव स्मृति’ एक स्मृति ग्रन्थ भएकोले यसका बारेमा धेरै टिप्पणी गर्न जरुरी छैन । लेखकहरूको दृष्टिकोणमा सम्बन्धित व्यक्तित्वहरूलाई कसरी राखिएको छ, यसको बारेमा धेरै अरुले टिप्पणी गर्न जरुरी पनि छैन ।
यस पुस्तकको अन्त्यतिर भने एउटा दुःखद् अनुभूति हुने सम्झना छ । यस प्रतिष्ठानका अध्यक्ष एवम् उहाँकी धर्मपत्नी प्राध्यापक डा. रेस बस्नेत तथा प्राध्यापक डा.सन्ध्या बस्नेतका कलिला छोरा अध्ययनको क्रममा संयुक्त राज्य अमेरिका पुगेको बेला दुर्घटनामा देहावसान भएको कुराले पाठकहरूको मन नमिठोसँग हुडलिन्छ । तीक्ष्ण प्रतिभा भएका लेखकद्वयका छोराको मृत्युले लेखक दम्पतिहरूलाई ठूलो चोट पु¥याएको कुरा उहाँहरुका लेखहरूबाट सजिलै थाहा पाउन सकिन्छ । तर, विधिको विधान रोकेर कहाँ रोक्न सकिन्छ र लेखकहरुले यस्ता पीडाहरुबाट पार पाउनलाई समाज सेवामा जसरी लाग्नुभयो यो सराहनीय छ । उहाँहरूको समाजलाई योगदान दिने जुन हुटहुटी छ, यसका लागि समग्र समाज एक भइ होस्टेमा हैंसे थप्नु हाम्रो कर्तब्य हो ।
‘क्यापिटल हिल वासिङ्टनदेखि एटोमिक बमडोम हिरोसिमासम्म’ लेखकद्वय प्राध्यापक डा. रेसबहादुर बस्नेत र प्राध्यापक डा. सन्ध्या कार्की बस्नेतद्वारा लिखित यात्रा स्मरण हो । प्राध्यापकद्वय आफ्ना विभिन्न शैक्षिक तथा व्यक्तिगत कामका सिलसिलामा संसारका धेरै राष्ट्रहरू पुगी कार्यपत्रहरू पेश गर्नुभएको छ । समग्र संस्था र देशको नेतृत्व गरी आफूसँग सम्बद्ध संस्था तथा राष्ट्रको नामलाई उचो राख्ने जमर्को गर्नुभएको छ । यसैको सिलसिलामा विभिन्न राष्ट्रहरू माझ घुम्दा गरिएका अनुभवहरूलाई संघालेर उहाँहरुले पुस्तककार दिनुभएको छ, वास्तवमा यो एउटा सजीव चित्रण भएको पुस्तक, तेलीय चित्र (यष् िअबलखबक)का रूपमा मैले पाएको छु ।
हाम्रो एउटा भनाइ छ मानिस कि पढेर कि परेर जान्दछ, वास्तवमा भन्ने हो भने पढेरभन्दा मानिस अनुभवद्वारा बढी जान्दछ, खारिन्छ, यो पुस्तक त्यस्तै लाग्छ, लेखकहरु जहाँ–जहाँ पुग्नुहुन्छ र वर्णन गर्नुहुन्छ, पाठकहरु लेखकहरूसँगै पुगेझैँ अनुभूत हुन्छ । यस पुस्तकको अर्को विशेषता के हो भने लेखकहरूले आफू पुगेको राष्ट्र वा सहरको विषयमा बोल्नु मात्र हुन्न, त्यसका बारेमा सामाजिक, आर्थिक, सांस्कृतिक आदि सम्पूर्ण क्षेत्रका बारेमा तथ्यसहित जानकारी पनि पस्कनुहुन्छ, जसले पाठकलाई रमाइलो मात्र होइन ज्ञान पनि प्राप्त हुन्छ । लेखक द्वय लामो समयसम्म प्राध्यापन पेशामा हुनुभएकोले होला, यस नियात्रामा विद्यार्थीहरूलाई अझ बढि आवश्यक विषयवस्तु पस्किएको झैं लाग्दछ ।
