झापा।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेश सभा सचिवालय कोशी प्रदेशको सहयोगमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी तालिम’मा सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशको व्यापक चर्चा भए पनि प्रदेश सभाको विषयमा आमनागरिकलाई बुझाउन नसकिएको बताउनुभयो ।
“प्रदेश सभाको विषयमा जनता अनिविज्ञ छन्”, उहाँले भन्नुभयो, “अझै पनि प्रदेश सभा के हो ? के हो ? भन्नेमा अनविज्ञतामा जनता छन्, यसको औचित्य र आवश्यकताबारे बुझाउन हामीले पनि सकेका छैनौं ।” पत्रकार र सञ्चारकर्मीले प्रदेशसभाका बारेमा आमनागरिकलाई बुझाउन भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोपाल तमाङले कोशी प्रदेशले सञ्चार विधेयक निर्माण गरिरहेको बताउनुहुँदै आफूले समेत संशोधनका केही प्रस्ताव पेश गरेको बताउनुभयो ।
“सञ्चार विधेयक संशोधन भएर सञ्चारमैत्री सञ्चार ऐन आउँछ”, उहाँले भन्नुभयो, “यसले पत्रकार र सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याउने छ ।” प्रदेस सभाका सांसदको विधायकी भूमिका जागरुक बनाउन पत्रकारको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ ।
पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले कोशी प्रदेशका सबै जिल्लाका पत्रकारलाई संसदीय पत्रकारिताको अभ्यास अवसर दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले कोशी प्रदेशमै झापा सबैभन्दा धेरै पत्रकार र सञ्चार गृह रहेकाले संसदीय पत्रकारिताको रिपोर्टिङका लागि तालिमले सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य निमसरी राजवंशीले संसदमा उठाएका कुरा जनता माझ पुर्याउन पत्रकारले अधिकतम् प्रयास कलम चलाउनुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रदेश सभा सदस्य लखीकुमारी गणेशले प्रदेश सभा सदस्यले धेरै काम गरे पनि सोको प्रचार नहुँदा ‘जितेर के गरे ?’ भन्ने जनताले प्रश्न गरिरहेको बताउनुभयो । प्रदेश सभा सदस्य गोपाल तामाङले प्रदेश सभालाई अझ जिम्मेवार बनाउन पत्रकारको भूमिका बढी हुने बताउनुहुँदै उहाँले भन्नुभयो, “पत्रकारितामा राजनीति हावी हुँदा समस्या भएको छ ।”
प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले सरकारसँग पत्रकार नियन्त्रित हुन नहुने बताउनुभयो । त्यस्तै, प्रदेश सभा सदस्य छविलाल चुडालले विषय उठान सही ढंगले उठान नहुँदा समाजमा नकारात्मक टिप्पणी भएको बताउनुभयो । बढी काम गर्ने सरकार प्रदेश सरकार भए पनि प्रचार नहुँदा प्रदेश सरकारको विषयमा प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो ।
प्रदेश सभा सदस्य राधाकृष्ण खनाल स्रोत साधन कम हुँदा जनअपेक्षा बढी हुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानून बनाउने विधाकय भए पनि जनताको बुझाइ अर्कै छ ।” जनताको समस्या र आवश्यकताको बारेमा कुरा राख्ने ठाउँ प्रदेश सभा भए पनि तीन मिनेटको पर्याप्त नभएको उहाँले बताउनुभयो ।
तालिममा कोशी प्रदेश सभा सचिवालयका शाखा अधिकृत निरोज ढकालले संसदीय खुलापन र कोशी प्रदेशसभामा यसको अभ्यास, संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतमले संसद र पत्रकारबीचको अन्तरसम्बन्ध र कोशी प्रदेशका मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम लुइँटेलले सांसद र पत्रकारबीच सूचनाको प्रवाह, जवाफदेहिता र पारदर्शिताको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष कुमार लुइँटेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुमन सुस्केराले गर्नुभएको थियो ।