जीवनको पूर्वाद्र्धमा जव मैले पुस्तकहरु पढ्नुपर्ने रहेछ भन्ने बुझ्न थाले र पुस्तकहरु पढ्न शुरु गरे, यात्रा स्मरण धेरै मन पर्दथ्यो । तत्कालीन समयमा न इन्टरनेट थियो न त चलचित्र हेर्न सबैको पहुँच पुग्दथ्यो, ज्ञान वा मनोरञ्जनको एकमात्र उपाय पुस्तक नै थियो, यात्रा स्मरणहरु मलाई चलचित्र झैं लाग्दथ्यो र मैले थुप्रै यात्रा स्मरणहरु पढ्ने जमर्काे गरेको छु, अहिले पनि यात्रा स्मरण धेरै मन पर्छ, यात्रा स्मरणबाट कुन ठाउँमा कस्ता समस्याहरु आइला पर्दा रहेछन् र त्यसलाई कसरी समाधान गर्नुपर्ने रहेछ भन्ने कुराको राम्रो ज्ञान पाउन सकिन्छ । साथै आफूलाई पनि त्यस्ता समस्याहरु आइपर्यो भने जोगिनलाई सजिलो हुन्छ भन्ने मेरो अनुभव र धारणा हो ।
पुस्तकको शुरु ‘बेजिङ विचरण’ भन्ने रोमाञ्चक यात्रा वृतान्तबाट शुरु हुन्छ, यो वास्तवमा रोमाञ्चक कथा छ । किनभने आकाशमा उडिरहेको ठूला जहाजभित्र समस्या देखाप¥यो र जहाँ स्वयम्ले समस्याग्रस्त संकेत ग¥यो भने जहाजभित्रका मानिसहरूको हविगत के होला भन्ने कुरा तत्कालीन समयमा पर्नेलाई त अर्कै अवस्था पक्कै थियो नै होला, तर पाठकलाई भने एउटा रोमाञ्चक कथा झैँ अब के हुन्छ होला भन्ने लाग्दो रहेछ । यति मात्र होइन, यही पहिलो विचरणमा नै चिनको राजधानी सहर बेइजिङमामा लेखक दिनदहाडै लुटिँदा अनौठो लाग्नु स्वभाविक हो ।
किनभने चीन जस्तो कडा प्रशासनिक अवस्था भएको देशमा पनि यसरी दिनदहाडै लुटिनुको अर्थ सामाजिक अपराध वा समस्याहरू संसारका कुनै कुनामा पनि कम रहेनछन् भन्ने बुझिन्छ । त्यसैगरी ‘जापानमा विश्व शान्तिको कामना’ पढ्दै गर्दा दोस्रो विश्वयुद्धको बीभीषिका र आणविक बमले गरेको क्षतविक्षतको विवरण पढ्दा मनमा कता कता नमिठो भय, त्रास र डर लाग्दो रहेछ, कतै फेरि पनि संसारका यी शक्तिशाली भनाउँदा राष्ट्रहरु आफ्नो शक्ति प्रदर्शन गर्न एक अर्कासँग टकराव गरे भने हामी जस्तो मानवहरुको बाँच्ने कुनै विकल्प नहुने रहेछ, हामी वास्तवमा कति निरीह रहेछौं भन्ने मैले बुझेँ ।
लेखकद्वयले झण्डै ३०÷३२ वटा राष्ट्रहरू र ती राष्ट्रका विभिन्न सहरहरू घुमेका यात्रा वृतान्त सङ्गालिएको यो ‘क्यापिटल हिलदेखि अटोमिक बमडोम हिरोसिमासम्म’ वास्तवमा एउटा पठनीय पुस्तक हो भन्ने मेरो ठम्याई रहेको छ । यहाँ भएका सबै यात्रा वृतान्तहरूका बारेमा यहाँ एउटा लेखमा उल्लेख गर्न यद्यपि सम्भव छैन, तर सबै यहाँका लेखहरु उत्तिकै स्पष्ट, रमाइला र ज्ञानवद्र्धक छन, त्यस ठाउँ र देशको धेरै तथ्यहरुसहित लेखिएको मात्र होइन अब के होला अगाडि कस्तो होला भन्ने सधैँ कौतुहलता जगाउँछ ।
यसरी यो पुस्तक एउटा नियात्राको विधामा अग्र स्थानमा रहन सफल पुस्तक बन्नेछ भन्ने मेरो धारणा छ, यति मात्र होइन यो पुस्तक एकपटक सबैले पढ्नुपर्ने पुस्तकको रुपमा रहेको छ भन्दा अतिशयोक्ति हुने छैन । यसका अलवा प्राध्यापकद्वय डाक्टर रेस बस्नेत र डाक्टर सन्ध्या बस्नेतका भावि दिनमा अरु यस्तै गहकिला पुस्तकहरु पाठकहरुले पढ्न पाउन भन्ने कामना गर्दछु ।
(निरौला समकालीन राजनीति विपद् व्यवस्थापनमा तथा पर्यटन क्षेत्रमा कलम चलाउनुहुन्छ ।)